+
+

म्यानपावर व्यवसायीलाई मन्त्रीको आग्रह : भिजिट भिसामा विदेश नपठाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १८:२२

१७ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालीलाई भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा नपठाउन आग्रह गरेका छन् ।

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले भिजिट भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नुपर्ने धारणा राखे ।

‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन् । त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस्’, उनले भने ।

भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीले नेपालीलाई नै ठगी गरिरहेको मन्त्री अर्यालले बताए । ‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली । तपाईहरु आफ्नै छातीमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस् । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारवाही गर्छ । म कसैको ढोका ढकढकाउनु जानुपर्दैन’, उनले भने ।

वैदेशिक रोजगार व्यवसायीहरु जिम्मेवार भएमा वैदेशिक रोजगारको क्षेत्र मर्यादित, व्यवस्थित र पारदर्शी हुने मन्त्री अर्यालको भनाइ छ ।

त्यस्तै, मन्त्री अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा बार्षिक दुई खर्ब भन्दा बढी रकम गैरबैकिङ च्यानलबाट संकलन भएको तथ्यांक आफूले पाएको बताए । यसलाई औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैज्ञानिक रुपमा वैदेशिक रोजगारी शुल्क तोकिनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, वैदेशिक रोजगार व्यवसायीले एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पनि पुनरावलोकन गर्नुपर्ने लगायतका माग राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?