+
+

अवैध मोबाइल फोन कारोबार बन्द गरौं : मल्होत्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १७:५३

१६ असार, काठमाडौ । मोबाइल फोन इम्पोर्टर एसोसियसनका अध्यक्ष दिपक मल्होत्राले नेपालमा अवैध तरिकाबाट भन्सार छलेर भित्रिएका मोबाइल (ग्रे फोन) को कारोबार बढेको बताएका छन् ।

मोबाइल ब्यवसायी महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभारग्रहण कार्यक्रमलाई नगरकोटमा सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका मल्होत्राले ग्रे मोबाइलले बजारको ठूलो हिस्सा ओगटेको र त्यसले देशको राजस्वमा समेत नकारात्मक असर गरेको बताए ।

`ग्रे मोबाइलले बजार बिगारेको छ, ग्रे फोनको कारोबार सबै मिलेर बन्द गरौं, व्यवसायी, इम्पोर्टर, डिस्टिब्युटर सबै ग्रेलाई रोक्न लागौं,त्यसले देशको राजस्वलाई पनि घाटा भएको छ,´ मल्होत्राले भने ।

उनले ग्रे फोनको कारोबार बन्द भए व्यवसायीले पाउने मार्जिनसमेत बढाउन सकिने बताए ।

`तपाईंहरू ग्रे फोनको कारोबार बन्द गर्न लाग्नुस्, ग्रे फोनको कारोबार बन्द भए मोबाइल बिक्री गर्दा तपाईंहरूले पाउने मार्जिन बढाउन सकिन्छ,´ मल्होत्राले भने ।

मल्होत्राले मोबाइल व्यवसायलाई मर्यादित बनाउन आफू निरन्तर लागिरहेको बताउँदै सरकारले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागु गरेर मोबाइल सेवालाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष भरत भट्टराईले राज्यलाई दोस्रो ठूलो राजस्व तिर्ने मोबाइल व्यवसायलाई बलियो बनाउन सरकारले कानुनी रूपमा समेत स्पष्ट नीति लिनु पर्ने बताए ।

`मोबाइल व्यवसायीले देशलाई ठूलो अंकमा राजस्व बुझाएका छन, तर व्यवसायीले मोबाइल मर्मत तथा बिक्री गर्दा समस्या झेल्नु परिरहेको छ, सेकेन्ड ह्यान्डको बिक्रीमा स्पस्ट नीति छैन, सेवाग्राही मोबाइल बिग्रेर बनाउन आउँदा ब्यवसायीले झमेला बेहोर्नु परिरहेको छ,´ भट्टराईले भने ।

भट्टराईले व्यवसायीले पाउने मोबाइल फोन बिक्री वापतको मार्जिनलाई विना अलमल सरकारले निर्धारण गरेअनुसार दिइनु पर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष सोभित प्रसाईंले मोबाइलमा व्यवसायीलाई दिइने मार्जिन बढाए ग्रे फोनको कारोबार आफैं रोकिने धारणा राखे । हाल व्यवसायीले मोबाइल बिक्री गर्दा पाँच प्रतिशत मार्जिन पाउने गरेका छन् ।

महासंघले केन्द्रीय समिती बैठक मार्फत ब्यवसायीको दक्षता वृद्धि गर्न आवश्यक नीति तय गर्ने,आवश्यकता अनुसार जिल्ला तथा प्रदेशमा सर्भिस सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?