+
+

क्रियाशील पत्रकारलाई सदस्यता नदिएसम्म आन्दोलन गर्ने प्रेस युनियनको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १३:३७

१७  असार, काठमाडौं। नेपाल प्रेस युनियनले प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई मतदाता नामावलीमा समावेश नगरेसम्‍म नेपाल पत्रकार महासंघविरूद्ध  आन्दोलन गर्ने  चेतावनी दिएको छ । सोमबार नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, उपत्यका शाखासहित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिँदै यस्तो चेतावनी दिएको हो ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरी निर्वाचन कार्यक्रम घोषणा गरे पनि त्‍यो अमान्य हुने बताए ।

उनले भने, ‘निर्वाचन समितिले जुन मतदाता नामावली सार्वजनिक गरेको छ । त्यसमा जिल्ला र प्रदेश र प्रतिष्ठानबाट सिफारिस भएका  क्रियाशील पत्रकारहरुको ठूलो संख्यामा सदस्यता छुटेको छ । तर, जिल्ला र प्रदेश नै नचिनेका र नदेखेका केही मान्छेहरुको नाम बाहिरबाट थपिएको छ ।त्यो हामीलाई अमान्य छ,’ उनले भने,‘ जबसम्‍म महासंघले क्रियाशील पत्रकारहरूलाई मतदाता नामावलीमा समावेश गर्दैन तबसम्म महासंघको चुनाव हुँदैन।’ उनले प्रेस युनियन महासंघको स्थायी संरचनाहरुबाट आएका सदस्यहरुलाई मात्रै कायम गरी निर्वाचन गराउनुपर्ने अडानमा रहेको बताए ।

अध्यक्ष लम्सालले महासंघले बाहिरबाट मान्छे थपेर मतदाता सूची तयार गरेर निर्वाचन गर्ने जुन दुस्साहसविरुद्ध प्रेस युनियन आन्दोलनमा उत्रिनु परेको बताए । ‘छुटेका क्रियाशील पत्रकारहरुले सदस्यता नपाउँदासम्म महासंघविरूद्ध आन्दोलन जारी रहन्छ।’ उनले भने ।

यस्तै प्रेस युनियकी उपाध्यक्ष सलोजा दाहालले जिल्ला र प्रदेशबाट सिफारिस भएका बाहेक अन्य तरिकाले केन्द्रबाट सदस्यता झिक्ने र आफ्नो मान्छेहरूको राख्ने काम नै गलत भएको बताइन् ।

उनले भनिन्, ‘महासंघले जिल्ला र प्रदेशबाट सिफारिस भएका वास्तविक र क्रियाशील पत्रकारहरुको सदस्यता झिक्‍ने काम केन्द्रबाट गर्‍यो। तर फेरि आफ्नो मान्छेको सदस्‍या राख्‍ने काम नै गलत भयो।’ उनले यही कारणले युनियन आन्दोलित भएको उनको भनाइ छ ।

‘युनियन व्यक्तिमा केन्द्रित छैन् । हामी विधि र कानुनलाई मान्छौं । क्रियाशील पत्रकारहरु बाहिर राखेर र सदस्य हुनबाट वञ्चित गराएर निर्वाचनमा जानै सक्दैनौं,’  उनले भनिन्, ‘ हाम्रा मागहरु सुनिएन भने आक्रमक तरिकाले जान्छौं । माग पूरा नभएसम्म आन्दोलन गरिरहन्छौं।’

यस्तै प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेलले नेपाल पत्रकार महासंघ कुनै अमुक दल राजनीतिक निर्देशनबाट सञ्‍चालन हुने गरेको आरोप लगाए । उनले भने, ‘पत्रकार महासंघमा अहिले कुनै राजनीतिक दलबाट निर्देशित भइरहेको छ, खासगरी पत्रका महासंघका पुर्व अध्‍यक्ष एवम् प्रधानमन्त्रीको प्रेस सल्लाहकारको ठाडो निर्देशनमा सञ्चालित भएको देखिन्छ।’

उनले पत्रकार महासंघलाई राजनीतिक कार्यकर्ता भर्ति गर्ने भन्दा पनि सक्रिय र क्रियाशील पत्रकारहरुको संगठन बनाउन जरूरी रहेको बताए ।

‘पत्रकार महासंघलाई पार्टीको कार्यकर्ता भर्तिकन्द्र बनाउनु भएन। यो काम सदस्यता वितरण गर्दा पटक पटक भइरहेको छ,’ उनले भने, ‘ पार्टी कार्यकर्तालाई मतदाता नामावलीमा कायम गरेर क्रियाशील पत्रकारहरूलाई हटाउने जुन हर्कत भइरहेको छ। यहीविरूद्ध युनियन आन्दोलनमा उत्रिनु परेको हो।’  गैर पत्रकारहरूलाई नहटाएसम्म र क्रियाशीललाई सदस्‍या कायम नगरेसम्म आन्दोलन जारी रहने उनको जिकिर थियो ।

नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयसहित देशभरका महासंघ शाखाहरू पाँचथर,  झापा, मोरङ, खोटाङ, उदयपुर, सप्तरी, काभ्रे, ललितपुर, चितवन, बारा, पश्चिम नवलपरासी, कपिलवस्तु, रुपन्देही,  पाल्पा, सुर्खेत, कैलालीलगायतमा धर्ना तथा तालाबन्दी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?