+
+
ब्लग :

अब त समाजका राम्रा काम उजागर गर्नेतर्फ लाग्ने कि ॽ

स्वभावैले अधिक मानिसहरूको मन सकारात्मक भन्दा नकारात्मक विषय वा कुरामा छिटो तानिन्छ। अझ अभाव, सेवा प्रवाहको कमसल अवस्था, स्रोत र साधनको कमी भएको स्थानमा नकारात्मक घटना देखाउने र सोको पछि लाग्नेको बाहुल्य रहन्छ नै।

डा. हरिप्रसाद लम्साल डा. हरिप्रसाद लम्साल
२०८१ असार १७ गते १८:०४

शास्त्रमा मन अर्थात् चित्त तल–माथि दुवैतिर बहने नदी जस्तै हो भनिएको छ। मन अस्थिर छ, चञ्चल छ। यो सबैले स्वीकार गरेको विषय हो। खराब कर्म गर्नेहरू पनि यही मनकै कारण बाटो बिराएका हुन्। ज-जसले सत्कर्म गरेका छन् उनीहरू पनि यही मनले निर्देशित गरेर सो कर्ममा आबद्ध हुन पुगेका हुन्। आफ्नो वरपर घटेका घटना एवम् कार्यहरूको व्याख्या र विश्लेषण यही मनकै अवस्थितिका कारण भइरहेको हुन्छ।

व्यक्तिको मनलाई नियन्त्रण गर्न, मनको अवस्थितिलाई निर्देशित रूपमा परिचालन गर्न–गराउन मानव इतिहासमा विभिन्न प्रयास भइआएका पाइन्छन्। मनोवैज्ञानिक रूपमा काउन्सिलिङ वा परामर्शदेखि योग, ध्यान, जप आदि कार्य यस अन्तर्गत पर्दछन्। सकारात्मक सोचका कैयौं सामग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइन्छन्। यी सामग्री अध्ययन गर्दासम्म वा यस्ता कथा सुनुन्जेल आफ्नो मनलाई नियन्त्रण गर्न सक्छु भन्ने लाग्छ जो–कोहीलाई।

त्यसबाट बाहिर निस्कनासाथ मन पुन: अनियन्त्रित भइहाल्न सक्छ। गिलासको पानी सम्बन्धी उदाहरणमा आधा गिलास पानीले भरिएको छ भनेर जति नै घोकाए पनि आधा गिलास रित्तै देख्नु अन्यथा पनि होइन होला। दुवैमध्ये कुनचाहिं कसले रोज्छ भन्ने मात्र हो। यसमा पनि ऋषिमुनि, ध्यानी एवम् उच्च चेत भएकालाई छोड्ने हो भने बाँकीहरूको ध्यान आधा गिलास खाली छ भन्नेमा गई नै हाल्छ।

मानिसको स्वभावैले अधिक मानिसहरूको मन सकारात्मक भन्दा नकारात्मक विषय वा कुरामा छिटो तानिन्छ। अझ अभाव, सेवा प्रवाहको कमसल अवस्था, स्रोत र साधनको कमी भएको स्थानमा नकारात्मक घटना देखाउने र सोको पछि लाग्नेको बाहुल्य रहन्छ नै।

के समाजमा नकारात्मक सोच भएका वा सोको प्रबर्धन गर्ने व्यक्ति मात्र हुन्छन् त ? के हाम्रा वरपर जे घटिरहेका छन् ती सबै नकारात्मक मात्र छन् त ? कुनै पनि समाजमा सबै व्यक्ति नकारात्मक सोच भएका मात्र हुन्छन् भन्ने छैन। घटनाहरू त्यस्ता मात्र पनि नहुन सक्छन्। यही समाजमा केही सकारात्मक घटनाहरू भइरहेका हुनसक्छन्। तर यस्ता घटनाहरू कम मात्रामा हुन सक्छन्।

