+
+

अविवाहित सुकदेवको काठमाडौंदेखि दुबईसम्म ‘ससुराली’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:३६

काठमाडौं । बद्री पंगेनीले गाएको एउटा काइदाको गीत छ, ‘ससुरालीमा, ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ।’

बद्रीले यो गीत गाउनु र सुकदेव नेपालले ‘ससुराली रेस्टुरेन्ट’ खोल्नु कुनै संयोग थिएन । रेस्टुरेन्ट खोल्ने पक्कापक्की भएपछि ‘नाम के राख्ने होला’ भनी सुकदेवको दिमाग घुमिरहेको थियो । त्यहीबेला उनले फ्याट्ट बद्रीको गीत सम्झिए । अनि दंग परेर त्यही नाममा मनमनै लाहाछाप लगाइदिए, ‘ससुराली, यो भन्दा काइदाको नाम अरु के हुन्छ ?’

यो नाम किन पनि उनलाई रसिलो-चोटिलो लाग्यो भने ससुरालीमा पाक्ने भोजन विशेष हुन्छ । ज्वाइँ–छोरीका लागि अनेकथरी व्यञ्जन तयार हुन्छ । हार्दिक आतिथ्य मिल्छ । ससुरालीको मेजमान र सत्कार अरु कहाँ मिल्छ ?

‘यो नाम जुराइएपछि एक किसिमको हौसला मिल्यो,’ सुकदेव सुनाउँछन्, ‘किनभने यो खोजे जस्तै, रोजे जस्तै नाम थियो ।’ त्यसो त नाममा के छ र ? भन्नेहरु पनि हुन्छन् । तर सुकदेवलाई के लाग्छ भने आफ्नो रेस्टुरेन्ट चल्नुमा नामले पनि केही त साथ दिएकै छ ।

यही नामको फेरो समातेर उनले मेनु तयार गरे, कोठाहरु तयार गरे । जस्तो, परिकारमा जेठाजु थाली, सासुआमा स्पेसल । कोठामा माइतीघर, मामाघर । यससँगै ठाउँठाउँमा केही यस्ता पंक्ति लेखिदिए, जसले आगन्तुकलाई झट्ट आकर्षित गरोस् । जस्तो, ‘यो चोटि तँ तिर्, अर्को चोटि म तिर्छु’, ‘ससुराली आइरहनु दिनका दिन’ । यहाँ शौचालय छैन पाइखाना छ । यहाँ सेफ छैनन् भान्से छन् ।

सुकदेव खासमा व्यवसायी थिएनन्, कर्मचारी थिए । हस्पिटालिटी खासगरी होटल–रेस्टुरेन्टसँग उनीसँग गोरु बेचेको साइनो थिएन । यद्यपि कुरैकुरामा रेस्टुरेन्ट खोल्ने लहड चल्यो । रेस्टुरेन्ट खोल्नका लागि उनीसँग कुनै अनुभव थिएन । थियो केवल हिम्मत । कहिल्यै व्यापार-व्यवसायमा हात नहालेका सुकदेवलाई दुई–अढाई करोड जुटाउनु र रेस्टुरेन्टमा लगाउनु सानो हिम्मतले पुग्ने थिएन । आखिर उनले हिम्मत गरे ।

उनले किन हिम्मत गरे ? किन रेस्टुरेन्टमै लगानी गरे ?

रहरैरहरमा रेस्टुरेन्ट

दोस्रो चरणको कोरोना महाव्याधिपछि अवस्था सामान्य हुँदै थियो । लामो समय घरभित्रै गुम्सिएर बसेका मान्छेहरु खुला हावामा आएर रमाउन थालेका थिए । आपसमा भेला हुन, भलाकुसारी गर्न थालेका थिए ।

यसरी नै घरबाट निस्किएर भक्तपुरको दिव्यश्वरी प्लानिङमा टहल्न आइपुगेका थिए, सुकदेव नेपाल । त्यहाँ मान्छेको चाहलपहल, भीडभाड देखेपछि उनलाई लाग्यो, ‘यहाँ एउटा रेस्टुरेन्ट खोल्न पाएँ कस्तो हुँदो हो ?’

साँझ–बिहान व्यायाम गर्नेहरु, साथीभाइसँग भलाकुसारी गर्नेहरु, परिवारसँग रमाउनेहरु जमघट हुने गजब गन्तव्य थियो त्यो । उनले त्यही अवसर देखें । अन्ततः रेस्टुरेन्ट खोल्ने मनासय बनाए ।

यद्यपि उनलाई ‘रेस्टुरेन्ट’ व्यवसाय गर्ने जुक्ति चाहिं यसअघि नै फुरेको थियो, जतिबेला उनी कामको सिलसिलामा पूर्वबाट काठमाडौं फर्किंदै थिए । राजमार्गमा एउटा रेस्टुरेन्ट रहेछ, वृक्ष भन्ने । रेस्टुरेन्ट आसपास खुला ठाउँ, हरियाली, फूलले ढकमक्क । त्यहाँको वातावरणले आगन्तुकलाई आनन्द र शान्त तुल्याउँथ्यो ।

‘त्यहाँ बसेर खानेकुरा खाइरहँदा के लाग्यो भने जिब्रोको स्वादसँगै मनलाई आनन्द भयो भने त्यसले दोब्बर मज्जा दिने रहेछ,’ उनी सुनाउँछन्, ‘जब यो कुराको महसुस भयो, रेस्टुरेन्ट खोल्ने रहर जाग्यो ।’

लकडाउन एक अवसर

कति अप्ठ्याराले समस्या मात्र ल्याउँदैन, साथै अवसरको ढोका पनि खोलिदिन्छ । कोरोना महाव्याधि धेरैका लागि यस्तै अवसर थियो । यस अवधिमा धेरैले आफ्नो बाटो मोडे र उद्यम–व्यवसायको नयाँ अध्याय सुरु गरे ।

यसैमध्येका एक हुन्, सुकदेव पनि ।

लकडाउनको फुर्सदमा फुरेको रेस्टुरेन्ट खोल्ने जुक्ति आज उनको जीवनमा सही समयमा गरिएको सही निर्णय जस्तै भएको छ । रेस्टुरेन्ट व्यवसायमा नलागेका भए के हुन्थ्यो ? सम्भवत: उनी कतै जागिरका सिलसिलामा दौडधूप गरिरहेका हुन्थे । २९ वर्षे यी ठिटो अहिले रेस्टुरेन्ट व्यवसायबाट आफ्नो अर्थोपार्जन बढाइरहेका मात्र छैनन्, यसलाई अझ विस्तार गरिरहेका छन् । ससुराली सुरु गरेको तीन वर्ष बित्न नपाउँदै उनले काठमाडौंमा अरु चार-पाँचवटा रेस्टुरेन्ट सुरु गरिसकेका छन् । जस्तो कि, स्टाइलिस कफी, डिंक एण्ड बाइट्स क्याफे, मोनस्टार मिल्स ।

अब उनको अर्को लक्ष्य हो, यूएईको दुबई । नेपालको श्रम गन्तव्य दुबईमा उनी भने रोजगारको अवसर सिर्जना गर्दैछन् । दुबईमा ससुराली नामबाट रेस्टुरेन्ट सुरु गर्ने सुरसार छ ।

‘त्यहाँ रेस्टुरेन्टका लागि सबै तयारी भइसकेको छ, अब भदौतिर सुरु गर्नेछौं,’ सुकदेव भन्छन्, ‘त्यहाँ पनि ससुरालीकै परिकार तयार गर्ने हो । यहीबाट काम गर्नेहरु पनि उता लैजानेछु ।’

उनी स्वयं भने खानाका पारखी होइनन् । उनलाई नानाथरी परिकारमा खासै रस छैन । साँझ–बिहान टन्न दालभात भने चाहिन्छ । ‘म यो मःम, चाउमिन वा अरु कुरा खान खासै रुचाउँदिन,’ सुकदेव भन्छन्, ‘तर दालभात चाहिं हुनैपर्छ ।’

पेशाले उनी जियोमेटिक सर्भेयर । त्यही काम गरिरहँदा आर्जन गरेको केही पैसा उनीसँग बचत थियो । त्यही पैसा उनले रेस्टुरेन्टमा लगाए । यसमा उनलाई साथ दिए, जिवेश प्रसाईंले । बीचमा केही पार्टनर थपिए, छुटे । सुरुमा जोडिएका उनीहरु अहिले पनि साथसाथ छन् ।

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?