+
+

ओलीले प्रचण्डसँग बिच्किंदै भनेका थिए, ‘म हजुरका जुनाफमा चढाउँला’

ओली–प्रचण्ड तिक्तताको निर्णायक दिन, जहाँबाट प्रतिपक्षी कांग्रेसले पनि सत्ता गठबन्धनभित्र खेल्ने स्पेस छ भनी प्रत्यक्ष थाहा पायो ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ असार १७ गते १०:०१

१७ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष केपी ओली बिच्किनलाई पहिल्यै यथेष्ट कारण थिए । गत बुधबारको बालुवाटार बैठक निर्णायक घुम्ती बन्यो, जहाँ उनीहरुबीच सौहार्दता अरु बिग्रियो ।

त्यस दिन प्रधानमन्त्री प्रचण्डले सरकारी निवासमा कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेता डाकेका थिए । संक्रमणकालीन न्यायका एजेन्डा टुंग्याउने छलफलमा तत्–तत् पार्टीका कानुनवेत्ता सांसद पनि सहभागी थिए । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयकमा रहेका असमझदारी टुंगो लगाउन ठूला तीन दलबीच सहजीकरण संयन्त्र गठन गर्ने विषयमा छलफल चल्दै थियो ।

त्यसै बीचमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीतिर हेर्दै भने, ‘निकै लामो समय यसैमा बहस गरेर गयो भन्ने छ । अब टीआरसी टुंग्याउँ ।’

देउवाले भने, ‘टुंग्याउँ भने टुंग्याउँ । यसमा कसको फरक कुरा छ र ?’

प्रचण्डले त्यसपछि केही मिनेट बोले । सहभागी नेताहरुका अनुसार उनको समग्र भनाइको सार चाहिं एमाले तयार भयो भने तुरुन्तै सबैथोक मिल्छ भन्ने थियो । खासगरी सहजीकरण संयन्त्रको संयोजक शीर्ष तहबाट बसिदिने हो भने अन्योल लामो जाँदैन भन्नेमा उनले जोड दिए ।

प्रचण्डले आफ्नो मनको कुरा नलुकाई प्रस्ताव राखे, ‘बरु ओलीजीले पो यसलाई नेतृत्व गरिदिने हो कि ? त्यसो गर्दा मतभेदहरु पनि छिटो सल्टिन सक्छन् ।’

प्रचण्डको कुरा सुन्नेबित्तिकै ओली रनक्क रन्के, किनभने त्यस्तो संयन्त्रले गर्ने काम र तयार पार्ने दस्तावेज सरकारलाई बुझाउनुपर्ने हुन्थ्यो । त्यो कामका लागि ओली उपयुक्त पात्र हुन सक्दैनथे । दोस्रो तहका नेता त्यसै कारणले बोलाइएको थियो ।

प्रचण्डको शैलीसँग पूरापूर बिच्किएका ओलीले करिब एक दर्जन नेताहरुको बीचमा जवाफ फर्काए, ‘अँ भइहाल्छ नि, म घुँडा धसेर प्रतिवेदन लेखुँला । अनि किस्तीमा राखेर हजुरका जुनाफमा चढाउँला ।’

पाँच दिनअघिको यो तिक्तता सम्झँदै एक माओवादी नेताले सुनाए, ‘ओलीजीलाई होच्याउने हाम्रो अध्यक्षको नियत थियो जस्तो लाग्दैन, तर उहाँले एकदमै नमिल्ने प्रस्ताव राख्नुभएको थियो । ओलीजीले तुरुन्तै जवाफ दिंदा उहाँको अनुहार कालोनीलो भइहाल्यो ।’

प्रचण्डले केही भएको छैन झैं पारामा उनलाई थुम्थुम्याउन खोजे पनि ओली सम्हालिएनन् । उनले सरकार र यसका प्रमुखका रुपमा प्रचण्डको कार्यशैली आफूलाई किन मन परेको छैन भन्नेबारेमा कति कुरा शब्द मार्फत र कति कुरा भावभंगिमा मार्फत दिए । कांग्रेसका कृष्ण सिटौला, रमेश लेखकहरुले त्यसपछिको बैठक सामान्य रुपमा अघि बढ्न नसकेको निकटस्थलाई सुनाएका थिए ।

सहभागी नेताहरुले सुनाए अनुसार शान्ति प्रक्रियाका मुद्दामा ओलीले आफूलाई अझै पनि दबाबमा राखेर फाइदा उठाउन खोजिरहेका हुन् कि भन्ने आशंका सहित प्रचण्ड प्रस्तुत भएपछि स्थिति नै भाँडियो ।

‘प्रधानमन्त्रीले हाम्रो अध्यक्षलाई ह्युमिलिएट गर्नुभयो, आफ्नो साइज हेर्नुभएन, आफू कसका कारणले प्रधानमन्त्री छु भन्ने सामान्य कुरा पनि ख्याल गर्नुभएन’ बैठकमा सहभागी एमाले नेताले सुनाए, ‘माओवादीसँग हाम्रो सम्बन्ध यसै पनि सहज थिएन, त्यो दिनदेखि झन् बिग्रियो । देउवाजी पनि चकित परेर हेर्नुभयो ।’

