+
+

भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई भोलि अदालत पेश गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १८:१९

१६ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ ।

शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

तर उक्त मुद्दामा आइतबार सुनुवाइ नै भएन । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ‘आज नभ्याउने भएकाले भोलि पुनः अदालत पेश गर्न आदेश भएको छ । अब भोलि अदालत पेश गछौं ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि नै अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको छ । १० जेठ २०८० मा मुद्दा दायर भएका ३० प्रतिवादीमध्ये थापासहित केही व्यक्ति फरार थिए ।

यो मुद्दामा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहितका आरोपीहरु भने धरौटीमा रिहा भएका छन् ।

नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकलाई प्रहरीको विशेष टोलीले शुक्रबार साँझ बौद्धबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?