+
+

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

रासस रासस
२०८१ असार १८ गते १३:२५

१८ असार, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।

बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । पालिकाले त्यस्ता ठाउँमा रहेको घरबास (होमस्टे) को संरक्षण, प्रवर्द्धन, घरबासमा पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।

गाउँपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बन्दीपुर’ सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाएको छ । यसका लागि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला सहरमा उक्त कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।

पर्यटनलाई आम्दानीको मुख्य स्रोत ठान्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने उनले बताए ।

‘विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्कने कार्यक्रम सञ्चालन गर्ने सोचमा छौं,’ उनले भने ।

गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवम् पहाडकी रानीको नामले परिचित बन्दीपुरका छ वटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि बन्दीपुर गाउँपालिकामा पर्यटकीय केन्द्र बनाइने अध्यक्ष थापाले उल्लेख गरे ।

पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ ।

बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका पर्यटकीयस्थलको संरक्षण गर्ने नीति अगाडि सारिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?