धेरैले नकारात्मक घटनाहरू मात्र उल्लेख गर्दा केही पनि नभएको जस्तो लाग्न सक्छ। तर अवस्था त्यस्तो नहुन सक्छ। हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सके समाजमा घटेका सकारात्मक घटनाहरू बाहिर ल्याउन सकिन्छ। सबैमा यस्ता दृष्टिकोण बनाउन सके सकारात्मक घटनाहरूको विवरण बाहिर ल्याएर थप आशा जगाउन सकिने हुन्छ। अनि यही थप आशाबाट अरू थप आशा बढ्दै जाने हुन्छ।

यिनै सन्दर्भमा कृषि क्षेत्रमा घटेका/भएका सकारात्मक विषयहरू खोजी गर्ने चाहना थियो जून पूरा हुन सकिरहेको थिएन। नेपाल राष्ट्र बैंकको २०२२/२३ को वार्षिक प्रतिवेदन अनुसार मुलुकको व्यापार घाटा लगभग १४ खर्ब ५५ अर्ब छ जसमध्ये भारतसँग मात्र लगभग १० खर्ब २७ अर्ब घाटा छ। भन्सार विभागको २०२२/२३ को वैदेशिक व्यापार तथ्याङ्कमा दिइए अनुसार मुलुकले एक वर्षमा लगभग ६३ करोड जतिको धनियाँ र यसको बीउ आयात गरेको देखिन्छ। मुलुकले कृषि र पशुजन्य क्षेत्रका आवश्यक चिजवस्तुमा हरेक वर्ष ठूलो धनराशि खर्च गरिरहेको छ। यी र यस्तै अन्य समाचार यस्ता विषयको रूपमा बाहिर आए कि यतिबेला मुलुकभित्र केही भएकै छैन। केवल नकारात्मक कुराहरू मात्र भएको छ। आम रूपमै यस्ता विषय मात्र चित्रण भइरहेका छन्।

मुलुकभित्र पनि केही भएका छन् भनेर तिनलाई बाहिर ल्याउन र अरूलाई पनि यसमा लगाउने सामाजिक दायित्व पूरा गर्न हामी यसमा लाग्ने सल्लाह गर्दैगर्दा एउटा विदाले यस्ता विषय खोजी गर्ने अवसर जुटाइदियो।

संवत् २०८१ वैशाख ११ गते कतारका अमिर शेख तामिम विन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आउने भएकोले सरकारले वैशाख १० गते मात्र ११ गतेको विदाको घोषणा गर्‍यो। वैशाखको महिना यसै पनि ३८-४० सेल्सियस तापक्रममा तात्ने धनगढी र आसपासका क्षेत्र। वैशाख १० गते बेलुका ११ गतेको बिदा सदुपयोग गर्ने बारेमा छलफल भयो र ११ गते दिउँसो पहिचान गरिएका केही स्थानमा जाने तय गरियो।

मुलुकभित्र पनि केही भएका छन् भनेर तिनलाई बाहिर ल्याउन र अरूलाई पनि यसमा लगाउने सामाजिक दायित्व पूरा गर्न हामी यसमा लाग्ने सल्लाह गर्दैगर्दा एउटा बिदाले यस्ता विषय खोजी गर्ने अवसर जुटाइदियो।

वैशाख ११ गते मसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदन सिंह धामी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थी र कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत छैटौं श्यामराज जोशीको संयुक्त टोली बन्यो। कैलाली जिल्लाको गौरीगंगा न.पा. अन्तर्गतका विभिन्न स्थानमा कृषि ज्ञान केन्द्र कैलाली र भेटेरिनरी अस्पताल एवम् पशु सेवा विज्ञ केन्द्र कैलालीद्वारा संचालित विभिन्न कृषि विकास कार्यक्रम अन्तर्गत संचालनमा रहेका केही कार्यहरू अवलोकन गर्ने तय गरियो।

कृषि क्षेत्रमा भएका राम्रा काम खोज्न कैलाली जिल्लाको पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ रहेका उद्यमी र राम्रा अभ्यास खोज्न लाग्यौं। हामीले एक दिनमा अवलोकन गरेका घटना र तिनबाट केही पाठ सिकिएका छन्।