आखिरमा कानुनी प्रावधानहरुबारे न्यूनतम जानकारी राख्ने सांसद भए हुने संयन्त्रका लागि ओलीको नाम लिने हुँदा प्रचण्डले निकै ठूलो प्रतिवाद झेल्नुपर्‍यो ।

यसै बीचमा शनिबार पत्नी आरजुसहित ओली निवास पुगेका देउवाले प्रधानमन्त्री बन्न राखेको प्रस्तावले सत्ता राजनीति तरंगित छ ।

उनीहरुको खुसामदसँग झस्केका प्रधानमन्त्री प्रचण्डले ओलीसँग आइतबार र सोमबार लगालग दुई लामा बैठक राखे । शनिबार राति आफ्नो पार्टीका वरिष्ठ नेतामध्ये केहीलाई फोन गर्दै प्रचण्डले सुनाएका थिए, ‘देउवाजीले प्रस्ताव गर्नुभयो, ओलीजीले स्वीकार गर्नुभयो । एमालेसँगको हाम्रो समझदारी अब सक्कियो ।’

ती पदाधिकारीमध्ये एक जनाले अनलाइनखबरसँग कुरा गर्दै पर्याप्त सावधानी नअपनाउँदा उपलब्धि गुम्ने दिशातर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेससँग आम चुनाव लडेर एमालेसँग मिली सरकार गठन गरे पनि त्यसयता कांग्रेससँग र एमालेसँग फेरि पटकपटक गठबन्धन बदल्दा नेतृत्वप्रति प्रश्न उठेको उनको भनाइ थियो ।

‘नाटकीय ढंगले ओलीजी पछि फर्कनुभयो भने बेग्लै कुरा, नत्र अब हामी प्रतिपक्षमा पुग्ने भइयो’, ती माओवादी नेताले सुनाए ।

यद्यपि प्रचण्डले सोमबारको क्याबिनेट बैठकमा आफ्ना मन्त्रीहरुलाई ढुक्क भएर काम जारी राख्न आग्रह गरेका छन् । गठबन्धन लामै जाने भन्दै उनले तलवितल आइपरे पनि एमालेसँगको समझदारीमा फरक नपर्ने बताए ।

ओली बुधबारको बालुवाटार बैठकका कारण प्रधानमन्त्री प्रचण्डसँग बिच्के पनि उनी चिढिने पृष्ठभूमि पहिल्यै तयार थिए । अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटप्रति ओलीले खुला आपत्ति जनाइरहेका छन् ।

कतिपय परियोजनाका लागि प्रतिपक्षी कांग्रेससँग समेत छलफल गर्न मन्त्री भ्याएको आरोप लगाउँदै एमालेले त्यही सल्लाह सत्ता साझेदार आफूसँग नगरिएको आरोप लगाएको छ । ओली स्वयंले बजेटमा जनयुद्धको धङधङी राखेर ‘लाल बजेट’ बनाएको आरोप लगाएका छन् ।

त्यसका अलावा धितोपत्र बोर्ड छनोटमा ओलीले चाहेका प्रतिनिधि पन्छाउन सरकारले नियुक्ति प्रक्रिया नै रद्द गरिएको भन्दै एमाले नेतृत्वले चर्को रोष प्रकट गरेको छ ।

आइतबार एमाले कृषि विभागले च्यासलमा गरेको कार्यक्रममा ओली आफैंले बोलेका थिए, ‘मैले प्रधानमन्त्रीलाई नियुक्ति, सरुवा बढुवा होइन, पोलिसी म्याटरको छलफल गरौं भनेको थिएँ, कुन क्षेत्रमा कस्तो नीति लिने छलफल गरौं भनेको हो । तर उहाँको शैली कस्तो भने, कुरा सुन्यो सुन्यो, सिध्दियो ।’

ओलीले केवल प्रचण्डलाई दबाबमा राख्नमात्रै देउवा कार्ड खेलिरहेको बुझाइ पनि राजनीतिक वृत्तमा छँदैछ । प्रचण्डले आफूसँग म्याजिक कार्ड छ भन्दै सुविधाजनक तेस्रो हैसियत ‘इन्जोय’ गर्न थालेपछि ओली दिक्क भएका थिए ।

बुधबार अर्थात् ओली–प्रचण्ड तिक्तताको निर्णायक दिन, जहाँबाट प्रतिपक्षी कांग्रेसले पनि सत्ता गठबन्धनभित्र खेल्ने स्पेस छ भनी प्रत्यक्ष थाहा पायो । त्यस अगावै सुरु भएका कांग्रेस र एमाले नेताहरुबीचका भेटघाट झन् झन् बाक्लिन थाले ।  प्रचण्ड र ओलीबीच भत्किंदो विश्वास फेरि जोडिन्छ कि जोडिंदैन भन्ने प्रश्नको जवाफ कुर्न लामो समय चाहिने देखिंदैन ।

सम्भवतः केही दिनभित्रमा ओलीले आफ्नो नयाँ राजनीतिक कोर्स स्पष्ट गर्ने एमाले पंक्तिको बुझाइ छ । एक शीर्षस्थ नेताले सुनाए, ‘अहिले सबै कुरा नभनौं, तर त्यस्तो समय तुरुन्तै आउन पनि सक्छ ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?