+

युरोमा अब पालो ब्लकबस्टर म्याचको, यस्तो छ क्वाटरफाइनल समीकरण

२०८१ असार  १९ गते ८:५६ २०८१ असार १९ गते ८:५६
युरोमा अब पालो ब्लकबस्टर म्याचको, यस्तो छ क्वाटरफाइनल समीकरण

१९ असार, काठमाडौं । जर्मनी भइरहेको युइएफए युरो २०२४ को प्रिक्वाटरफाइनलका खेलहरू सकिएका छन् । अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुङ्गो लागेको छ र क्वाटरफाइनल समीकरण पनि पूरा भइसकेको छ ।

अब पालो रहेको छ ब्लक बस्टर म्याचको । किनकि क्वाटरफाइनलमा पाँच पूर्वविजेतासहित साविक उपविजेता इंग्ल्याण्ड जस्ता टोली छन् ।

त्यसमा पनि पूर्व विजेताहरूबीचको दुई खेल क्वाटरफाइनलमै हुनेछ । जसले गर्दा यही चरणमा ब्लकबस्टर म्याच हुनेछ । अझ भन्दा फाइनल खेल जस्तै हुनेछ ।

पहिलो क्वाटरफाइनलमा सर्वाधिक ३-३ पटकको विजेता जर्मनी र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले सर्वाधिक ४ पटक युरो जित्ने होडमा छन् । तर, एक पूर्वविजेता क्वाटरफाइनलबाटै बाहिरिने पक्का छ त्यसमा कसले बाजी मार्छ हेर्न बाँकी छ ।

घरमै भइरहेको युरोमा जर्मनीले यस पटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ र उपाधि जित्ने लक्ष्यमा छ ।

जर्मनीले प्रिक्वाटरफाइनलमा अर्का पूर्वविजेता डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

अर्कोतर्फ स्पेन पनि लयमा छ । क्रोएसियालाई ३-० ले हराएर प्रतियोगिता सुरु गरेको स्पेनले साविक विजेता इटली  र अल्वानियालाई समूह चरणमा पराजत गरेको थियो । यस्तै नवप्रवेशी जर्जियालाई अन्तिम १६ मा ४-१ ले हराएर स्पेन क्वाटरफाइनल पुगेको हो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्का दुई पूर्वविजेता पोर्चुगल र फ्रान्सबीच भिडन्त हुनेछ । सन् २०१६ मा फ्रान्सलाई नै फाइनलमा हराएर पोर्चुगल च्याम्पियन बनेको थियो । फ्रान्स २०१८ को विश्वकप विजेता र २०२२ को विश्वकपको उपविजेता हो । तर, सन् २००० पछि फ्रान्सले युरो भने जित्न सकेको छैन । अहिलेसम्म फ्रान्सले दुई र पोर्चुगलले एक पटक युरो जितेका छन् ।

प्रिक्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल दुवै केही हदसम्म भाग्यमानी बन्दै अघि बढेका हुन् । फ्रान्सले आत्मघाती गोलको मद्दतमा बेल्जियमलाई १-० को झिनो अन्तरले पराजित गरेको थियो । उता पोर्चुगलले भने १२० मिनेटको खेलपछि स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

स्टार खेलाडी क्रिरिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल अभागी बन्छ कि भन्ने थियो । तर सुटआउटमा गोलकिपर डिएगो कोस्टा नायक बन्दै तीन पेनाल्टी बचाएपछि पोर्गुगलको यात्रा अघि बढेको हो ।

जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगलबीचको विजेता नै सेमिफाइनलमा भिड्ने भएकोले यो पुलका खेलहरू अझ बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा छ ।

उता प्रतियोगिताअघि मुख्य दाबेदारको रुपमा देखिएको इंग्लयाण्डले स्विट्जरल्याण्ड्स प्रतिस्पर्धा गर्नेछ । दुवै टोली अपराजित भए पनि प्रदर्शन भने एक रुपको छैन । साविक उपविजेता इंग्ल्याण्डले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन ।

समूह सी मा रहेको इंग्ल्याण्ड १ जित र दुई बराबरीसहित समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो ।

