+

पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान

२०८१ असार  १८ गते १९:५८ २०८१ असार १८ गते १९:५८
पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान

१८ असार, काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ ।

चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भारवहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनको नाममा १३० केजीको कीर्तिमान थियो ।

कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो ।

कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो बने ।

पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे ।

बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कास्य प्राप्त गरे ।

पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भारवहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे ।

गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो स्थानमा रहे ।

पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमे । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कास्य हात पारे ।

पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए ।

दुईदिने प्रतियोगितामा मधेश बाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

पारा तथा विशेष खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय