+
+

प्रचण्ड झस्काउने देउवा–ओली भेट

देउवा–ओलीको सम्वादले राष्ट्रिय राजनीतिमा तरंग त ल्याएकै छ, आफू जुनसुकै साइजमा रहे पनि उथलपुथल गर्दैरहने घोषणा गरेका प्रचण्डलाई समेत झस्काइदिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते २१:३६

१६ असार, काठमाडौं । संसदको तेस्रो दल भइकन पनि आफूसँग ३२ सिटको म्याजिक नम्बर छ भन्दै ढुक्क रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि सुखद खबर छैन । केही समयअघिसम्म एक अर्कासँग भेट्न समेत तयार नभएका दुई ठूला दलका प्रमुखहरु पछिल्लो एक सातामा निरन्तर भेटिरहेका छन् ।

बिहीबार साँझ एक व्यवसायीको निवासमा सँगै डिनर गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले १५ असारको दही च्युरा खान सँगै भेट्न तयार भए ।

ओली निवास बालकोटमा पत्नी तथा कांग्रेस सांसद आरजु राणासहित पुगेका देउवाले करिब तीन घन्टा बिताए । ‘हाम्रो सभापति २०-२५ मिनेट कहीँ बिताइसकेपछि छट्पटिन थालिहाल्ने मान्छे, हिजोआज ओलीजीसँग लामा–लामा बैठक गर्दै हुनुहुन्छ’, देउवा निकट उच्च तहका कांग्रेस नेताले ठट्यौली शैलीमा भने ।

देउवा र ओली तिनै नेता हुन्, जो २०७९ मंसिरको चुनावपछि आलोपालो प्रधानमन्त्री बन्ने प्रयासमा थिए । तर माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा आलोपालो काँध थापिरहेका छन् । पछिल्लो पटक २१ फागुनमा ओलीले काँध थापेका थिए । त्यसैले प्रचण्डले प्रतिनिधिसभाको बाँकी पुरै अवधि अर्थात ५ वर्ष नै प्रधानमन्त्री हुने चाहना राख्न थालिसकेका थिए ।

देउवा र ओलीको लामो सम्वादहीनता तोडिएको छ । शीर्ष तहमा सुरु भएको यो सम्वादले कांग्रेस र एमालेलाई सत्ता सहकार्यसम्म नपुर्‍याउला भन्न सकिन्न ।

संसदबाट बजेट पास भएको भोलिपल्ट ८ असारमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा भनेका थिए, ‘हामीलाई हटाउन सजिलो छैन, तरिका मिल्यो भने पुरै अवधि बसिन्छ ।

तर प्रचण्डलाई नराम्रोसँग झस्काउने गरी शनिबार देउवा र ओलीबीच भेटवार्ता भएको छ । दुवै दलका नेताहरुले संसदको पहिलो र दोस्रो ठूलो दलका नेताहरु भेट्नुलाई सामान्य भनी अर्थ्याउन खोजेका छन् । ‘दुई ठूला दलका शीर्ष नेताबीच सम्वादहीनता हुनु राम्रो होइन’ देउवा र ओलीको भेटबारे सोध्दा एमाले उपाध्यक्ष विष्णु पौडेल भन्छन्, ‘तर अहिलेको सत्ता गठबन्धन पुरै अवधि चल्छ । यो ढाल्छु भनेर कसैले आश गरेको छ भने नगरे हुन्छ । यो गठबन्धन ढल्छ कि भनेर निराश हुनेहरु निराश नभए हुन्छ ।’

उनीहरुले जति सामान्य बताउन खोजे पनि गठबन्धन सरकारको नेतृत्व गरेको माओवादी केन्द्रमा भने ठूलै तरंग आएको छ ।

त्यसैले होला, आइतबार विहानै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे । सिंहदरबारमा भएको दुई नेताको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि थपिएका थिए ।

माओवादीका अर्का एक पदाधिकारीका अनुसार त्यो भेटमा एमाले अध्यक्ष ओलीले देउवासँग शान्ति प्रक्रियाका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । भन्छन्, ‘अहिले नै सरकार फेरिहाल्ने होइन भन्ने नै छ ।’

तर माओवादीको संशय कायमै छ । किनकी यो भेटपछि प्रधानमन्त्री दबावमा परिसकेका छन् । अब ओलीले अब सरकारबाट हुने राजनीतिक नियुक्तिहरु आफू अनुकुल निर्णय त गराउने छन् । साथै कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउन खोजेको त होइन भन्ने माओवादीका नेताहरुको आशंका छ ।

माओवादीका एक पदाधिकारी भन्छन्, ‘कांग्रेस र एमाले मिल्न थाले भन्ने छ, विस्तारै थाहा होला ।’

किनकी देउवा र ओलीको लामो सम्वादहीनता तोडिएको छ । शीर्ष तहमा सुरु भएको यो सम्वादले कांग्रेस र एमालेलाई सत्ता सहकार्यसम्म नपुर्‍याउला भन्न सकिन्न ।

