+
+

धनुषाको मठेश्वरनाथ मन्दिर उत्खनन् गर्दा भेटियो लिच्छविकालीन अवशेष

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ९:१२

१८ असार, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-६ गोविन्दपुरमा आठौं/नवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु फेला परेका छन् ।

मठेश्वरनाथ मन्दिरको पुरातत्व विभागले उत्खनन् गर्दा सयौं वर्ष पुरानो लिच्छविकालीन अवशेषहरू फेला परेका हुन् ।

सबैला नगरपालिकाको पहलमा पुरातत्वविद् प्रकाश दर्नालसहित पुरातत्व विभागको तीन सदस्यीय टोलीले असार ७ गतेदेखि प्राचीन मन्दिरको भगनावशेषको उत्खनन् सुरु गरेको थियो ।

उत्खननका क्रममा लिच्छविकालीन शिलालेख र सिक्कासहितका प्रमाणहरू भेटिएका छन् । शिलालेखमा लिच्छवि शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएकाले मन्दिरको अवशेष आठौं/नवौं सताब्दीतिरको हुन सक्ने अनुमान गरेको पुरातत्वविद् दर्नालले बताए ।

उनका अनुसार अहिलेसम्म दुई वटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिङ, मन्दिरको माथिको सरफेशमा भारतीय र नेपाली सिक्काका भेटिएको छ । ‘पत्थरमा लेखिएको ‘माना’ अक्षर हेर्दा लिच्छविकालीन देखिन्छ । अरु अक्षर खिइसकेको छ । त्यो महत्वपूर्ण कुरा हो । अन्य भेटिएको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ,’ उनले भने ।

उत्खनन् जारी छ र अवशेषहरू भेटिने क्रम पनि जारी छ । स्थानीयका अनुसार यसलाई कुशेश्वरनाथ मन्दिर भन्ने गरिन्थ्यो ।

स्थानीय ७५ वर्षीय शन्त विन्देश्वर यादवका अनुसार चार दशकअघि हेमबहादुर मल्लका भाइ झोपे मल्लले खजाना भेट्न सक्ने भन्दै जीर्ण मन्दिरको भाग तोडफोड र उत्खनन् गराएर अलपत्र छाडिदिएका थिए ।

तोडफोड भएको मन्दिरका पत्थरहरु नजिकका गाउँका मानिसहरूले पनि लगेको स्थानीय शोभित रविदासले बताए ।

रविदासका अनुसार त्यहाँ मठेश्वरनाथको शिवलिंग थियो । जुन गोविन्दपुरमा राखिएको छ ।

यहाँको माटो लगेर दुई किलोमिटर पर सतोषर मन्दिर निर्माण गरिएको रविदासको भनाइ छ । जुन सतोषर पन्ध्रदिने मिथिला मध्यमा परिक्रमाको एक पडाव स्थल हो ।

पश्चिमतर्फको मन्दिरको प्रवेशद्वारबाट उत्खनन् सुरु गरिएको छ । भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ । तल्लो भागमा पत्थरमा एकआपसमा ‘इन्टर लक’ गरिएको छ ।

पुरातत्वविद् दर्नालले भग्नावशेष हेर्दा उत्खनन् गर्दै जाँदा भेटिएको ज्यामितीय आकारको बुट्टा यसअघि कतै नदेखिएको बताए । उनले मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना रहेको बताए ।

मेयर कारीराम यादवले मठेश्वर महादेवको संरचना तोडफोड गरी लगेकाहरुबाट पनि संकलन गरिने बताए । ‘विभिन्न गाउँमा यहाँबाट पत्थर इँटा लगिएको छ । अब नगरपालिकाबाट सूचना जारी गरी संकलन गछौं । र यो अवशेषको संरक्षण सम्वद्र्धन गर्दै यहाँ नयाँ मन्दिर पनि निमार्ण गर्ने हाम्रो योजना छ,’ मेयर यादवले भने ।

आफू जितेर आएपछि स्थानीयको आग्रहमा भगनावशेष मन्दिरको चालु आर्थिक वर्षमा १५ लाख बजेट छुट्याएर पुरातत्व विभागमा पहल गरेर उत्खनन् गराइरहेको उनको भनाइ छ ।

मिथिला महात्मयमा रामायणकालीन चार मन्दि रहेको उल्लेख छ । जसमा मिथिलाका राजा जनकले आफ्नो दरबारको चारैतर्फ चारवटा मन्दिर निर्माण गरेका थिए ।

जसमध्ये जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षिरेश्वरनाथमा क्षिरेश्वरनाथ, भारतको कल्नामा कल्यानेश्वरनाथ रहेको मिथिला महात्मयमा उल्लेख छ । जसमा एउटा मठेश्वरनाथ मन्दिर बिलुप्त छ । त्यो मन्दिर यही हुन सक्ने अनुमान गरिएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?