+
+

सरकारको कमजोरीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएन : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १८:४३

१७ असार, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याबारे अध्ययन गर्न गठित उपसमितिले सरोकारवालासँग छलफल गरेको छ ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमितिले विमानस्थलको स्थलगत निरीक्षणपछि रुपन्देहीका जनप्रतिनिधि र निजी क्षेत्रसँग छलफल गरेको हो ।

छलफलमा बोल्दै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको कमजोरीका कारण विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । प्राविधिक हिसाबले मात्र अन्तर्राष्ट्रिय उडान नभएको भन्ने भनाइ सत्य नभएको भन्दै सरकारको प्राथमिकता नभएर नचलेको पौडेलले बताए ।

पौडेलले भारतबाट एयर रुट पाउनुपर्ने भन्दै यसमा भारतले सहयोग गर्नुपर्ने बताए । बौद्धमार्गीको तीर्थस्थल लुम्बिनीमा बर्सेनि लाखौं पर्यटक विदेशबाट भित्र्याउने उद्देश्यले बनाइएको विमानस्थलको अहिलेको टर्मिनल भवन अन्तर्राष्ट्रियस्तरको नभएकाले अर्को बनाउनुपर्ने र हालकोलाई आन्तरिक बनाउनुपर्ने पौडेलले सुझाए ।

‘विमानस्थल निर्माणसँगसँगै कस्तो मोडालिटीमा चलाउने, विमान कम्पनीलाई आकर्षित गर्न कस्ता सहुलियत प्याकेज ल्याउने भन्ने तयारी नै भएन,’ पौडेलले भने ‘भौतिक पूर्वाधार सम्पन्न भए पनि पूर्ण क्षमतामा सञ्चालन गर्न प्राथमिकता र महत्व नदिएको हुँदा यो अवस्था आएको हो ।’

विमानस्थलभित्र, बाहिर सरकार र निजी क्षेत्रको १ खर्बभन्दा बढी लगानी भएकाले सरकारले विमानस्थल जसरी पनि चलाउने निर्णय गर्नुपर्ने पौडेलले बताए ।

‘भैरहवा एयरपोर्ट ग्राउण्डमै सम्बन्धित मन्त्रालय र सरोकारवालाको मिटिङ राखौँ, व्यवस्थित कार्यपत्र पेश गरेर छलफल गरी निचोड निकालेर पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराउन दबाब दिऔं,’ पौडेलले भने ‘कतिपयले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मिल्दैन, बनाउन हुने थिएन। त्यसैले नचलेको हो भन्ने हल्ला फैलाएका छन्, त्यो सरासर गलत हो, त्यस्ता भनाइप्रति खेद प्रकट गर्छु ।’

विगतमा नागरिक उड्डयन मन्त्रालयले नै भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन प्रायोजित प्रतिवेदन समेत बनाएको र त्यसलाई तत्कालीन लुम्बिनी अञ्चलका २७ जना सांसदले प्रतिवाद गरेर गलत सावित गरेपछि सरकार बनाउने निर्णयमा पुगेको पनि पौडेलले स्मरण गरे । अब छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न समय सीमा तोकेर काम गर्नुपर्ने पौडेलले जोड दिए ।

उपसमिति संयोजक योगेश भट्टराईले उद्घाटन भएको दुई वर्ष पुगिसक्दा पनि अन्तर्राष्ट्रिय हुन नसक्दा निजी क्षेत्रको मनोबल गिरोको बताए । उनले अर्बौं लगानीको प्रतिफल पाउन नसक्दा लगानीकर्तामा चिन्ता र निराशा बढेको बताए ।

भट्टराईले यसलाई संसदमा छलफल र आवश्यक परे अन्तर्राष्ट्रिय विषय बनाएर भए पनि पूर्ण क्षमतामा चलाउनुको विकल्प नभएको बताए ।

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले होटल र पर्यटन क्षेत्रमा करिब ८० अर्ब लगानी गरे पनि प्रतिफल पाउन नसकेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, चना पन्त लगायतले श्रम कार्यालय, स्वास्थ्य परीक्षण, भिसा सेन्टर लगायतका कार्यालय स्थापना नहुँदा एयरलाइन्सहरू आकर्षित हुन नसकेको औंल्याए ।

पर्यटन व्यवसायी सागर अधिकारीले पर्यटक आगमन निराशाजनक हुँदा विमानस्थल लक्षित गरेर खोलिएका भैरहवा क्षेत्रका एक दर्जन होटल बन्द भइसकेको र एक दर्जनभन्दा बढी होटल निर्माणाधीन अवस्थामै रोकिएको बताए ।

छलफलमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, संघीय सांसदहरु वासुदेव घिमिरे, विक्रम पाण्डे, मनिष झा, मन्जु खांण, अमरेशकुमार सिंह लगायतले जग्गाको मुआब्जामा २३ अर्ब र निर्माणमा ७ अर्ब गरी राज्यको ३० अर्ब बढी लगानी भएको विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।

सरकारले ढिलासुस्ती गर्दा व्यवसायीहरू पलायन भइरहेका र सरकारमाथि अविश्वास बढ्दै गएको उनीहरूको भनाइ थियो ।

उपसमितिले आइतबार विमानस्थल निर्माणमा रहेका त्रुटि, उद्देश्य बमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमाका कारण विमानस्थल प्रयोगको चुनौती, निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा जानकारी लिएको थियो ।

२०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा र हिमालयन एयरलाइन्सले नियमित उडान भरे पनि केही महिनामै उडान रोकेपछि विमानस्थलमा आन्तरिक उडान मात्र भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?