+
+

ट्रम्पको पक्षमा अमेरिकी सर्वोच्च अदालतको निर्णय, बाइडेनलाई झड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:४०

१८ असार, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा उनको पक्षमा निर्णय सुनाएको छ ।

जो बाइडेन विरुद्धको चुनावी प्रतिस्पर्धाको बेला ट्रम्पका समर्थकहरूको भिडले संसद् भवनमा घुसेर तोडफोड गरेको मुद्दामा सर्वोच्चले ट्रम्पको पक्षमा निर्णय सुनाएको हो । चुनावको परिणाम उल्टाउन ट्रम्पले आफ्ना समर्थकलाई उकासेर तोडफोडमा उतारेको आरोप सरकारले लगाएको थियो ।

तर आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा पुनः बाइडेनविरुद्ध प्रतिस्पर्धामा उत्रिएका ट्रम्पकै पक्षमा सर्वोच्चले निर्णय सुनाएपछि उनलाई राहत मिलेको र बाइडेनलाई ठूलो झट्का लागेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

संसद् भवनमा भएको तोडफोडको विषयमा आपराधिक मामिलामा मुद्दा नचलाउन अनुरोध गर्दै ट्रम्पले वासिङ्गटनको तल्लो तहको एक अदालतमा अपिल गरेका थिए । तर उक्त अपिल अदालतले खारेज गरिदिएको थियो । यद्यपि तल्लो तहको अदालतको सो निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ ।

यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतले ट्रायल कोर्टमा फर्काइदिएको छ । अब ट्रायल कोर्टमा राष्ट्रपति निर्वाचनपछि सुनुवाइ हुनेछ । यदि ट्रम्पले चुनाव जितेमा यो मुद्दालाई आफ्नो शक्ति प्रयोग गरेर खारेज गरिदिन सक्छन् । त्यसैले सर्वोच्चको निर्णयपछि उक्त मुद्दामा ट्रम्पले राहत पाउने लगभग निश्चित भएको छ ।

बहुमतको आधारमा निर्णय

सर्वोच्चको यो निर्णय न्यायाधीशहरूको बहुमतको आधारमा गरिएको बीबीसीले जनाएको छ । ट्रम्पको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए । विपक्षमा रहेका न्यायाधीशहरू बाइडेन प्रशासनमा नियुक्त भएका थिए । उनीहरूले पक्षमा रहेका साथीहरूले ट्रम्पलाई कानुनभन्दा पनि माथि राखेको टिप्पणी गरेका छन् ।

डोनाल्ड ट्रम्पले सर्वोच्चको निर्णयलाई संविधान र लोकतन्त्रको जित भएको बताएका छन् ।

ट्रम्पको पक्षमा आएको सर्वोच्चको निर्णयलाई ठूलो जितको रूपमा हेरिएको छ । किनकि सारा मिडियाको ध्यान चुनाव आउनु केही महिना अगाडिदेखि उनैप्रति केन्द्रित भएको छ ।

यसैबीच ट्रम्पले अनैतिक सम्बन्धलाई लुकाउन पोर्नस्टार स्टोर्मी डेनिल्सलाई रकम दिएर दबाबमा राखेको सम्बन्धी मुद्दामा यही जुलाई ११ मा अदालतले सजाय सुनाउँदै छ । राष्ट्रपति पदमा भएका बेला गरेको निर्णयमा अदालतले छुट दिए पनि राष्ट्रपति पदमा नभएको बेला गरेका निर्णयमा भने उनले छुट नपाउने कानुन व्यवसायीहरू बताउँछन् ।

पोर्नस्टार डेनिल्सका अनुसार उनी र ट्रम्पबीच शारीरिक सम्पर्क भएको थियो । त्यस घटना सार्वजनिक भए राष्ट्रपति निर्वाचनको बेला विवादमा फसिने भयले ट्रम्पले आफ्ना वकिलमार्फत डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको उनले बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?