+
+

जर्मन हतियार निर्यातमा ऐतिहासिक वृद्धि, अधिकांश युक्रेनमा बिक्री

जर्मनीले धेरै हतियार निर्यात गर्ने पाँच प्रमुख देशहरुमा युक्रेन, सिंगापुर, भारत, साउदी अरब र कतार हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते ७:३३

१७ असार, काठमाडौं । जर्मनीबाट हुने गरेको हतियार निर्यात यस वर्षको सुरुवाती ६ महिनामा ३० प्रतिशतले वृद्धि भएको छ । धेरैजसो हतियार युक्रेन निर्यात भएको छ । जर्मनीको अर्थ मन्त्रालयले आइतबार जारी गरेको आँकडामा सो कुरा उल्लेख छ ।

जर्मनीले धेरै हतियार निर्यात गर्ने पाँच प्रमुख देशहरुमा युक्रेन, सिंगापुर, भारत, साउदी अरब र कतार हुन् । सिंगापुरमा १.२१ अर्ब युरो, भारतमा १५.३ करोड युरो, साउदी अरबमा १३.२४ करोड युरो र कतारमा १० करोड युरो बराबरको हतियार निर्यात गरेको छ ।

एक जनवरीदेखि १८ जुनसम्म जर्मन सरकारले ७.४८ अर्ब युरोको हतियार निर्यात गर्ने अनुमति दिएको थियो । सन् २०२३ मा जर्मनीले एक वर्षको अवधिभर जति हतियार निर्यात गरेको थियो त्यसको ६० प्रतिशत यस वर्षको १८ जुनको अवधिमा भएको छ । यदि यही अवस्था रहीरहे यस वर्षको अन्त्यसम्ममा जर्मनीले हतियार बिक्रीमा नयाँ रेकर्ड बनाउने छ ।

गत वर्ष जर्मनीले रेकर्ड १२.२ अर्ब युरोको हतियार बेचेको थियो । तीमध्ये धेरैजसो युक्रेन गएको थियो, जहाँ रुसको आक्रमणपछि युद्ध जारी छ ।

अमेरिकापछि जर्मनी युक्रेनमा हतियार निर्यात गर्ने दोस्रो सबैभन्दा ठूलो देश हो । फेब्रुअरी २०२२ मा युक्रेनमा युद्ध सुरु भएपछि जर्मनीले हालसम्म कूल १०.२ अर्ब युरोको हतियार निर्यात गरिसकेको छ ।

जर्मन चान्सलर ओलाफ शोल्त्सले डिसेम्बर २०२१ मा सत्ता सम्हालेपछि हतियार बिक्री कम गर्ने घोषणा गरेका थिए । उनको भनाइ युरोपेली संघ र नाटोका सदस्य नभएका देशमा हतियार बिक्री नगर्ने भन्ने थियो । तर हतियार बिक्री लगातार बढिरहेको छ । यसो हुनुमा रुस–युक्रेन युद्ध मुख्य कारण हुनसक्ने जानकारहरु बताउँछन् । ।

जर्मनीको अर्थ मन्त्रालयको रेकर्ड अनुसार चालु वर्षको पछिल्लो ६ महिनामा जति हतियार बिक्री भएका छन्, त्यसको दुई तिहाइ हतियार युक्रेन निर्यात भएको छ ।

जर्मनीले यस वर्षको अहिलेसम्मको अवधिमा युक्रेनलाई कूल ४.८८ अर्ब युरो बराबरको हतियार बेचेको छ । रुस–युक्रेन युद्धको पहिलो वर्ष जर्मन सरकारले युक्रेनलाई २.२४ अर्ब युरोको हतियार बिक्री गर्ने मन्जुरी दिएको थियो । त्यसमा हवाई प्रतिरक्षा प्रणाली, तोप लगायतका हतियारहरु थिए । युक्रेनमा हुने हतियारको निर्यात बढेर ४.४ अर्ब युरो पुगेको थियो । त्यसमा लियोपार्ड २ ब्याटल ट्यांक लगायतका हतियारहरु थिए ।

अमेरिकापछि जर्मनी युक्रेनमा हतियार निर्यात गर्ने दोस्रो सबैभन्दा ठूलो देश हो । फेब्रुअरी २०२२ मा युक्रेनमा युद्ध सुरु भएपछि जर्मनीले हालसम्म कूल १०.२ अर्ब युरोको हतियार निर्यात गरिसकेको छ ।

गत वर्ष जुलाईमा जर्मनीले साउदी अरबलाई हतियार निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो बनाएको थियो । त्यसपछि साउदी अरब पनि जर्मनीबाट धेरै हतियार निर्यात हुने देशहरुको सूचीमा परेको छ ।

सन् २०१८ मा साउदी अरबका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा हत्या भएपछि जर्मनीले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको अर्को एक कारण यमनको गृहयुद्ध पनि थियो, जसमा साउदी अरबले हस्तक्षेप गर्दै आएको थियो । अहिले भने साउदी अरब र उसको छिमेकी देश यमनबीच तनाव कम भएको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?