+
+

भारतीय नाकाबन्दी सम्झिँदै एमाले सांसदले भने : बीआरआई अविलम्ब अघि बढाइयोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १३:०४

१७ असार, काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) परियोजना नेपालको समेत हितमा रहेको बताएका छन् ।

पछिल्लो समय संसदमा बीआरआईका सम्बन्धमा ब्यापक बहस चलिरहेको उल्लेख गर्दै उनले यसअन्तर्गतका परियोजना अनुदानमा मात्रै लिनुपर्छ वा ऋण समेत लिन सकिन्छ भन्ने चिन्ता स्वभाविक रहेको बताए ।

‘तर, भोलि यो पाकिस्तन जस्तो हुन्छ, श्रीलंका जस्तै हुन्छ भनेर ब्यापक बहस चलिरहेको छ । स्वभाविक हो चिन्ता जाहेर गर्नु राम्रो कुरा हो । तर, दुई देशबीच भएको सम्झौता कार्यान्वयन गर्ने कि नगर्ने ?’ सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले भने ।

बीआरआई जस्तै सम्झौता नेपालले भारतसँग पनि गरेको उनले बताए । उदाहरणका रुपमा रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने सम्झौतालाई देखाए ।

बीआरआई जस्ता दुई देशका बीचमा हुने सम्झौताहरु कार्यान्वयन गर्ने कि नगर्ने भन्ने नै अहिलेको प्रमुख प्रश्न रहेको उनले दोहोर्‍याए । बीआरआईले नेपालको विकासमा धेरै ठूलो महतव राख्ने पनि उनले बताए ।

‘दुई देशबीचको यो अत्यन्त महत्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठूलो महत्व राख्छ’ सांसद श्रेष्ठले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीनसँग व्यापार सन्धि र पारवाहन सन्धि भएको उनले स्मरण गरे । यहीँनेर एमाले सांसद श्रेष्ठले भारतले नेपालमाथि गरेको नाकाबन्दी स्मरण गरे ।

‘विगतमा चीनसँग व्यापार सन्धि र पारवाहन सन्धि थिएन । त्यतिखेर चार वटा समुन्द्री मार्ग र ६ वटा स्थलमार्गबारे ऐतिहासिक सम्झौता भएको थियो । जतिखेर भारतको नाकाबन्दीले गर्दा नेपाली जनताहरुले खाद्यान्न लगायत पेट्रोलियम पदार्थहरु पाइरहेका थिएन ।’

भारतसँग मात्रै पारवहन र व्यापार सन्धि भारतसँग मात्रै गरेको हुँदा समस्या परेको भनेर तत्कालीन सरकारले नाकाबन्दीपछि चीनसँग पनि पारवहन र व्यापार सन्धि गरेको उनले स्मरण गरे ।

विगतका भएका सम्झौता कार्यान्वयन गर्नु दुवै देशको हितमा हुने उल्लेख गर्दै उनले बीआरआई पनि कार्यान्वयन सम्झौता गर्न आवश्यक रहेको बताए । बिआरआई अन्तर्गतको योजनाले नेपालको विकासमा सहयोग पुर्‍याउने विश्वास दोहोर्‍याए ।

विश्वासका एक सय भन्दा बढी देशले यो सम्झौता गरिसकेको पनि उनले बताए । ‘नेपालको हितलाई ख्याल गरेर यसलाई अविलम्ब अगाडि बढाइयोस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?