+
+

खुसी कारखाना : जहाँ कोरियाली अभिभावकले आफैंलाई थुनिरहेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ७:०७

खुसी कारखाना (ह्याप्पीनेस फ्याक्ट्री) का हरेक साना कोठाहरूलाई बाहिरी दुनियासँग जोड्ने एउटा मात्र चिज भनेको ढोकामा भएका खाना खाने प्वालहरू हुन् ।

ती कोठाहरूभित्र फोन तथा ल्यापटप लैजान पाइँदैन । कोठाको आकार भण्डारकोठाको दराजभन्दा ठुलो छैन र त्यहाँ साथी भनेकै नांगा भित्ताहरू हुन् ।

त्यहाँका बासिन्दाहरूले कैदीले लगाउने जस्तै निलो रंगका पोशाक लगाउँछन्, तर उनीहरू कैद होइनन् । उनीहरू बन्दी अनुभवका लागि दक्षिण कोरियाको उक्त केन्द्रमा आएका हुन्।

त्यहाँ आउने अधिकांशको एकजना बच्चा छ, जो समाजबाट पूर्णरुपमा अलग्गिएका छन् र दुनियाँबाट पूर्णरुपमा विच्छेद हुँदा कस्तो अनुभूति हुन्छ भन्ने जान्नका लागि त्यहाँ आएका हुन् ।

एक्लो बन्दी कोठा

त्यहाँका बासिन्दाका बच्चा जस्तै एकान्तप्रिय बच्चाबच्चीहरूलाई हिकिकोमोरी भनिन्छ । सन् १९९० को दशकमा जापानमा प्रचलित यो शब्दले समाजबाट अलग्गिएका किशोरकिशोरी र युवायुवतीलाई जनाउँछ ।

दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले गत वर्ष १९ देखि ३४ वर्ष उमेरका १५ हजार युवामा गरेको सर्भेक्षणमा ५ प्रतिशतले आफूलाई अलग्याएको पाइएको थियो ।

यदि यसलाई दक्षिण कोरियाको समग्र जनसंख्यासँग तुलना गर्ने हो भने ५ लाख ४० हजार दक्षिण कोरियालीहरू यस्तो परिस्थितिबाट गुज्रिरहेका छन् ।

गत अप्रिलदेखि दक्षिण कोरियाली अभिभावकहरू कोरिया युथ फाउन्डेसन र ब्लु ह्वेल रिकभरी सेन्टर नामक गैरसरकारी संस्थाहरूद्वारा सञ्चालित १३ हप्ते अभिभावक शिक्षा कार्यक्रममा सहभागी भैरहेका छन् ।

यो कार्यक्रमको उद्देश्य भनेको आफ्नो सन्तानहरूसँग कसरी सञ्चार गर्ने भनेर अभिभावकहरूलाई सिकाउनु हो ।

उक्त कार्यक्रमअन्तर्गत गांगओन प्रान्तस्थित होंगचिओन गनमा रहेका उल्लेखित कोठाहरुमा तीन दिनसम्म बिताउनुपर्नेछ, जो एक्लो बन्दीकोठा जस्तै छन् । यस्तो अलगावले अभिभावकहरुालई आफ्ना बच्चाहरुको बारेमा गहिरोसँग बुझ्न सहयोग गर्नेछ ।

संवेगात्मक जेल

जिन योंग हे का छोराले तीन वर्षदेखि आफूलाई आफ्नो बेडरुममा सीमित गराएका छन् ।

तर, बन्दी कोठामा समय व्यतीत गरेपछि जिनले आफ्नो २४ वर्षीय छोराको संवेगात्मक जेलको बारेमा केही राम्रोसँग बुझ्ने अवसर पाएकी छिन् ।

५० वर्षीया जिन भन्छिन्- मैले के गलत गरेछु भन्नेमा अचम्म लाग्छ । यो कुरा सोंच्दा पनि पीडा हुन्छ। तर यो विषयमा बुझ्न थालेपछि मलाई केही प्रष्टता हासिल भयो ।

कुराकानी गर्न अनिच्छा

जिनका अनुसार उनका छोरा निकै मेधावी थिए र उनीप्रति बाबुआमाको ठूलो अपेक्षा थियो ।

तर, छोराचाहिं प्रायः बिरामी भैरहने, साथी बनाउन र टिकाउन नसक्ने तथा खाना खानेसम्बन्धी समस्या समेत देखिएपछि विद्यालय जानै कठिन भयो ।

यद्यपि विश्वविद्यालयमा जान थालेपछि भने छोराले एउटा त्रैमासिकमा राम्रो गरे । तर त्यसपछि चाहिं पढाइ नै छाडे ।

छोरालाई कोठाभित्र थुनिएर बसेको, व्यक्तिगत सरसफाइ र खानपानमा पनि ध्यान नदिएको देख्दा उनी मर्माहत भइन् ।

सायद एन्जाइटी, परिवार र मित्रहरुसँगको सम्बन्धमा समस्या र राम्रो विश्वविद्यालयमा भर्ना हुन नपाएका कारणले छोरालाई असर गरेको हुनसक्थ्यो, यद्यपि यसबारेमा छोराले कहिल्यै पनि उनीसँग कुरा गरेनन् ।

जब उनी सुख कारखानामा आइन् उनले छोराजस्तै अन्य एक्लिएका युवायुवतीहरूले लेखेका पत्रहरु पढिन्।

उनले भनेकी छन्- ती नोटहरू पढ्दा मलाई अनुभूति भयो कि उसले आफूलाई मौन भएर संरक्षण गरिरहेको छ किनकि कसैले पनि उसलाई बुझ्दैन।

पार्क हान सिल आफ्नो २६ वर्षे छोराका लागि त्यहाँ आएकी हुन्ज, सले ७ वर्ष अघिबाट सबैसँगको सम्पर्क विच्छेद गरेका थिए ।

यसअघि धेरैपटक घर छाडेर भागेका उनी अहिले पनि बिरलै मात्र आफ्नो कोठाबाट बाहिर निस्किन्छन् ।

पार्कले छोरालाई परामर्शदाता र डाक्टरकोमा पनि लगिन् । छोराले मानसिक स्वास्थ्यको उपचारका लागि डाक्टरले दिएका औषधि खान मानेनन् अनि भिडियो गेमको लतमा फसे ।

अन्तरवैयक्तिक सम्बन्ध

पार्कले अझै पनि आफ्नो छोरासँग राम्ररी कुराकानी गर्न सकेकी छैनिन् । तर, अलगाव कार्यक्रममार्फत् उनले छोराको अनुभूतिहरू राम्रोसँग बुझ्न सुरु गरेकी छिन् ।

उनी भन्छिन्- उसलाई कुनै खास साँचोमा ढाल्नका लागि दबाब दिनुको साटो छोराको जीवनलाई स्वीकार गर्नु महत्वपूर्ण छ भन्ने कुरा मैले अनुभूति गरेकी छु।

दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार किशोरावस्था तथा युवाहरूले आफूलाई एक्लाउनका लागि उत्प्रेरित गर्ने विभिन्न तत्वहरु छन् । जसमा रोजगारी पाउनमा कठिनाइ, वैयक्तिक सम्बन्धमा समस्या, पारिवारिक समस्या र स्वास्थ्य समस्या मुख्य हुन् ।

दक्षिण कोरिया सर्वाधिक आत्महत्यादर भएका मुलुकमध्ये एक हो र गत वर्ष सरकारले यो समस्यालाई सम्बोधन गर्नका लागि पञ्चवर्षीय योजनाको घोषणा गर्‍यो ।

सरकारले २० देखि ३४ वर्ष उमेरका हरेक नागरिकलाई दुई/दुई वर्षमा निशुल्क मानसिक स्वास्थ्य परीक्षणको घोषणा गरेको छ ।

जपानमा सन् १९९० को दशकमा चलेको युवा अलगावको पहिलो लहरका कारण अधबैंशे मानिसहरू पाको उमेरका अभिभावकमा आश्रित बनेका थिए । प्रौढ सन्तानहरुलाई आफ्नो पेन्सनको भरमा पाल्नुपर्दा धेरै जापानी वृद्धवृद्धाहरु डिप्रेसन र गरिबीमा परेका थिए ।

विज्ञहरूका अनुसार सन्तानको उपलब्धिलाई अभिभावकको सफलता ठान्ने अवधारणाले सम्पूर्ण परिवारलाई नै अलगावको दलदलमा पर्‍याउँछ । साथै धेरै अभिभावकले आफ्नो सन्तानको समस्यालाई उनीहरूको लालनपालनमा असफलताको रुपमा लिन्छन्, जसले उनीहरुलाई अपराधबोध गराउँछ ।

खुसीको पर्खाइ

सुख कारखानामा गुहार माग्दै आएका अभिभावकहरू अझै पनि आफ्ना समस्याग्रस्त सन्तानहरू सामान्य जीवनमा फर्किने दिनको पर्खाइमा छन् ।

यदि तपाईंको छोरा एकान्तबासबाट बाहिर निस्कियो भने के भन्नुहुन्छ ? भन्ने प्रश्नमा जिनले गहभरी आँसु पार्दै भनिन् – धेरै दुःखपूर्ण अवस्थाबाट गुज्रियो । निकै कठिन भयो । सायद केही पनि बिग्रेको छैन भन्नेमा म ढुक्क हुन्थें।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?