अनुगमनको क्रममा सम्बन्धित स्थानका कृषकहरूको खेतबारीको अवलोकन गर्ने, कार्यक्रममा संलग्न कृषकहरूको संचालित कार्यक्रमहरूप्रतिको अवधारणा बुझ्ने लगायत कृषकहरूबाट आवश्यक सुझाव सल्लाह समेत लिने गरिएको थियो। उक्त अवसरमा कृषि ज्ञान केन्द्र कैलालीबाट सञ्चालित तपसिल अनुसारका कार्यक्रमहरूको अवलोकन गरियो जसबाट सिकिएका पाठहरू देहाय बमोजिम रहेका छन् :

 १. लिवर्डसँगको सहकार्यमा जलवायु प्रविधि मैत्री नमूना गाउँ सञ्चालन कार्यक्रम, गौरीगंगा–४

कृषि ज्ञान केन्द्र कैलालीको चालु आ.व. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गौरीगंगा न.पा. वडा नं ४ मा लिवर्डसँगको सहकार्यमा जलवायु प्रविधि मैत्री नमूना गाउँ सञ्चालनमा रहेको पाइयो। उक्त कार्यक्रममा गौरीगंगा–४ चेपकट्ला भन्ने स्थानमा मुक्त कमैया शिविरमा करिब ९० परिवारको बसोबास रहेको र उक्त परिवारहरू जम्मा ४ वटा कृषक समूहमा आवद्ध रहेको पाइयो। मोटामोटी रूपमा सञ्चालित कार्यक्रमहरूमा स्थायी फलामे टनेल निर्माण, भकारो सुधार, भर्मिकम्पोष्ट प्रदर्शन, परागसेचनका लागि मौरीपालन गर्न घार वितरण, तरकारी खेतीका लागि मल्चिङ्ग प्लाष्टिक, तरकारी बीउ वितरण, रोग कीरा व्यवस्थापन (मोहिनी पासोहरू र झोलमल प्रबर्धन), अनुगमन मूल्यांकन, जोखिम तथा क्षमता विश्लेषण/जलवायु प्रविधि मैत्री कृषक पाठशाला, एग्रो मिट एडभाइजरी सूचना अभ्यास, जलवायु मैत्री स्रोत नक्सा, मुंग खेतीका लागि बीउ सहयोग कार्यक्रम, बाख्रापालनका लागि गोठ सुधार, मिल्की च्याउ खेती प्रबर्धन, महिला मैत्री कृषि औजार वितरण, कर्न सेलर र दाँते आदि रहेका छन्।

सम्बन्धित स्थानका कृषकहरूको खेतबारीको अवलोकन गर्ने क्रममा धेरैजसो कृषकहरूले बसन्ते बालीका रूपमा बसन्ते मकै, लहरे तरकारी बालीहरू काँक्रा–फर्सी–करेला–लौकाका साथै गोलभेंडा, खुर्सानी आदि बालीहरू लगाई आयआर्जन गरिरहेको पाइयो र सम्बन्धित कृषकहरूको प्रतिक्रियाबाट कृषकहरू आफूले गरेको काममा सन्तुष्ट रहेको कुरा झल्किनुका साथै कार्यक्रमहरू उद्देश्य अनुरूप सञ्चालन भइरहेको र सञ्चालित क्रियाकलापहरू जलवायु प्रविधि मैत्री हुनुका साथै उक्त कार्यक्रमले मुक्त कमैयाहरूको जीवनस्तर उकास्नमा सहयोग पुगेको देखिन्छ।

२. विशाल कृषि तथा पशुपक्षी फर्म, गौरीगंगा–५ (सफलताको कथा)

