+

गलकोटबाट उदाएका सूर्य

२०८१ असार  १७ गते १९:३५ २०८१ असार १७ गते १९:३५
गलकोटबाट उदाएका सूर्य

१६ असार, काठमाडौं । प्रथम साहना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकीका खेलाडी सूर्य बिकको अलराउन्ड प्रदर्शनले धेरैको तारिफ बटुल्यो ।

पुरुषतर्फ गण्डकी प्रदेशले फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्दा सूर्यले उत्कृष्ट सर्भरको उपाधि जिते ।

समूह बी मा रहेको गण्डकीले पहिलो खेलमा कोशीलाई ३–१ ले हरायो भने दोस्रो खेलमा लुम्बिनीसँग ३–० को सोझो सेटमा नै पराजय व्यहोर्‍यो ।

सेमिफाइनमा सुदूरपश्चिमलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी फाइनल पुग्यो । यी सबै खेलमा सूर्यको प्रदर्शन अब्बल थियो ।

सेमिफाइनल खेल जितेपछि सूर्यले अनलाइनखबरसँग भनेका थिए, ‘म अझै गर्न सक्छु जस्तो लाग्छ । तर हामी एकै ठाउँमा ट्रेनिङ नगर्ने भएकाले टिममा कोओर्डिनेसन मिलिरहेको छैन ।’

खेल खेल्दै जाँदा टिममा खेलाडीबीचको समन्वय पनि मिल्दै गयो । सूर्यको प्रदर्शन फाइनलमा झन् सुधारियो । यसैको परिणामस्वरुप सहाना प्रधान यू–१९ पुरुष तर्फको उपाधि गण्डकीले जित्यो ।

उनको क्वीक स्पाइकको तारिफ भलिबल प्रशिक्षक जगदिश भट्टले पनि गरे ।

गण्डकीका प्रशिक्षक रमेश केसीले सूर्य पहिलो पटकमा नै निकै सम्भावना बोकेका खेलाडीको रुपमा देखिएको बताए । ‘मिहिनेत गरेको खण्डमा सूर्य राम्रो भविष्य भएको खेलाडी हो’, उनले भने ।

गण्डकीको सिनियर टिमका समेत प्रशिक्षक केसी, सूर्यमा गण्डकीका स्टार स्पाइकर रवि केसीको झल्को पाएको बताउँछन् । ‘वर्षायाम सुरु भएर पनि होला, प्रशिक्षणमा केही सुधार आवश्यक छ तर सूर्य राष्ट्रियस्तरमा समेत स्थान बनाउन सक्ने खेलाडी हुन्’, प्रशिक्षक केसीले भने ।

बाग्लुङको गलकोट नगरपालिका–८ कादेबासमा २०६२ साल पुस २९ गते जन्मिएका सूर्य ७/८ वर्षको हुँदा नै दाइहरुले भलिबल खेलेको हेर्न जान्थे । हेर्दाहेर्दै उनलाई पनि खेल्न मन लाग्यो ।

बागलुङ भलिबलको उर्बर भूमि हो । यही ठाउँको खेल प्रेमले उनलाई अछुतो राख्न सकेन । बुबा लालबहादुर र आमा सुमित्राले पनि छोराको इच्छाको कदर गरे ।

उनले गलकोटमा रहेको भलिबल प्रशिक्षण केन्द्रमा भलिबल सिक्न थाले । गाउँबाट २/३ घण्टा हिँडेर उनी गलकोटमा भलिबल सिक्न पुग्थे ।

‘लकडाउनको बेला गल्कोटमा सुरेन्द्र केसी, विष्णु शेरचन दाइले ट्रेनिङ सेन्टर खोल्नुभएको थियो । हामी लगभग २/३ घण्टा हिँडेर ट्रेनिङ गर्न जान्थ्यौं’, सूर्यले भने ।

तस्वीर सौजन्य : सूर्य बिक

कक्षा ८ सम्म जनजागृति माध्यमिक विद्यालयमा पढेका उनले ९ र १० बुटबलको तिलोत्तमामा रहेको कुँवरावर्ती इङ्लिस बोर्डिङ स्कुलमा पढे । १८ वर्षीय सूर्य हाल न्यू होराइजन बोर्डिङ स्कुलमा कक्षा १२ मा पढिरहेका छन् ।

उनी होराइजनमा स्पोर्टस् साइन्स विषय लिई पूर्ण छात्रवृत्ति कोटामा पढिरहेका छन् । ‘मलाई उदय बम मल्ल गुरुले घरमा बाबाममीलाई सम्झाएर बुटबल लैजानुभएको हो’, उनले भने ।

सूर्य खेल्ने अवसरकै खोजीमा बागलुङबाट बुटवल पुगे । परिवारका ५ सन्तानमध्येका कान्छा सन्तान सूर्य आफूले खेललाई अघि बढाउन सक्नुको मुख्य कारण नै परिवारको साथ भएको बताउँछन् । ‘घरको निकै साथ छ । दाइहरुले मलाई निकै साथ दिनुहुन्छ’, उनले भने ।

यसै वर्ष भएको राष्ट्रपति रनिङ शिल्डमा उनले लुम्बिनी प्रदेशको न्यू होराइजन बोर्डिङ स्कुलको टिमको कप्तानी गरेका थिए । जसमा उनको टिमले उपाधि नै जित्यो ।

‘विद्यालयस्तीय खेलमा जहाँ पढिराखिएको छ, त्यहाँबाट नै खेल्ने गरेको हो तर अब प्रदेश स्तरीयमा त आफ्नो स्थायी ठेगाना भएको स्थानबाट नै खेल्नुपर्ने भएकाले म आफ्नै प्रदेशबाट खेलिरहेको छु’, सूर्यले भने ।

राष्ट्रिय टिमसम्म पुग्ने चाहना

१८ वर्षीय सुर्यलाई लामो समय भलिबल खेल्न मन छ । उनी कक्षा १२ को पढाइ सकेपछि कुनै विभागीय टिममा आवद्ध हुन चाहन्छन् । उनलाई विभागमा आवद्ध भई राम्रो प्रशिक्षण लिन मन छ । हुन त न्यू होराइजनमा पनि दैनिक प्रशिक्षण हुन्छ ।

‘मलाई १२ सकेपछि विभागमा आवद्ध हुनु मन छ । विभागमा आएपछि ढुक्क हुन्छ । घरमा पनि त्यही भन्नु हुन्छ’, उनी भन्छन् । सूर्य पुलिस वा आर्मीको टिममा आवद्ध हुन चाहन्छन् ।

६ फिट १ इन्च उचाइ भएका सुर्यको अन्तिम लक्ष्य भनेको राष्ट्रिय टिम नै हो । उनी सिनियर टिमका ओपन स्पाइकरहरुको खेल हेर्दै आफ्नो खेलमा सुधार गर्ने गर्छन्, । ओपनर स्पाइकमा मानबहादुर श्रेष्ठ, रवि केसी, रविन चन्द उनलाई मन पर्छ ।

आफूअघिका धेरै खेलाडी स्वदेशमा भविष्य उज्वल नदेखेर विदेशिएको उनले देखेका छन् । कतै आफू पनि त्यस्तै हुनुपर्ने त होइन भन्ने पनि चिन्ता पनि उनमा छ । ‘राम्रो खेलिरहनु भएको दाइहरु विदेशिनुभएको छ । कहिलेकाहीँ त हाम्रो पनि हालत त्यही त होला भन्ने लाग्छ’, सूर्य भन्छन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

गण्डकी भलिबल सूर्य बिक
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय