+
+

मन्थलीलाई पर्यटकीय गन्तव्य बनाउन पहल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १३:०२

१९ असार, काठमाडौं । रामेछापको मन्थलीलाई पर्यटकीय आकर्षणको गन्तव्य बनाउन स्थानीय तहले पहल थालेको छ ।

मन्थली नगरपालिकाले समग्र नगरभित्रका सम्भावित गन्तव्यलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल थालेको हो ।

यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि बृहत् योजना बनाउने उद्देश्यले सरोकारवालासहित काठमाडौंमा अन्तरक्रिया गर्ने भएको छ ।

बिहीबार केन्द्र सरकार, प्रदेश सरकारसहित निजी क्षेत्रका व्यवसायी र सरोकारवाल समेतको उपस्थितिमा समग्र नगरको पर्यटन प्रवर्द्धनबारे छलफल हुने र सोही छलफलका आधारमा समग्र नगरको पर्यटन गुरुयोजना बनाउने गरी नगरपालिका अघि बढ्ने नगरप्रमुख लब श्रेष्ठले जानकारी दिए ।

अहिले मन्थली नगरपालिकाको केन्द्रमै पर्ने मन्थली विमानस्थलबाट पर्यटकीय सिजनमा सगरमाथा क्षेत्रको हवाई उडान हुँदै आएको छ । सिजनमा दैनिक दर्जनौ उडानमार्फत ठूलो संख्यामा पर्यटक मन्थली विमानस्थल हुँदै लुक्ला पुग्दै आएका छन् । तर, मन्थलीमा स्तरीय होटल तथा अन्य पूर्वाधारको अभाव देखाउँदै कम्पनीहरूले पर्यटकलाई मन्थलीमा रोक्ने गरेका छैनन् ।

यसै क्रममा मन्थलीमा के कस्ता सुविधाहरू थप गर्दा पर्यटकलाई मन्थली र आसपासका क्षेत्रमा केही समय राख्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरू समेतको सहभागितामा बृहत छलफल आयोजना गर्न लागेको हो ।

मन्थली विमानस्थल पर्यटकीय सिजनमा निकै व्यस्त रहेको छ । दैनिक सयौँ पर्यटक मन्थलीबाट लुक्ला र लुक्लाबाट मन्थली ओहोरदोहोर गरिरहन्छन् । ति पर्यटक मन्थलीमा घुम्ने र बस्ने क्रम शून्य बराबर रहेको मेयर श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?