+
+

ओलीलाई देउवाको प्रस्ताव : प्रधानमन्त्री बन्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते २१:५६

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्ने–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ ।

देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् ।

यद्यपि एमाले र कांग्रेसका शीर्ष नेताहरूले बालकोट भेटबारे धेरै खुलेर बताएका छैनन् ।

सोमबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा नेताहरूले देउवासँग एमाले अध्यक्षसँग भएको भेटबारे सोधीखोजी गरेका थिए । सुरुमा देउवाले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे मात्र छलफल भएको बताएका थिए ।

तर बैठकको अन्त्यमा पनि केही संकेत गरे । कांग्रेस–माओवादी गठबन्धन भएको बेला आफूले एमाले अध्यक्ष ओलीसँग किन दुरी राखेको भनेर स्पष्टीकरण दिए । तर अहिले प्रधानमन्त्री प्रचण्डले नै धोका दिएकाले अब आफूलाई पनि ओलीसँग सम्वाद अगाडि बढाउन आफूलाई समस्या नभएको बताए ।

सौहार्दपूर्ण कुराकानी भएको भन्दै उनले भनेका छन्, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’

देउवा निकट स्रोतका अनुसार देउवा र ओलीको संवाद त्यतिमा मात्र सीमित छैन । देउवाले औपचारिक रूपमै आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेका छन्, त्यसमा एमाले अध्यक्ष ओली पनि सकारात्मक छन् ।

यद्यपि औपचारिक सहमतिको प्रक्रियाहरू पूरा गर्न बाँकी रहेको नेताहरू बताउँछन् । कांग्रेस निकट स्रोत भन्छ, ‘कांग्रेस र एमाले सहकार्य सहितको प्रतिस्पर्धाको बाटोमा जान सहमत भएका छन् । सम्भवत भरेभोलिमा थप प्रष्ट होला ।’

प्रचण्ड पनि ढुक्क

बालकोटको भेटपछि दबाबमा परेका प्रधानमन्त्री प्रचण्डले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । सोमबार बिहान फेरि ओलीसँग भेट गरे ।

बालुवाटारमा करिब तीन घन्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धन कायमै रहनेमा ढुक्क देखिएका छन् । ‘आज प्रधानमन्त्री अरू दिनभन्दा चम्किलो अनुहार लिएर मन्त्रिपरिषद् बैठकमा जानुभएको छ’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘ओलीसँगको भेटमा धितोपत्र बोर्डको अध्यक्ष, मन्त्रिपरिषद् हेरफेर र संक्रमणकालीन न्याय लगायत विषयमा सहमति बनेको छ ।’

प्रधानमन्त्री प्रचण्डले धितापत्र बोर्डको अध्यक्षमा आफ्नो रुचि नरहेको र कसैले खेलेको स्पष्ट पार्दै ओलीको रोजाइका पात्रलाई बनाउन आफू तयार भएको बताएका छन् । ओलीले परराष्ट्र मन्त्रालयमा अत्यधिक रुचि देखाएको भन्दै प्रचण्ड यो मन्त्रालय छाड्न पनि आफू तयार रहेको उनले बताए ।

‘सबैभन्दा महत्वपूर्ण कुरा त, शान्ति प्रक्रियाको बाँकी काम सक्न पनि एमाले अध्यक्ष ओली राजी हुनुभएको प्रधानमन्त्रीले हामीलाई बताउनुभयो’ स्रोत भन्छ ।

दिनभरको घटनाक्रम हेर्दा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीसँग मिलेर नयाँ सरकार बन्नेमा आशावादी देखिएका छन् । माओवादीका अध्यक्ष प्रचण्ड पनि ओलीले आफूलाई समर्थन जारी राख्नेमा ढुक्क जस्तै देखिएका छन् ।

निर्णायक भूमिकामा रहेका एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जारी राख्छन् कि कांग्रेसको समर्थनमा आफैं प्रधानमन्त्री हुने बाटो रोज्छन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?