+
+

बर्खामा पर्यटन : ‘नेपाल फर अल सिजन’ आकर्षणमा प्रवर्द्धन अभाव

सरकारको लक्ष्य भेट्न २०२३ को तुलनामा ५८ प्रतिशत र २०१९ को तुलनामा ३४ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्छ । अहिलेकै आगमनबाट यो लक्ष्य भेट्न मुस्किल देखिन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असार १७ गते १६:१०

१७ असार, काठमाडौं । नेपालमा वर्षायाम सुरु भएसँगै पर्यटक आगमन खस्किएको छ । जुन २०२४ मा ७६ हजार ७ सय ३६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०२४ कै सबैभन्दा कम आगमन हो ।

यो वर्ष सबैभन्दा धेरै मार्चमा आगमन भएको थियो । यो महिना १ लाख २८ हजार १ सय ६७ पर्यटक आएकामा जुनमा घटेर ७६ हजारमा सीमित भएको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भारतीय पर्यटक आगमन घट्नु र चिनियाँ पर्यटक आगमन अपेक्षित बढ्न नसक्नुले जुन महिनामा आगमन केही कमी देखिएको बताए ।

जुन २०२३ मा भारतबाट ३८ हजार ८ सय ४५ पर्यटक आएकोमा जुन २०२४ मा ३७ हजार ८ सय ३५ भारतीय मात्र नेपाल भ्रमणमा आएका छन् ।

यस वर्ष जुन महिनामा चीनबाट ७ हजार ४ सय ९४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चिनियाँ पर्यटकलाई सबै सिजनमा भित्र्याउन सकिने सम्भावना भए पनि अपेक्षित भित्रिन नसकेको देखिएको छ ।

सरकारको लक्ष्य भेट्न मुस्किल

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा पर्यटक आगमन १६ लाख पुर्‍याउने लक्ष्य लिएको छ । तर, ६ महिनासम्मको तथ्यांकले उक्त लक्ष्य भेट्न मुस्किल हुने देखिन्छ । ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल आएको देखिन्छ ।

सरकारको लक्ष्य भेट्न २०२३ को तुलनामा ५८ प्रतिशत र २०१९ को तुलनामा ३४ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्छ । अहिलेकै आगमनबाट यो लक्ष्य भेट्न मुस्किल देखिएको निर्देशक लामिछाने बताउँछन् ।

‘आक्रामक बजारीकरण अभाव हामीले महसुस गरेका छौं,’ उनले भने, ‘खासगरी हाम्रा मुख्य स्रोत बजार भारत र चीनमा अझै बढी बजारीकरणको खाँचो छ ।’

काठमाडौं–दिल्ली महँगो उडान, भैरहवा र पोखरा उपयोगमा ल्याइएन

अहिले काठमाडौंबाट भारत नयाँदिल्ली जाने जहाज करिब पूर्णक्षमतामा उड्छन् । यसो हुनुमा पर्यटक आगमन र फिर्तामात्र होइन, दिल्लीबाट तेस्रो मुलुक जान नेपालीले ‘ट्रान्जिट’ का रूपमा उपयोग गर्नु मुख्य कारण हो ।

सोहीकारण यो रुटको भाडा पनि महँगो छ । दिल्ली–काठमाडौं रुटको भाडा भने तुलनात्मक रूपमा महँगो छ । यो अवस्थामा भारतीय पर्यटकलाई काठमाडौंको साटो पोखरा र भैरहवामा उतार्न सके दुवै विमानस्थल चल्ने र पर्यटक आगमन सहज हुने अवस्था थियो ।

बोर्डका निर्देशक लामिछाने यी दुवै विमानस्थललाई भारतसँग पहल गरी चलाउन सके अहिलेको तुलनामा धेरै पर्यटक भारतबाट भित्र्याउन सकिने बताउँछन् ।

‘नेपालको सट्टा अन्य छिमेकी देश जान सस्तो पर्ने भएपछि भारतीयले गन्तव्य फेर्न थालेका हुन् कि भन्ने छ,’ उनी भन्छन्, ‘हामीलाई पर्यटक चाहिएको हो, यी दुई विमानस्थल चलाउन पहल हामीले नै लिनुपर्छ ।’

उता, चीनतर्फ समेत नेपालले अपेक्षा अनुसार प्रवद्र्धन गर्न नसक्दा आगमनमा उत्साह देखिएको छैन । पोखरा विमानस्थलमा चिनियाँ सहरबाट सिधा उडान गरी पर्यटक ल्याउन सकिने सम्भावना छ । तर, स्वयम् चीन सरकारको पहलमा केही चार्टर उडान हुनुबाहेक पोखरा समेत उपयोगमा ल्याउन सकिएको छैन ।

पर्यटक आगमन संख्याले समेत चीनतर्फ पनि उत्साह देखाउँदैन । ‘चीनबाट करोडौं पर्यटक घुमफिरमा निस्किएका छन्,’ निर्देशक लामिछानेले भने, ‘त्यसको सानो अंक पनि भित्र्याउन सकिएको छैन ।’

जुन महिनामा अमेरिकाबाट आउने पर्यटक संख्या समेत ओरालो लागेको छ । जनमा अमेरिकाबाट ८ हजार २ सय ८१ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिना ८ हजार ४ सय ७० नेपाल आएका थिए ।

त्यस्तै बेलायतबाट १ हजार ९ सय ६९ आएका छन् । अघिल्लो वर्ष १ हजार ९ सय ९२ आएका थिए । बंगलादेशबाट आउने पर्यटक भने उल्लेख्य बढेका छन् । त्यहाँबाट ३ हजार ८ सय ५७ पर्यटक आएका छन् । जुन २०२३ मा २ हजार ४ सय २ मात्र आएका थिए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?