+
+
गंगा दाहालसँग कुराकानी :

‘देउवा–ओली संवादलाई प्रधानमन्त्रीले अन्यथा लिनुभएको छैन’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १३:५१

१७ असार, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला दिनमा बढेका छलफलसँग प्रधानमन्त्री प्रचण्ड झस्केका छन् ।

देउवासँगको सहकार्य छाडेर चार महिनाअघि ओलीसँग मिलेर सत्तायात्रा निरन्तरता दिइरहेका प्रचण्डलाई काँध थाप्न अब कांग्रेस–एमाले तयार नभएका हुन् त भन्ने आशंकाबीच आज सोमबार पनि प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा लामै कुराकानी भयो ।

अक्सर प्रधानमन्त्रीको बैठक कक्षमा हुने छलफल आज भने माथिल्लो तलाको बार्दलीमा अढाई घन्टाभन्दा लामो समय भएको थियो । प्रचण्डको अनुहारमा कान्ति देखिँदैनथ्यो, अनि लुगा पनि सामान्य किसिमले लगाएका थिए । राज्यको कार्यकारी प्रधानमन्त्रीको छनक उनको उपस्थितिमा देखिएन ।

शनिबार देउवासँग लामो भेट गरेका ओलीले आइतबार प्रचण्ड भेटेका थिए । आइतबारै एउटा कार्यक्रममा उनले बोलेका थिए, ‘मैले प्रधानमन्त्रीलाई नियुक्ति, सरुवा बढुवा होइन, पोलिसी म्याटरको छलफल गरौं भनेको थिएँ, कुन क्षेत्रमा कस्तो नीति लिने छलफल गरौं भनेको हो । तर उहाँको शैली कस्तो भने, कुरा सुन्यो सुन्यो, सिध्दियो ।’

तिनै ओलीसँग प्रचण्डको लामो भेट सकिएपछि प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव गंगा दाहालसँग गरिएको यो संक्षिप्त कुराकानी :

प्रधानमन्त्री र ओलीबीच के कुराकानी भइरहेको हो ?

एकदमै सामान्य र नियमित भेट हो । हिजो पनि भएको नै हो । बाहिर अलिक परिस्थिति नै बिग्रिइसक्यो कि भन्ने किसिमले प्रचारबाजीहरू भए । त्यस्तो केही छैन ।

देउवा–ओली भेटपछिको तरंग त देखिएको हो नि ?

उहाँहरू दुई महत्वपूर्ण दलको महत्वपूर्ण नेता भेट्नु पनि कुनै अनौठो मान्नुपर्ने विषय होइन । संवाद पनि भइराख्नुपर्छ । तर पछिल्लो समय दुई नेताको बीचमा संवाद नै हुन नसकेको हो कि जस्तो भइरहेको थियो । कतिले त बोलचालै छैन जस्तो पनि ठाने होलान् । त्यसैले भक्तपुर गएका बेला अध्यक्ष ओलीको घरमा भेट भएको हो । यसमा अन्यथा केही छैन ।

यसलाई प्रधानमन्त्रीले पनि अन्यथा मान्नुभएको छैन ?

अन्यथा मान्नुपर्ने के छ र ? हाम्रो बीचमा दुई पक्षीय, तीन पक्षीय कुराहरू चलिरहन्छ नि ।

तपाईंलाई थाहै होला, हिजो ओलीले प्रधानमन्त्रीको कार्यशैलीबारे गुनासो गर्दै बोल्नुभएको छ ।

सहमतिको स्पिरिट अनुसार सरकार चलाउँदा पक्कै विषयहरू उठ्छन् । भनाइहरू पनि आउँछन्, आएका पनि होलान् । तर उहाँहरू त्यस्तो केही पर्नेबित्तिकै छलफलमा बसिहाल्नुहुन्छ । आज पनि बस्नुभयो । यसले अहिलेको सहमति र सहकार्यलाई केही फरक पार्दैन ।

कांग्रेसले पनि आजै बैठक डाकेको छ । सत्तागठबन्धन अब के होला भन्ने खालका चर्चा छन् नि ?

त्यो पूर्ववत योजनामा डाकिएको बैठक हो । अतिरन्जित नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?