+
+

सहकारी ठगीमा जिसस म्याग्दीका प्रमुखकै संलग्नता, बचतकर्ताको डेढ अर्ब जोखिममा

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असार १८ गते १६:३२

१८ जेठ, पोखरा । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब रुपैयाँ हिनामिनामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको पनि संलग्नता रहेको खुलेको छ ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले हालै तयार पारेको यो सहकारीको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड रुपैयाँ हिनमिना भएको छ । जसमा उक्त सहकारीको निवर्तमान उपाध्यक्ष थापा पनि संलग्न रहेको खुलेको छ ।

यो सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको छ ।

सहकारीमा अहिले यमबहादुर रोका अध्यक्ष, सूर्यबहादुर तिलिजा ऋण समिति संयोजक र गेमबहादुर घर्ती लेखा समिति संयोजक छन् । अहिलेको सञ्चालक समितिले अघिल्लो सञ्चालक समिति र कर्मचारीले रकम हिनामिना गरेको भन्द छानबिनको माग गर्दै सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दिएको थियो । २०७९ माघ २८ को अधिवेशनबाट यो कार्यसमिति चुनिनुअघि नै सहकारीमा समस्या आइसकेको थियो ।

सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम अहिले जिसस अध्यक्ष रहेका निवर्तमान उपाध्यक्ष राजकुमार थापा लगायतले गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सहकारीको रकम हिनामिनामा रुद्रबहादुर गुरुङ, गेमबहादुर घर्ती मगर, यामबहादुर रोका, राजकुमार थापा, मनप्रसाद थजाली, रनमती गर्बुजा, गीता थापामगर, देबीकुमारी थापा, दुतकुमारी शेरपुन्जा, थमबहादुर गर्वुजा, नरबहादुर थापा, बालकुमार रोका, दिलबहादुर थापामगर, दिलिप राम्जाली संलग्न रहेको उल्लेख छ ।

विगतका सञ्चालक समिति सदस्य र व्यवस्थापकहरुले ब्यक्तिगत लाभका लागि सहकारीको रकम प्रयोग गर्दा बचतकर्ताहरुले रकम फिर्ता पाउन सकेका छैनन् ।

सम्पत्तिको स्रोत लुकाउन काल्पनिक खाता खोलेर कारोबार गर्ने, विभिन्न नाममा काल्पनिक ऋण तथा पेश्की खाताहरु खोलेर कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । जिसस प्रमुख थापा म्याग्दीमा सञ्चालित बुद्ध एकेडेमीका सञ्चालक हुन् । यही स्कुलका सञ्चालकहरुको सल्लाहमा २०६५ सालमा सहकारी खोलिएको थियो ।

सहकारीको समस्या लुकाउन लेखापरीक्षण प्रतिवेदनसमेत नक्कली तयार पारेको पाइएको प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट करिब ६ हजार बचतकर्ताले रकम फिर्ता पाएका छैनन् ।

राजकुमार थापा र लोकबहादुर पुनको नाममा घर जग्गा किन्न, पोखराको हेम्जामा प्लटिङ गर्न, बेनी नगरपालिका संगम चोकमा मनप्रसाद थजालीको नाममा घरजग्गा किन्न, पर्वतको जलजला माझँफाट ०८ बौरमा राजकुमार र थमबहादुर गर्वुजाको नाममा, बुद्ध एकेडेमी लगायतमा सहकारीको रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख छ ।

बचतकर्ताको बचत हिनामिना गर्ने उद्देश्यले सहकारीको सिस्टममा ब्याजदरसमेत संशोधन गरेको पनि प्रतिवेदनमा जनाइएको छ ।

ऋणी तथा बचतकर्ताहरुबाट उठाएको सेवा शुल्क, राजश्व छली गर्न लुकाउनुपर्ने आम्दानी, कोष तथा नाफा हिनामिनाका रकम छुट्टै खातामा जम्मा गर्ने गरिएको थियो ।

सहकारीलाई पैसा कमाउने थलोको रुपमा प्रयोग गरी विभिन्न मुनाफा तथा कोषहरुको रकम, सहकारीका बचतकर्ताहरुको रकम कसुरजन्य कार्यमा प्रयोग गरेको भन्दै प्रतिवेदनमा विगतका सञ्चालक तथा व्यवसपनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन पनि सुझाव दिइएको छ ।

सञ्चालक तथा व्यवस्थापकले आफू तथा आफू नजिकका व्यक्तिको नाममा ऋण लिने, धितो बिना नै ऋण लिने र पछि सावा ब्याजसमेत नतिरेको पाइएको छ । यस्ता कर्जाको सिस्टममा नै ब्याजदर शून्य प्रतिशत कायम गराएर झण्डै १५ करोड रुपैयाँ रकम दुरुपयोग भएको पाइएको छ ।

सहकारीले भने ७६ करोड बचत फिर्ता गर्नुपर्ने र ३३ करोड व्याज, ५३ करोड साँवा गरी ८६ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाएको छ ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराको प्रवक्ता ईश्वरी ढकालले सहकारीको प्रतिवेदन प्राप्त भएएको र त्यसमा थप प्रक्रिया अगाडि बढेको जानकारी दिइन् ।

म्याग्दीका जिसस अध्यक्ष राजकुमार थापाले सहकारीका तत्कालीन व्यवस्थापकले गलत सूचना दिएको र अहिलेसम्मको सबैभन्दा ठूलो सेयर सदस्य आफू रहेको बताए ।

७ जनाको समूहले जग्गा किन्ने र सेयर सदस्य बस्न आग्रह गरेपछि सहमति जनाएकोमा १२ वटा जग्गाकै ऋण आफ्नो नाममा राखिदिएको बताए । आफूले त्यसको विरोध गरेपछि एक रुपैयाँ पनि ब्याज नराखिकन २०७९ साल माघ २९ गते चुक्ता गरिएको बताए । त्यो कारोबारमा पनि आफूलाई दोषी देखाइएको उनको भनाइ थियो ।

वित्तीय विश्लेषकले सबै कारोबारको यकिन तथ्यांक नहेरेको जिसस प्रमुख थापाले बताए । २०८० जेठ १४ गते पनि जग्गाको अर्को ऋण चुक्ता गरिएको उनले बताए । ‘यसमा हाम्रो गल्ती भएकै छ । केही ठाउँमा ठूला लगानी भएकै छ । १ वर्षभित्र सबै समस्या समाधान गर्ने गरी लागेका छौं’, थापाले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?