१० पुस २०७९ सम्म देउवा र ओली सम्वादमै थिए । चुनावी गठबन्धन गरेको कांग्रेस र माओवादीको को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवाद भएपछि ओलीले देउवासँग सम्वाद थालेका थिए । सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयको अन्तिम दिनसम्म पनि देउवासहित कांग्रेस नेताहरुसँग सम्वादमै थिए । तर देउवाले समय कटाएर ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्ने खोजेको लागेपछि ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाए ।

त्यसपछि दुई नेताको सम्वाद टुट्यो । एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई देउवाले फागुनमा फेरि आफूतिर ल्याए, एक वर्ष गठबन्धन चल्यो । फागुनमा ओलीले पालो फेरे, प्रचण्डलाई कांग्रेसबाट छुटाएर आफूतिर ल्याए । रास्वपाको समेत समर्थनमा नयाँ गठबन्धन बनाए ।

नयाँ गठबन्धन बनेसँगै ३० फागुन २०८० मा एमाले अध्यक्ष ओलीले संसदमा देउवाले आफूसँग आफूलाई कुरै नचल्ने जस्तो व्यवहारप्रति तितो पोखेका थिए ।

‘हिजो शेरबहादुरजी सत्ता पक्षमा हुनुहुन्थ्यो, म अहिले सत्ता पक्षमा छु । म भन्न चाहन्छु, शेरबहादुरजीलाई बसौं, कुरा गरौं’, ओलीले भने, प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने हुँदैन, आउनुस् कुरा गरौं ।’ ओलीले रोष्ट्रमबाटै सम्वादका लागि आह्वान गर्दा प्रतिपक्षी बेञ्चमा रहेका देउवाले हाँस्दै मुन्टो हल्लाए ।

तर दुई नेताबीच सम्वाद भएन । यद्यपि कांग्रेस नेताहरु देउवालाई जानकारी गराएर बालकोट भने पुगिरहे । डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुले भेटेपनि ओलीले ‘ढिलो भइसक्यो’ भन्दै तत्काल सत्ता गठबन्धन फेरिहाल्न सम्भव नभएको संकेत गरे ।

ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार कांग्रेस सभापति देउवाले केही पहिलादेखि भेट्न चाहेका थिए । ओलीले आउनुस् भनेपछि शनिबार देउवा बालकोट पुगेका हुन् ।

तर जब १५ जेठमा बजेट आयो, एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै असन्तुष्टि जनाए । यो सत्ता गठबन्धन फेर्ने तहमै असन्तुष्टि हो कि होइन भन्ने अलमलमा कांग्रेस नेताहरु देखिए । त्यही बेला सर्वोच्च अदालतको न्यायाधीश, धितोपत्र बोर्डको अध्यक्ष लगायतका केही नियुक्तिमा ओलीको असन्तुष्ट देखियो । स्रोतका अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्ध गरेकामा ओली अर्थमन्त्री वर्षमान पुनसँग निकै रुष्ट बनेका छन् ।

त्यही बेला देउवा, शनिबार असार १५ को अवसर पारेर ओली निवासमा पुगेपछि सत्ता राजनीति तरंगित भएको छ । कांग्रेसका कतिपय नेताहरु ‘देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसके, अब राजनीति यही कोर्षमा अगाडि जान्छ’, भन्न थालेका छन् । तर अनलाइनखबरको सम्पर्कमा आएका कांग्रेस मात्र होइन, एमाले नेताहरु पनि सम्वाद त्यो तहमा नपुगेको बताउँछन् ।

ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार कांग्रेस सभापति देउवाले केही पहिलादेखि भेट्न चाहेका थिए ।

ओलीले आउनुस् भनेपछि शनिबार देउवा बालकोट पुगेका हुन् । ‘शीर्ष नेताहरु भेटेपछि राजनीतिक विषयमा कुराकानी हुनु स्वभाविक हो’, ती नेता भन्छन्, ‘तर एजेण्डामा छलफल गर्ने र यसो गर्ने भन्ने स्तरमा कुराकानी भएको होइन ।’

अर्का स्थायी कमिटी सदस्यका अनुसार पार्टीमा संविधान, खागसरी निर्वाचन प्रणाली पुनरावलोकन गर्नुपर्ने मत बढ्दो छ । उनकै शब्दमा भन्दा एमालेले जे मिसन चलाएपनि अहिलेको निर्वाचन प्रणाली रहेसम्म ०८४ मा बहुमत ल्याउन सम्भव देखिन्न ।

निर्वाचन प्रणालीमा सुधारका लागि कांग्रेससँग सम्वाद जरुरी छ । ती स्थायी कमिटी सदस्य भन्छन्, ‘सबै विषयमा सम्वाद गर्दै जाँदा सरकार पनि मिलेर बनाउनुपर्ने निष्कर्षमा नेताहरु पुग्नसक्छन् ।’

कांग्रेस सभापति देउवा निकट एक केन्द्रीय सदस्यको विश्लेषण पनि मिल्दोजुल्दो छ । ‘यो भेट उच्चस्तरीय भएकाले छामछुम गर्ने ठाउँ धेरै छ’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘अहिले कुनै निष्कर्षमा पुग्नुभन्दा पर्खिएर हेर्नु उपयुक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?