+
+

कांग्रेस–एमाले गठबन्धन बनेपछि साना दल कता ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते २०:२०

१८ असार, काठमाडौं । कांग्रेस–एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएसँगै मधेशकेन्द्रित दलहरु सहित विभिन्न साना पार्टीहरु पनि धारणा बनाउन जुटेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले अब बन्ने भनिएको केपी ओली सरकारलाई समर्थन दिनेछन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठ निवासमा डाकेको बैठकमा यादव र ठाकुर दुवैले यस्तो बताएका हुन् ।

‘राजनीतिक स्थिरताका लागि यो बीचमा काम हुन सकेन, अब तपाईंहरु मिलेर देशलाई स्थिरतातर्फ लैजानुहोस् भन्यौं’, ठाकुर र यादवले देउवासँग राखेको भनाई उद्धृत गर्दै लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले भने, ‘अब बन्ने सरकारलाई हाम्रो साथ हुन्छ ।’

मधेशकेन्द्रित नेताहरुले संविधान संशोधनको बारेमा के कुरा भएको हो भनी देउवालाई सोधेका थिए । देउवाको तर्फबाट जवाफ दिँदै कांग्रेस नेता रमेश लेखकले राजनीतिक स्थिरताका लागि नीतिगत सुधार गर्नुपर्ने भन्दै त्यसका लागि कुन मोडालिटीबाट अघि जाने भन्नेबारे तत्काल कुनै धारणा बनिनसकेको प्रष्टीकरण दिएका थिए ।

‘स्थिरतामा आँच पुर्‍याउनलाई प्रणालीसमेत सहायक बन्यो कि भन्ने हो, त्यसका लागि निर्वाचन प्रणालीमा थोरै परिमार्जन गर्नुपर्ने हुन्छ, तर त्यो अहिल्यै यसरी गर्ने भन्ने सहमति भएको छैन’, लेखकले बैठकमा भने ।

यादव र ठाकुर दुवैले समानुपातिक प्रतिनिधित्वको प्रणाली नमर्ने गरी स्थिरताको बाटोतर्फ जानसकिने बीचको बाटो खोजी गर्न आफूहरु सघाउन तयार रहेको प्रतिबद्धता देउवालाई दिएका थिए ।

बैठकमा नडाकिए पनि जनमत पार्टीले नयाँ समीकरणलाई सघाउने भएको छ । सीके राउत नेतृत्वको दलले मधेश प्रदेशमा आफ्नो सरकारलाई सघाउन ठूला दुई दल तयार भए केन्द्रको सरकारलाई साथ दिने बताएको छ ।

जनमतका उपाध्यक्ष दीपक साहले भने, ‘मधेश प्रदेशलाई उहाँहरुले साथ दिनुहोस्, हामी केन्द्रलाई साथ दिन्छौं ।’

उपेन्द्र यादवबाट फुटेर अशोक राई नेतृत्वमा बनेको जसपाले पनि एमाले–कांग्रेसलाई साथ दिनेछ । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस मुख्यालय सानेपामा देउवासँग भएको छलफलमा यसको जानकारी दिएका थिए ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पनि ओली–देउवा समीकरणलाई समर्थन गर्नेछ । चौधरी आफैंले ओलीलाई फोन गरी यसको जानकारी दिएको उच्च स्रोतले बतायो ।

मधेसवादी दलबाहेक राप्रपाले पनि नयाँ समीकरणलाई साथ दिने भएको छ । पार्टी बैठकपछि बुढानीलकण्ठ पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देउवालाई आफूहरुको समर्थन रहेको बताएका हुन् ।

‘हामी सरकारमा जान्छौं या जाँदैनौं भन्नेबारे म अहिले निर्णय नभई बताउन सक्दिनँ, तर स्थिरताका लागि गर्ने प्रयासमा हाम्रो साथ हुन्छ’, लिङ्देनको भनाइ उद्धृत गर्दै सहभागी नेताले भने, ‘हामी अब बन्ने नयाँ सरकारलाई समर्थन दिन्छौं ।’

यी सबै परिदृश्य केलाउँदा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादीबाहेक सबै दलको समर्थनमा ओली शक्तिशाली प्रधानमन्त्री बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?