अछाम जिल्लाको दुर्गम ग्रामीण भेग विनायकबाट २०७३ सालमा बसाइँसराइ गरी कृषक मीनबहादुर वि.क. श्रीमती र ४ वटा छोरा तथा हाल एक जना बुहारी समेत गरी ७ जनाको परिवार गौरीगंगा न.पा. वडा नं ५ को डोङ्गपुर भन्ने स्थानमा बसोवास गरिरहनुभएको छ। अन्दाजी ४५/४६ वर्ष उमेरका मीनबहादुरले भारतका विभिन्न शहरमा चौकीदारी पेशा गरेर लामो समय बस्दा पारिवारिक प्रगति नहुने ठानेपछि भारतबाट फर्केर नेपालमा नै केही गर्ने विचारले २०७७ सालमा श्रीमती नवरता वि.क. को नाममा विशाल कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर जमिन भाडामा लिई व्यावसायिक तरकारी खेती सुरु गरेको बताउनुभयो।

भारतमा मजदुरी गरी कमाएको केही रकमले ३ कट्ठा दर्ता जग्गा र सोसँगै जोडिएको करिब ५ कट्ठा ऐलानी जमिन आफूसँग रहे पनि सिंचाइ अभाव र गाउँबाट टाढा खोलाको किनारको जग्गा भएकाले सुरुमा १५ कट्ठा जग्गा भाडामा लिई तरकारी खेती गरेको बताउनुभयो।

पछि व्यावसायिक तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायत संरचनाहरू निर्माण गर्दा भाडाको जग्गामा संरचना बनाउँदा पछि छोडेर जानुपर्ने र लगानी समेत खेर जाने हो कि भन्ने डरले खोलाको किनारमा रहेको आफ्नै जग्गा ५ कट्ठा र साँध सिमाना जोडिएको अन्य व्यक्तिहरूको १२ कट्ठा समेत भाडामा लिई करिब १७ कट्ठा जमिनमा हाल ७ वटा काठको टनेल तथा एउटा फलामे संरचनाको स्थायी टनेल र अन्य खुला खेतमा विभिन्न किसिमका तरकारीहरू (काँक्रो, लौका, करेला, फर्सी, बन्दा, काउली, गोलभेडा आदि) व्यावसायिक रूपमा उत्पादन गर्दै आउनुभएको छ।

तरकारी खेतीका लागि आ.व. २०७८/७९ मा कृषि ज्ञान केन्द्र कैलालीबाट करिब ४ लाख बराबरको सिंचाइ, प्लाष्टिक टनेल, प्लाष्टिक क्रेट, स्प्रेयर लगायत सामग्रीमा अनुदान प्राप्त गरेको र सोही अनुदानबाट आफूले सुरुवात गरी हाल व्यवसायलाई निरन्तरता दिएको बताउनुभयो।

हाल एक दिन बिराएर गोलभेंडा करिब क्विन्टल र दैनिक रूपमा लहरे तरकारी करिब ७ क्विन्टल बिक्री गरिरहेको बताउनुहुन्छ। यसरी तरकारी खेती गर्दा वार्षिक करिब ४ देखी ५ लाख रुपैयाँसम्म नगद बचत हुने गरेको निज कृषकले बताउनुभयो।

भारतबाट फर्केर ३ कट्ठा दर्ता जग्गा र करिब ५ कट्ठा जग्गा खरिद गरेको करीब २५ लाख रुपैयाँमध्ये २ वर्षमा १० लाख जति ऋण तिरेको र अझै जग्गा खरिद गरेको १५ लाख जति ऋण भए पनि अब १-२ वर्षभित्रै तिर्न सक्छु भन्ने आँट रहेको पनि निजले बताउनुभयो।

दलित परिवारमा जन्मेका र नेपालमै केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रोत निज साहसी कृषक मीनबहादुर वि.क.लाई धन्यवाद दिनैपर्छ। केही भएन र गर्न सकिंदैन भन्ने स्थानमा उहाँले गरेको प्रयास आफैमा सराहनीय छ।

३. मुख्यमन्त्री बृहत् एवं विशेष कृषि उत्पादन कार्यक्रम, गौरीगंगा र घोडाघोडी न.पा.

