+
+

राप्रपाले भन्यो : कांग्रेस र एमाले संविधान संशोधनमा सहमत हुनु स्वागतयोग्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १७:१३

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सकारात्मक भनेको छ ।

दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाले पदाधिकारी बैठक बोलाएको थियो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य भएको बताए ।

राप्रपाले लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन र संशोधन गर्नुपर्छ भन्दै आएको बताउँदै लिङ्देनले भने, ‘यहीबेलामा नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ । त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो ।’

यद्यपि दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतीक्षामा रहेको लिङ्देनले बताए । दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरुले यस विषयमा धारणा बनाउने उनको भनाइ छ ।

‘बाहिर सतहमा आएका विषय साँच्चिनै सहमतिका विषय हुन् कि होइनन्, त्यसमा कांग्रेस एमाले सहमत छ कि छैन त्यो देखिसकेपछि मात्र हाम्रो धारणा बनाउँछौं’, उनले भने । ।

लिङ्देनले दुई ठूला पार्टीहरुबीचको सहमतिले राजनीतिक स्थायीत्व दिने आशा भने आफूहरुमा नरहेको पनि बताए । ‘यो सहकार्य ३ वर्षसम्म जान्छ भन्ने आम मानिसलाई लाग्न सक्छ, तर यो ६ महिनापछि परिवर्तन हुन पनि सक्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?