+
+

एकीकृत समाजवादीको महाधिवेशन : आज सामूहिक छलफलको निष्कर्ष सुनाउने, भोलि नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ७:५२

१९ असार, काठमाडौं । काठमाडौंमा जारी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा प्रस्तुत प्रस्तावहरुमा आज सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु हुने भएको छ । राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधन प्रस्तावहरुमाथि सामूहिक छलफल गरेका नेता–कार्यकर्ताहरुले आज छलफलको निष्कर्ष राख्नेछन् ।

छलफलका लागि बनाइएका १२ टोलीका नेताहरुले आज आ–आफ्नो समूहको छलफलको निष्कर्ष प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

छलफलको निष्कर्ष प्रस्तुत गरिसकेपछि प्रस्तावहरुलाई आवश्यक संशोधनसहित पारित गर्ने र बिहीबारदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ ।

एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् । नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत् गर्ने तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग हुने छ ।

वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गरेर असार २० गते महाधिवेशन समापन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा असार १६ गतेदेखि महाधिवशेशन सुरु भएको थियो । महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट छानिएका एक हजार आठ सय प्रतिनिधिहरुले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?