+
+

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १८:४७

१७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाउँदै उनले सोमबार रिट निवेदन दायर गरेका हुन् ।

श्रेष्ठले बोर्ड अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि २०८० मा छनोटसम्बन्धी प्रक्रिया रद्द गर्ने व्यवस्था नभएको जिकिर गर्दै प्रक्रिया रद्दले कानुनी मान्यता पाउन नसक्ने रिटमा उल्लेख गरेका छन् ।

अध्यक्ष नियुक्ति प्रक्रियाबारे पुनः सूचना प्रकाशन सम्बन्धमा कुनै काम कारबाही भए बदर गरी पाउन उनले माग गरेका छन् । प्रक्रिया रद्द हुनुअघिका कामकारबाहीलाई यथावत राखी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको नाम सिफारिस गर्नु साथै सोहीको आधारमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नु/गराउनू भनी विपक्षीको नाममा आदेश माग गरेका छन् ।

यसअघि अध्यक्ष सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि प्रक्रिया नै रद्द गरेको थियो । समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले योग्यता पुगेका उम्मेदवारमध्ये तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो । त्यति हुँदाहुँदै सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।

गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेपछि १९ जनाले आवेदन दिएका थिए । समितिले तीमध्ये पाँचको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँच मध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भए ।

तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा। नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?