+
+

जितेन्द्र देवको एमालेदेखि एमालेसम्मको यात्रा

सोमबार एमाले प्रवेश गर्ने क्रममा उनले पुराना वामपन्थी दिनहरुको सम्झना गरे । उनले अध्यक्ष केपी ओलीलाई पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएकोमा धन्यवाद दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते २०:००
तस्वीर :बालकोट फेसबुक पेजबाट ।

१७ असार, काठमाडौं । अचेल युवा संघ भनेर चिनिने एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) मा केपी ओलीपछि केशव स्थापित अध्यक्ष भएका थिए । जितेन्द्रनारायण देव स्थापितको टिममा उपाध्यक्ष थिए ।

एमाले पंक्तिमा बौद्धिक युवाको रुपमा परिचय बनाएका देवलाई पार्टीले नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष बनाएको थियो ।

एक सदस्यीय उक्त समितिले २०५३ सालमा ३४ हजारलाई नागरिकता बाँडेको थियो, जसबारे अदालतमा अर्को वर्ष मुद्दा परेको थियो ।

नागरिकता वितरण नीतिका बारेमा एमालेले अनुदार अडान राखेको भन्दै देव त्यस बेला असन्तुष्ट बनेका थिए ।

०५४ मा नेपालगञ्जमा आयोजित छैटौं राष्ट्रिय महाधिवेशनबाट देव केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । पार्टीसँग कतिपय असन्तोषका बाबजुद उनी एमालेमै थिए । संघीयता र पहिचानको मागसँगै क्षेत्रीय राजनीति उत्कर्षमा पुग्दै गर्दा ०६३ सालमा देवले एमाले छाडे ।

सुरुमा उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा आवद्ध भए । विजय गच्छदारले पार्टी विभाजन गरेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा उनले पनि साथ दिए र उक्त पार्टीको महासचिव बने ।

संविधान जारी भएपछि कतिपय मधेश केन्द्रित दलहरु आपसमा एकीकृत भए भने कुनै ठूला पार्टीसँग मिले । फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग एकता गर्‍यो । यसका अध्यक्ष गच्छदारसहित अधिकांश नेता विगतमा कांग्रेसमा रहेकाले कांग्रेससँग एकता सहज भयो । जितेन्द्र देव यसरी एकताबाट स्वतः कांग्रेस भए ।

कांग्रेसले उनलाई राष्ट्रिय सभामा सांसद बनायो । अरु केही जिम्मेवारी दियो । तर देवको राजनीतिक रुझान वामपन्थतिरै थियो ।

सोमबार एमाले प्रवेश गर्ने क्रममा उनले पुराना वामपन्थी दिनहरुको सम्झना गरे । उनले अध्यक्ष केपी ओलीलाई पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएकामा धन्यवाद दिए । पार्टी छाडेर अन्यत्र गएकामा आत्मालोचना पनि गरे ।

‘मैले १६–१७ वर्षजति एमालेभन्दा बाहिर बसेर काम गरें, त्यहाँ पनि केही न केही सिकाइ र अनुभव भएकै छ’, देवले पार्टी मुख्यालय च्यासलमा भने, ‘१७ वर्षपछि म तिनै अनुभव र उर्जा बोकेर फर्केको छु । मलाई नेता भन्नुपर्दैन, कार्यकर्ता बनाइदिए हुन्छ ।’

देवसँगै अकबाल अहमद साह पनि प्रभु साहको आम जनता पार्टी (आजपा) छाडेर एमाले प्रवेश गरेका छन् । उनीहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारामा समाहित हुन आग्रह गरे ।

‘कुनै बेला गुटउपगुटले पार्टी सखाप पारेको थियो, अचेल गुट उपगुट छैन, त्यसैले समृद्धि र सुखको लागि काम गरौं’ ओलीले देव र अहमद साहलाई भने, ‘अब एमाले नै लक्ष्य हो, यसमै आफ्नो भविष्य खोज्ने हो ।’

एमाले नेता माधव ढुंगेलका अनुसार देवको जिम्मेवारीका बारेमा टुंगो भइसकेको छैन । ‘उहाँका लागि कुनै जिम्मेवारी सिर्जना गर्ने काम पनि हुन सक्छ, त्यो ठूलो कुरो होइन’ उनले भने, ‘उहाँ आफ्नो संकल्प र अनुभवसहित पार्टीमा फेरि आउनुभयो । यो नै अहिले स्वागतको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?