+
+

प्रचण्ड र ओलीबीच छलफल सकियो, के भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १२:५६

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए ।

‘सरकारका कामलाई गतिशील/व्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो,’ मल्लले अनलाइनखबरसँग भने, ‘समग्रमा छलफल एकदमै राम्रो भएको छ ।’

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

यसबीचमा आइतबार पनि प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल भएको थियो । उनीहरूबीच छलफल भइरहेका बेला रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल भने सत्ता समीकरणमा फेरबदल आउने भनेर चलेको हल्ला सत्य नभएको बताउँछन् । उनले भने, ‘बाहिर चलेका कुरा सबै हल्ला मात्र हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?