कृषि ज्ञान केन्द्र कैलालीको चालु आ.व. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गौरीगंगा र घोडाघोडी न.पा.मा संयुक्त रूपमा सञ्चालनमा रहेको मुख्यमन्त्री बृहत् एवं विशेष कृषि उत्पादन कार्यक्रम गौरीगंगा र घोडाघोडी नपाका विभिन्न वडाहरूमा गौरीगंगा बसन्ते मकै उत्पादन समन्वय समिति मार्फत सञ्चालनमा रहेको र उक्त कार्यक्रममा दुइवटै पालिकाका करिब २५० जना कृषकहरूको सहभागिता रहेको पाइयो। कार्यक्रम सञ्चालनका लागि उक्त समन्वय समितिसँग तपसिल बमोजिम कार्यहरू गर्ने गरी सम्झौता गरेको पाइयो।

यसअन्तर्गत सञ्चालित कार्यहरूमा हाइब्रिड मकै बीउ, उन्नत मकै बीउ, पावरटिलर 16.18 Kw, मिनिटिलर 5.3 Kw, इलेक्ट्रिक कर्न सेलर डवल वेरल, मकै रोप्ने हाते मेशिन (ड्रम ज्याप सिडर), मकै रोप्ने हाते मेशिन (ज्याप सिडर), स्प्रे ट्याङ्की १६ लि. इलेक्टिक, पानी तान्ने मोटर २ एच्.पी., विषादी, बीउ तथा सामग्री ढुवानी, स्थलगत तालिम (उत्पादन तथा पोष्ट हार्भेष्ट सम्बन्धी), प्राविधिक सेवाटेवा, होर्डिङ बोर्ड, सार्वजनिक सुनुवाइ आदि रहेका छन्।

सबैलाई थाहा भएकै कुरा हो, कुनै एक स्थानमा भएको अभ्यासले यस समाजमा घटेका सबै कुराहरू राम्रा नै हुन्छन् भनेर राम्रा कुराको मात्र प्रतिनिधित्व गर्न सक्दैन।

उक्त कार्यक्रम सञ्चालनका लागि हाल बसन्ते मकैको बीउ वितरण, स्थलगत तालिम सञ्चालन र प्राविधिक सेवाटेवाका कार्यक्रमहरू सञ्चालनमा रहेको र अन्य क्रियाकलापहरू सञ्चालनको तयारी भइरहेको जानकारी प्राप्त भयो। कार्यक्रम अन्तर्गत बसन्ते मकै उत्पादन भइरहेको ठाउँ–ठाउँमा देखिए पनि सघन रूपमा कार्यक्रममा संलग्न कृषकहरूमध्ये ६ जना कृषकहरूले खप्तड बहुमुखी क्याम्पस गौरीगंगा–७ को करिब २५ बिघा जमिन भाडामा लिई हाल एकै ठाउँमा करिब १० बिघा जमिनमा बसन्ते मकै खेतीका साथै करिब ४ बिघा जमिनमा चैते धान खेती भइरहेको पाइयो।

४. कालिका बाख्रापालन सहकारी संस्था लि. गौरीगङ्गा–१

त्यहाँका अति कम आय भएका किसानको बाख्रापालन व्यवसाय राम्रोसँग सञ्चालनमा रहेको पाइयो। एकल रूपमा रहेर बाख्रा पाल्ने किसानहरू आफैंमा समूहमा आवद्ध जस्ता पनि देखिए। सहकारीमा सानो सानो बचत जम्मा पनि भइरहेको र त्यहाँबाट सेयर सदस्य किसानहरूलाई ऋण पनि दिइएको रहेछ। उहाँहरूको कुरा सुन्दा सामुदायिक वनका कारण चरन क्षेत्र साँघुरिएको एवम् बिक्रीमा बिचौलियाको भर पर्नुपर्ने अवस्था रहेकोले यो व्यवसायमा संकट आउन लागेको देखिन्छ। यो बाख्रापालन आफैंमा स्रोत केन्द्रको रूपमा रहेको पाइयो। यस बाख्रापालन व्यवसायबाट प्रति घरपरिवारले वार्षिक लगभग ३ लाखसम्म आम्दानी गर्न सफल भएको सुन्न पाइयो।

गौरीगंगा नगरपालिकाको वडा नं ४ मा रहेको चेककत्ला मुक्त कमैया शिविर एवम् त्यहाँकै वडा नं ५ मा रहेको हिमाल डेरी उद्योगबाट भए–गरेका कार्यहरू पनि अनुकरणीय नै लागे। यिनले पनि कुनै न कुनै खालका सकारात्मक कथा बोकेकै छन्।

के सिक्यौं त ॽ

सबैलाई थाहा भएकै कुरा हो, कुनै एक स्थानमा भएको अभ्यासले यस समाजमा घटेका सबै कुराहरू राम्रा नै हुन्छन् भनेर राम्रा कुराको मात्र प्रतिनिधित्व गर्न सक्दैन। एक जनाले गरेको काम उही रूपमा अर्कोले गर्न नसक्न पनि सक्छ। काम उही रूपमा गर्न सम्भव नहुन पनि सक्छ। हामीले यस्ता कामलाई सबै स्थानमा लैजान सकिन्छ भन्न पनि सक्दैनौं। तर यिनबाट केही सिक्न भने सकिन्छ। यस कार्यबाट सकारात्मक कामहरू खोजी गर्ने कार्यमा केही सहयोग पुग्न सक्छ। यस्ता सकारात्मक कार्यबाट केही गर्न चाहनेहरूलाई थप हौसला पुग्न सक्छ। कसैलाई केही मात्रामा भए पनि सिक्नमा सहयोग पुग्न सक्छ।

हुनत यो अनुगमन त हो नि भन्न सकिएला। त्यति मात्र पनि होइन। बिदाको दिनमा केही भए पनि सिकौं भनेर सुरू गर्न लागेको प्रयास हो। कोही कसैलाई निर्देशन दिनका लागि गरिएको प्रयास होइन। सफल कथाहरू खोजी गर्न गरिएको प्रयास हो। एकै पटकका भेटमा सबै कुराहरू थाहा नहुन सक्छ। यी घटनाहरूसँग जोडिएका व्यक्ति वा समूहका अन्य पाटाहरू पनि हुनसक्छन्। यिनको विगत पनि आ–आफ्नै खालका हुनसक्छन्। ती सबै आ–आफ्नै स्थानमा छन् नै। तर छोटो समयको भेटघाट, अवलोकन एवम् अन्तरक्रियाबाट हासिल भएका सिकाइलाई मात्र लिपिबद्ध गर्ने प्रयास यसमा गरिएको छ। बाहिरी आवरणमा देखिएका कुराहरूका आधारमा सिकाइ लेखिएको छ। अझ बढी जानकारी हासिल गर्न थप र गहन अध्ययन चाहिन सक्छ।

  • कृषि उत्पादनका लागि व्यक्तिलाई जग्गा–जमिन चाहिन्छ नै तर सोभन्दा पनि महत्वपूर्ण केही गरौं भन्ने भावना रहेछ। थोरै जग्गामा राम्रो उत्पादन गरेको पनि भेटियो भने ठूलो फार्म वा जग्गालाई सदुपयोग गर्न नसकेको पनि पाइयो। यसमा भित्रैदेखि आकर्षित गर्ने कसरी ? जग्गा हुनेलाई बाध्यकारी रूपमा खेती गर्ने कार्यमा कसरी लगाउने ? यी विषय महत्वपूर्ण रहेछन्।
  • साना किसान जो आफैंले नङ्ग्रा खियाएका छन्, उनीहरू तुलनात्मक रूपमा खुसी देखिए, ठूला किसान भन्नेहरूका तुलनामा। साना किसानहरू आफ्नै खेतीपातीमा संलग्न रहेको पाइयो। सरकारको सानो सहयोगलाई उनीहरूले ठूलो सहयोग र गुनको रूपमा लिएको पाइयो।
  • लगानी र कार्यक्षेत्रका हिसाबले ठूला भनिएका किसानहरूमा असन्तोषको मात्रा बढी देखियो। उनीहरू किसान भनिए पनि आफू काममा संलग्न नहुने, आफ्नो भन्दा सरकारको कमजोरी बढी देखाउने, सरकारसँग बढी आशा गर्ने प्रवृत्ति देखिए।
  • उत्पादक र उपभोक्ताको बीचमा रहेका बिचौलियाको भूमिका कुनै सन्दर्भमा उपयोगी पनि पाइयो जसले उत्पादन बजारसम्म पुर्‍याउन सहयोग गर्ने रहेछ।
  • उत्पादकहरू उत्पादन समयमा बिक्री नहुने समस्या पनि देखियो। यसमा मझौला खालका उद्यमीहरू बढी मर्कामा परेको पाइयो।
  • मझौला र ठूला खालका उद्यमीहरूले आधुनिक सफ्टवेयरको प्रयोग गर्न नसकेको हुनाले अभिलेख व्यवस्थापन परम्परागत ढाँचामा राख्ने गरेको पाइयो।
  • कृषि अनुदानको प्रभावकारिता साना किसानमा बढी देखियो। मझौला खालका किसानका गुनासा धेरै रहे। अझ बढी गुनासा र आक्रोश त ठूला किसान भनिएकाहरूको रह्यो।

अब के गर्ने त ॽ

मुलुकको विकासका लागि सर्वप्रथम उत्पादन बढाउनुपर्छ। तीन तहका सरकारका आ-आफ्नै जिम्मेवारी रहेको भए तापनि जनतासँग प्रत्यक्ष रूपमा जोडिएका विषयमा स्थानीय सरकारले अझ बढी भूमिका खेल्न सक्ने देखियो। जनशक्ति, स्रोत र साधनको कमीका कारण स्थानीय सरकारको काम प्रभावकारी बनाउन सबैको ध्यान चाहिने देखियो। यसलाई सबल बनाउनेतर्फ ध्यान दिनुपर्ने देखियो। कतिपय सन्दर्भमा टाठाबाठाहरूले तीनवटै सरकारबाट अनुदान लिन सक्ने सम्भावना पनि देखियो।

उत्पादन बढाउन भएको जग्गा–जमिन बाँझो राख्न नहुने बाध्यकारी व्यवस्था चाहिने रहेछ। हामीले घुमेका समुदायका धेरै घरमा घर वरिपरि तरकारी लगाएको देखिएन। खेतको बीचमा सिङ्गो घर छ। साथमा आफ्नै केही जग्गा पनि छ तर यी जग्गा पनि बाँझै छ। यस्ता घरहरूले पनि केही तरकारी लगाउने हो भने उत्पादनमा सहयोग पुग्नुका साथै हरियालीयुक्त वातावरण निर्माणमा पनि सहयोग पुग्छ नै।

साना किसानका लागि आफ्ना आवश्यकता पूरा गर्न बालीमा विविधीकरण उपयोगी हुने रहेछ। यसबाट घर खर्च पनि चल्ने र केही बिक्री गर्न पनि पाइने। मझौला किसानलाई व्यावसायिकतर्फ लगाउन उपयुक्त देखिन्छ।

उत्पादन र बजारको उपलब्धता सबैभन्दा महत्वूर्ण देखियो। भ्यालुचेन निर्माण गर्न सहयोग गर्नुपर्ने देखियो। साथै पशु र बालीनालीको बीमालाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

मुलुकमा ठूला–ठूला कुरा गर्नुभन्दा हरेक घरपरिवारलाई स-साना उत्पादनका काममा बाध्यकारी बनाउने वा उत्प्रेरित गर्न सके अहिले भइरहेको आयातको ठूलो हिस्सा एक वर्षमै उल्लेख्य मात्रामा घटाउन सकिन्छ जस्तो लाग्छ।

समाजमा थुप्रै राम्रा काम भएका हुन सक्छन्। तिनबाट धेरैले सिक्न सक्छन्, तिनलाई उजागर गर्नेको खाँचो छ। समाजमा भए–गरेका जुनसुकै क्षेत्रका भए पनि राम्रा काम उजागर गर्ने प्रयासमा लाग्दा हानि कसैलाई पनि पुग्दैन।

सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखक नेपाल सरकारका सचिव हुन्। यहाँ व्यक्त विचार उनका निजी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?