+

‘ओलम्पिकमा पदक जित्न ठूलो लगानी आवश्यक छ’

२०८१ असार  १८ गते २२:३३ २०८१ असार १८ गते २२:३३
‘ओलम्पिकमा पदक जित्न ठूलो लगानी आवश्यक छ’

१८ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले नेपालले ओलम्पिकमा पदक जित्न ठूलो लगानी गर्नुपर्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा मंगलबार आयोजना गरेको ओलम्पिकमा नेपालको सहभागिता अन्तरक्रियामा श्रेष्ठले नेपालका लागि ओलम्पिकमा पदक जित्न सहज नभएको र धेरै मिहिनेत गर्नुपर्ने बताएका हुन् ।

‘ओलम्पिकमा पदक जित्नु धेरै टाढाको कुरा हो । खेलकुद भनेको लगानी हो । त्यसमा हामीले कति लगानी गर्‍यौँ भन्ने मुख्य कुरा हो, महासचिव श्रेष्ठले भने, ‘हामीले लगानी कति गरेको छौँ । सिस्टमेटिङ्क ट्रेनिङ गरेको छैनौँ । ट्यालेन्ट हन्ट गरेर लङ टर्मका का लागि राम्रो खेलाडी छनोट गरेर खेलाडीलाई कहिले ट्रेनिङ गरेका छौँ?’ श्रेष्ठले प्रतिप्रश्न गरे ।

यही जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा पेरिस ओलम्पिक २०२४ हुँदैछ । त्यसैका अवसरमा मञ्चले नेपाली खेलकुदका सम्बन्धित स्टेकहोल्डरसँग अन्तरक्रिया गरेको थियो ।

नेपालले सन् १९६४ टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेपनि अहिलेसम्म कुनै पदक जित्न सकेको छैन ।

नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका एनओसीका महासचिव श्रेष्ठले २०२१ मा जापानमा टोकियो ओलम्पिक सकिएपछि नै १० खेलका १० खेलाडीलाई ओलम्पिक स्कलरसिप प्रदान गर्दै तयारी थालिएको बताए । त्यसमध्ये ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक खेल्न जाँदैछन् ।

पेरिस ओलम्पिकमा नेपालबाट विभिन्न ६ खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ युनिभर्सालिटी कोटामा पेरिस ओलम्पिक जादैछन् । यस्तै टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट चरण पार गरेर ओलमेपिकमा स्थान बनाउन सफल भएका हुन् । ब्याडमिन्टनका प्रिन्स दाहाल,  सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले पनि पेरिस ओलम्पिकमा वाइल्ड कार्ड मार्फत स्थान बनाएका हुन् । तीनै खेलाडी कन्टिनेन्टल कोटामा पर्दै ओलम्पिकमा छनोट भएका हुन् ।

नेपाल जस्तो देशबाट छनोट भएर ओलम्पिकमा पुग्नु नै ठूलो विषय बनिसकेको छ । १६ वर्षपछि नेपालबाट कुनै खेलाडी छनोट चरण पार गरेर ओलम्पिक खेल्दैछन् । श्यान्टुअघि तेक्वान्दोबाट संगिना वैद्यले २००४ र तेक्वान्दोकै दीपक विष्टले २००८ मा छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । श्यान्टु छनोट चरण पारेर गरेर ओलम्पिक छनोट हुने तेस्रो नेपाली खेलाडी हुन् ।

ओलम्पिकमा तीन तरिकाले खेलाडी छनोट हुन्छ । पहिलो छनोट प्रतियोगिताहरु खेलेर सिधै ओलम्पिकमा छनोट हुने । दोस्रो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आफ्नो सदस्यहरुलाई पौडी र एथ्लेटिक्समा अनिवार्य सहभागिता अर्थात युनिभर्सालिटी कोटामा खेलाडी सहभागि गराउँछ । तेस्रो वाइल्ड कार्ड कोटा ।

एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले वाइल्ड कार्ड पनि एक प्रकारको सेलेक्सन प्रोसेस जस्तै भएकोले यसबाट छनोट हुनु पनि राम्रो भएको बताए । ‘वाइल्ड कार्ड पनि सेलेक्सन जस्तै हो । यो एउटा रिजनमा आउने हो । नेपाललाई मात्रै छुट्टै आउने होइन । त्यसमा ओलम्पिक छनोट प्रतियोगिता खेलेको, अंक र वरियता राम्रो भएको खेलाडीले वाइल्ड कार्ड पाउँछ ।’ उनले भने ।

श्रेष्ठले राष्ट्रिय निति बनाएसम्म नेपालले ओलम्पिकमा पदक जित्ने अपेक्षा राखेर मात्र नहुने बताए । ‘वर्तमान खेलकुद धेरै महँगो भइसक्यो । राष्ट्रिय निति नबनाइकन हामीले ओलम्पिकमा पदक अपेक्षा गरेर हुँदैछ । हामीलाई भविष्यमा पनि ओलम्पिक पदक जित्न गाह्रो छ, उनले भने, ‘अहिले ट्रेनिङ गरेर मात्र हुँदैन । त्यसमा साइनटिफिक ट्रेनिङ हुनुपर्छ । अहिलेसम्म हाम्रो खेलाडीको एक्स्ट्रा ट्यालेन्ट र लकले मात्र हामी ओलम्पिकमा पुगिरहेका छौँ ।’

श्रेष्ठले सरकार समेत संलग्न भएर काम गरेरमा ओलम्पिकमा पदक जित्ने सम्भावना हुने बताए  । ‘लामो समयमको तयारी चाहिन्छ । ओलम्पिकमा पदक जित्ने हो भने । सरकार र ओलम्पिक कमिटीको संयुक्त प्रोजेक्ट बनाएर अघि बढ्नुपर्छ । कुन समयमा के गर्ने भन्ने योजना बनाउनुपर्छ ।’

यसैगरी ओलम्पियन तथा दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक हरेक खेलाडीको सपना हुने बताए । दषिण एसियाली खेलकुद एसियाली खेलकुदमा पदक जितेपनि वर्ल्ड च्याम्पियनसिप खेलेपनि ओलम्पिक सबैभन्दा ठूलो प्रतियोगिता हो । यसमा कम्तीमा एक पदक पुग्ने हरेक खेलाडीको सपना हुन्छ ।’ अन्तरक्रिया कार्यक्रममा विष्टले भने ।

विष्टले राष्ट्रको झण्डा बोकेर ओलम्पिक खेल्न पाउनु गर्वको विषय भएको बताए । ‘ओलम्पिक खेल्न पाउनु सबैभन्दा ठूलो उपलब्धी हो । अज देशको झण्डा लिएर मार्च पास गर्दा अर्कै किसिमको अनुभुती हुन्छ ।’

हाल राष्ट्रिय तयारी समितिको निर्देशक समेत रहेका विष्टले नेपालले अझै धेरै काम गर्न बाँकी रहेको र राम्रो तयारी गरेमा ओलम्पिककमा पदक ल्याउने सकिने विश्वास व्यक्त गरे । ‘हामीले धेरै कुरा गर्नु छ । तर हामी सक्षम भएपनि धेरै काम गरेका छैनौँ । हामीले राम्रो तयारी गरेमा भविष्यमा पदक ल्याउन सक्छन् । त्यसका लागि लामो समयको तयारी गर्नुपर्‍यो ।’

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकमा सहभागि हुने खेलाडीहरुका लागि प्रशिक्षण, प्रतियोगिता र भत्ताहरुको व्यवस्था गरिएको बताउँदै ओलम्पिक सहभगिताको बारेमा धेरै जसो काम ओलम्पिक कमिटीबाटै भइरहेको बताए । यस्तै उनले सहभागिताको लागि सम्बन्धित संघबाटै गर्नुपर्ने जति आवश्यक तयारी हुन नसकेको बताए । उनले नेपाली खेलकुदमा यस्तो किसिमको अन्तरक्रिया कार्यक्रमहरु हुनुपर्ने, नेपाली खेलकुदको समिक्षा गर्नु पनि जरुरी रहेको बताए । साथै सदस्यसचिव घिसिङले नेपाली खेलाडीलाई हौसला दिनका लागि सबैसँग मिलेर अगाडि बढ्न परिषद तयार रहेको बताए ।

ओलम्पिक नेपाली खेलकुद पदक
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय