+

काखी गन्हाउनुको कारण र उपचार

२०८१ असार  १७ गते १३:३९ २०८१ असार १७ गते १३:३९
काखी गन्हाउनुको कारण र उपचार

विशेषगरी गर्मीको समयमा काखी गन्हाउने समस्याले धेरैलाई सताउछ । यसका कारण विभिन्न हुनसक्छन् । धेरै पसिना आउनु, लसुन, अदुवा, प्याज तथा मसालेदार खानेकुरा धेरै खाँदा पसिना गन्हाउँछ । पसिना धेरै आउनुको भनेको शरीरभित्रको विकास अर्थात् टक्सिन निस्कनु हो । पसिनासँगै ब्याक्टेरियाको संक्रमणले पनि काखी गन्हाउने गर्छ ।

काखी गन्हाउनुमा वंशाणुगत कारण पनि हुनसक्छ । पुरुष र महिला दुवैमा काखीमा बाक्लो रौं छ भने पनि काखी गन्हाउने समस्या हुन्छ । बाक्लो रौंकारण काखीमा धेरै फोहोर हुने हुँदा ब्याक्टेरियाको संक्रमण हुन्छ, जसकारण काखी गन्हाउँछ । त्यसैगरी रातो मासुको सेवन पनि काखी गन्हाउने एक कारणमा पर्छ ।

काखी कसैको गन्हाउने, कसैको नगन्हाउने किन हुन्छ ?

शरीरमा पसिना आउने ग्रन्थी हुन्छ, जसलाई एक्रिन स्वेट ग्ल्यान्ड भनिन्छ । सेबेसियस ग्रन्थीले छालालाई नरम बनाउँछ । एपोक्राइन ग्रन्थी कसैमा हुन्छ भने कसैमा हुँदैन । यो ग्रन्थी धेरै रौं भएको व्यक्तिमा बढी सक्रिय हुन्छ, जसले काखी गन्हाउँछ ।

एपोक्राइन ग्रन्थीबाट एक तैलीय तत्व निस्कन्छ । जुन धेरै तनाव, डर, चिन्ता, पीडामा थप सक्रिय हुन्छ । यस्तो अवस्थामा झन् बढी काखी गन्हाउँछ । तर यी ग्रन्थीबाट निस्कने तैलीय तत्व गन्धहित हुन्छ । काखी गन्हाउनुमा भने त्यसमा ब्याक्टेरिया संक्रमणले भूमिका खेल्छ ।

उपचार

काखी गन्हाउने समस्याको उपचार खाने औषधि, मलम, लेजर प्रविधि र शल्यक्रियाबाट गर्न सकिन्छ ।  एन्टिब्याक्टेरियल औषधि जस्तै मेपिरोसिन मलम, फुसिडिस एसिड प्रयोग गर्न सकिन्छ । यसले ब्याक्टेरियालाई बढ्नबाट रोक्छ । अत्याधुनिक लेजर प्रविधिबाट गर्न सकिन्छ, जसलाई ‘मिरा ड्राइ’ पनि भनिन्छ । यसमा पसिना निकाल्ने ग्रन्थीलाई कम सक्रिय बनाइन्छ र पसिना कम आउँदा काखी पनि स्वत: कम गन्हाउने हुन्छ । यसले काखी गन्हाउन कम मात्रै गर्छ भने शल्यक्रिया मार्फत काखी गन्हाउने समस्या पूर्ण रुपमा निको पार्न सकिन्छ । शरीरमा भएको एपोक्राइन ग्रन्थीलाई निकाल्दा काखी गन्हाउने समस्या पूर्ण रुपमा निको हुन्छ ।

रोकथाम

काखी गन्हाउने समस्याबाट बच्न सबैभन्दा पहिले त सरसफाइमा ध्यान दिनुपर्छ । जस्तै- दैनिक काखी धुने, काखीलाई सुक्खा राख्ने, त्यहाँका रौं खौरिरहने र मसालेदार खानेकुराबाट सकेसम्म टाढा बस्ने गर्नुपर्छ । काखीमा डियोडोरेन्ट लगाउने सकिन्छ, यसले गन्धलाई छोप्न मद्दत गर्छ ।

काखी गन्हाउने सर्छ ?

काखी गन्हाउने व्यक्तिको लुगा नधोइकन लगाउँदा सर्न सक्छ । यो ग्रन्थीको कारण नभई लुगा भएका ब्याक्टेरियाको संक्रमणले गन्हाउँछ ।

काखी समस्या छालारोग डा. रुपक घिमिरे
डा. रुपक विक घिमिरे
लेखक
डा. रुपक विक घिमिरे
छाला तथा यौनरोग विशेषज्ञ

डा. घिमिरे हाल काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालक हुन् । उनले डर्माटोलोजीमा एमडी गरेका छन् । कपाल प्रत्यारोपणका पनि विशेषज्ञ  काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत हुन् । उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिव हुन् । डा. घिमिरेको मेडिकल काउन्सिल दर्ता नम्बर ७९०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय