+

काठमाडौं किकर्समा प्रशिक्षक नविन न्यौपानेको पुनरागमन

२०८१ असार  १७ गते २०:३१ २०८१ असार १७ गते २०:३१
काठमाडौं किकर्समा प्रशिक्षक नविन न्यौपानेको पुनरागमन

१७ असार, काठमाडौं । नेपाली फुटबलका अनुभवी प्रशिक्षक नविन न्यौपाने काठमाडौं किकर्स फुटबल एकेडेमी फर्किएका छन् ।

उनले सोमबार काठमाडौं किकर्ससँग युवा खेलाडीको समग्र विकास र किकर्सको सिनियर टोलीको जिम्मेवारी सम्हाल्ने गरी सम्झौता गरेका हुन् ।

काठमाडौं किकर्स फुटबल एकेडेमीको सुरुवात हुँदा न्यौपाने प्रशिक्षक थिए । यो सम्झौताअनुसार उनी कम्तीमा पाँच वर्ष अनुबन्धमा रहने छन् ।

युवा खेलाडीहरुलाई उच्चस्तरको प्रशिक्षणसहित नेपाली फुटबलको विकासमा योगदान पुराउने उद्देश्यसहित सुरु भएको काठमाडौं किकर्सले विभिन्न उमेर समूहमा युवा खेलाडीहरुको प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ ।

किकर्सको टोलीले गत महिना मात्रै जर्मनीको माम्मेन्डोर्फमा भएको युथ फुटबल लिगअन्तर्गत यू १३ तर्फको उपाधि जितेको थियो ।

क्लबले नेपाली फुटबलको अनुभवी प्रशिक्षकको साथले आफ्नो अभियान अझ मजबुत बन्ने विश्वास गरेको छ । ‘हामीले फुटबल खेलाडीहरूको वृद्धि विकासका लागि एउटा केन्द्र बन्न सकोस् र जसले गर्दा उनीहरूको खेल जीवन र व्यक्तिगत जीवन दुवैमा सफलता मिल्न सकोस् भन्ने उद्देश्यले काठमाडौं किकर्स फुटबल एकेडेमीको सुरुवात गरेका हौं,’ एकेडेमीका अध्यक्ष नविन पाण्डेले भने, ‘नविन जी जस्तो अनुभवी प्रशिक्षकको साथले हामी हाम्रो यो लक्ष्यमा सफल हुने छौं ।’

एकेडेमीका निर्देशक आशिष अघिकारीले पनि अध्यक्ष पाण्डेको भनाइमा सहमत जनाए । ‘हामी नेपाली फुटबलको लिग संरचनामा पनि प्रवेश गर्ने योजनामा छौं । त्यससँगै हाम्रा युवा खेलाडीको समग्र विकासमा प्रशिक्षक न्यौपानेको आवद्धताले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका छौं,’ सम्झौतापछि एकेडेमीका निर्देशक आशिष अधिकारीले भने, ‘हामी हाम्रो एकेडेमी परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा खुसी छौं ।’

प्रशिक्षक न्यौपानेसँग मनाङ मर्स्याङ्दी, नेपाली सेनालगायत ठूला टोलीहरुलाई घरेलु उपाधि दिलाएको अनुभव छ ।

प्रशिक्षक न्यौपानेले समेत किकर्ससँगको अनुबन्धमा खुसी व्यक्त गरे । ‘फुटबल विकासका लागि युवामा लगानी गर्न आवश्यक छ । काठमाडौं किकर्सले नयाँ सोचसहित एकेडेमीको सुरुवात गरेको छ । छोटो समयमै त्यसको नतिजा पनि देखिन थालेको छ । हालै मात्रै पनि किकर्सको टोलीले जर्मनीमा गएर उपाधि जित्यो,’ प्रशिक्षक न्यौपानेले भने, ‘किकर्ससँगको अनुबन्धले आफूसँग भएको ज्ञान युवा खेलाडीसम्म पुर्‍याउने अवसर मिल्ने विश्वास गरेको छु ।’

काठमाडौं किकर्स नविन न्यौपाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय