+
+

हदबन्दी छुटको जग्गा बेच्न पाउने विधेयक फास्ट ट्रयाकमा पास गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १८:१२

१६ असार, काठमाडौं । जग्गाको हदबन्दी छुट जोडिएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ फास्ट ट्रयाकमा पास गर्ने तयारी भएको छ ।

संसद्‌मा दर्ता भएका प्रायजसो विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा लैजाने अभ्यास छ । तर यो विधेयकमाथिको दफावार छलफल सभामै गर्न लागिएको हो ।

सोमबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

जहाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

विधेयकमा प्राप्त संशोधनहरूलाई सोमबार नै निर्णयार्थ प्रस्तुत गर्ने र विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो विधेयक पास गर्नुपर्ने समयसीमाको दबाब छ ।

‘लगानी सहजीकरण सम्बन्धी विधेयक प्रतिस्थापन विधेयक हो । हाउस सुरु भएको ६० दिनभित्र दुवै सभाबाट पास भइसक्नुपर्छ । त्यो ६० दिन यही असार २४ गते पुग्दैछ,’ गिरीले भने ।

सरकारले वैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन गरेको थियो । त्यसका लागि विभिन्न कानुन परिमार्जन गर्ने गरी सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सरकारले जेठ २८ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो ।

प्रतिनिधि सभाको चालु अधिवेशन वैशाख २८ गते सुरु भएको हो । अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत भएर प्रतिस्थापन विधेयक आएर पास भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअनुसार यही असार २४ गतेभित्र विधेयक दुवै सभाबाट पास गरिसक्नुपर्ने भएकाले फास्ट ट्रयाकमा अगाडि बढाउन लागिएको संसद् सचिवालयका अधिकारीहरूको जवाफ छ ।

प्रस्तावित विधेयकमा हदबन्दी छुटमा पाएको जग्गा एक पटकका लागि बिक्री गर्न दिने, हदबन्दीभन्दा बढी जग्गा ५० प्रतिशतसम्म बैंकमा धितो राख्न पाउने लगायतका व्यवस्था प्रस्तावित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?