अन्तिम १६ मा स्लोभाकियालाई अतिरिक्य समयभा २-१ ले पराजित गरेको इंग्ल्याण्ड भाग्यमानी बन्यो । निर्धारित समयमा एक गोलले पछि परेको इंग्लयाण्डका लागि इन्जुरी टाइमको अन्तयतिर जुड बेलिङघमले बराबरी गोल गर्दै संकट टारेका थिए । त्यसपछि ह्यारी केनले अतिरिक्य समयमा निर्णायक गोल गरे ।

स्विट्जरल्याण्डले अन्तिम १६ मा भने साविक विजेता इटलीलाई हराउँदै क्वाटरफाइनल पुगेकोले आफूलाई कमजोर नआँक्न सजग गराइसकेको छ । स्विट्जरल्याण्डले समूह चरणमा ठिकैको प्रदर्शन गरेको थियो । पहिलो खेलमै हंगेरीलाई ३-१ ले हराएको उसले त्यसपछि लगातार दुई बराबरी खेलेको थियो ।

जर्मनीभन्दा पछि समूहको उपविजेता बन्दै नकआउट चरण पुगेको स्वीस टोलीले इटलीलाई स्तब्ध बनायो र आफूलाई पनि उपाधि दाबेदारमध्ये एकको रुपमा उभ्याएको छ ।

यस्तै अन्तिम क्वाटरफाइनल खेल नेदरल्याण्ड्स र टर्कीबीच हुनेछ । नेदरल्याण्ड्स एक पटकको विजेता हो भने टर्कीको उत्कृष्ट नतिजा सेमिफाइनल पुग्नु हो । नेदरल्याण्ड्सले सन् १९८८ मा युरो उपाधि जितेको थियो । सन् २००८ मा भएको युरोमा टर्की सेमिफाइनल पुगेको थियो ।

यस युरोमा भने दुवै टोलीको प्रदर्शनमा औसत नै छ । अष्ट्रिया र फ्रान्स रहेको समूहमा तेस्रो भएको नेदरल्याण्ड्स तेस्रो हुने मध्ये उत्कृष्ट चारमा पर्दै नकआउट चरण पुगेको थियो । समूह चरणमा डच टोलीको नतिजा थियो एक जित एक बराबरी र एक हार ।

यस्तै प्रिक्वाटरफाइनलमा भने नेदरल्याण्ड्सले रोमानियालाई ३-० ले सहजै हरायो ।

उता टर्की समूह एफमा पोर्चुगल समान ६ अंक जोडेर पनि गोल अन्तरमा पछि रहेर समूह उपविजेता बनेको थियो । उसले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको अष्ट्रियालाई २-१ ले हराएर १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो ।

नेदरल्याण्ड्स र टर्कीबीचको विजेताले सेमिफाइनलमा इंग्ल्याण्ड र स्विट्जरल्याण्डबीचको विजेतासँग खेल्नेछ । यस पुलमा एक मात्र पूर्वविजेता टिम छ भने नेदरल्याण्ड्स र इंग्ल्याण्ड बाहेक बाँकी दुई टोलीमध्ये एक फाइनल पुगेमा इतिहास बन्नेछ । स्विट्जरल्याण्ड त अहिलेसम्म सेमिफाइनल पनि पुगेको छैन ।

युरो २०२४ को क्वाटरफाइनल खेलतालिका

जुलाई ५

स्पेन भर्सेस जर्मनी, राति ९:४५ बजे, एमएचपी एरेना, स्टुटगार्ड

पोर्चुगल भर्सेस फ्रान्स, मध्यराति १२:४५ बजे, भोल्पस्पार्कस्टाडिओन, ह्यामबर्ग

जुलाई ६

इंग्ल्याण्ड भर्सेस स्विट्जरल्याण्ड, राति ९:४५ बजे, मर्कुर स्पाइल-एरेना, डुसेलडोर्फ

नेदरल्याण्ड्स भर्सेस टर्की, मध्यराती १२:४५ बजे, ओलम्पिक स्टेडियम, बर्लिन

क्वाटरफाइनल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय