+

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

२०८१ असार  १९ गते १३:२१ २०८१ असार १९ गते १३:२१
शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो । यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

वयस्क व्यक्तिले दिनमा कम्तीमा एक हजार मिलिग्राम क्याल्सियम उपभोग गर्नुपर्छ । शरीरमा पर्याप्त मात्रामा क्याल्सियम नपाउँदा हड्डी कमजोर हुने र शरीरका विभिन्न भागमा दुखाइ लगायत विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा देखिने लक्षण

मांसपेशी दुखाइ

क्याल्सियमले शरीरको हड्डीलाई बलियो बनाउनुका साथै मांसपेशीहरूलाई सक्रिय, लचिलो राख्न पनि मद्दत गर्छ । क्याल्सियमको कमीले हड्डी र मांसपेशीलाई  कमजोर बनाउँछ, जसकारण मांसपेशीहरूमा दुखाइ महसुस हुन्छ ।

थकान र कमजोरी

क्याल्सियमले मांसपेशी कार्य र ऊर्जा उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको कमीले थकान र कमजोरी निम्त्याउन सक्छ, साथै स्ट्यामिना कम हुनसक्छ, जसकारण केही गर्न मन लाग्दैन ।

मुखको स्वास्थ्य बिग्रिन्छ

यदि शरीरमा क्याल्सियमको कमी भयो भने यसको कारणले दाँत र गिजाको स्वास्थ्य बिग्रिन सक्छ । यति मात्र होइन, दाँत कीराले खाने, दाँत हल्लिने वा संवेदनशील हुने पनि क्याल्सियमको कमीको लक्षण हुनसक्छ ।

हातखुट्टा झमझमाउने

स्नायु प्रणालीले शरीरका सबै अंगमा सञ्चार गर्न मद्दत गर्छ । यसले श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप नियन्त्रण गर्छ । स्नायु प्रणालीले राम्रोसँग काम गर्नका लागि शरीरमा क्याल्सियमको मात्रा पर्याप्त हुनुपर्छ । शरीरमा क्याल्सियमको कमी भएमा हातखुट्टा सुन्निने र झमझमाउने समस्या पनि हुन्छ ।

ओस्टियोपोरोसिस

यदि शरीरमा लामो समयसम्म क्याल्सियमको कमी छ भने यसले ओस्टियोपोरोसिस वा ओस्टियोपेनिया जस्ता रोग निम्त्याउन सक्छ, जसकारण हड्डी कमजोर हुन्छ । यसरी हड्डी कमजोर भयो भने अलिकति लड्दा लड्दा पनि हड्डी भाँच्चिने हुन्छ ।

मुड परिवर्तन

शरीरमा क्याल्सियमको कमीले मुड परिवर्तन जस्ता भावनात्मक समस्या निम्तिन सक्छ । यसको कमीले मुड परिवर्तन, चिडचिडापन, चिन्ता निम्त्याउन सक्छ ।

अनियमित मुटुको धड्कन

शरीरमा क्याल्सियमको कमीका कारण मुटुको धड्कन असामान्य र अनियमित पनि हुन्छ । खानाबाट पर्याप्त क्याल्सियम नपाउँदा हड्डी र दाँतका साथै मुटुमा पनि नकारात्मक असर पर्छ । यसले मुटुको धड्कन अचानक सुस्त हुनसक्छ, जसलाई कार्डियाक एरिथमिया भनिन्छ ।

छाला र नङमा समस्या

शरीरमा लामो समयसम्म क्याल्सियमको कमी भयो भने छाला सुक्खा हुनसक्छ । यस्तै नङ पनि सुक्खा र कमजोर हुनसक्छ ।  कपाल झर्नुका साथै यसले एक्जिमा, छाला चिलाउने र सोरायसिस जस्ता समस्या पनि निम्त्याउन सक्छ ।

क्याल्यिमको कमी हुन नदिन के कुरामा ध्यान दिने ?

शरीरमा क्याल्सियमको कमी हुन नदिन आफ्नो आहारमा परिवर्तन गर्नुपर्छ । क्याल्सियमको कमी हुन नदिन आहारमा दूध, चीज, दही जस्ता दुग्धजन्य पदार्थ समावेश गर्नुपर्छ । त्यसबाहेक हाम्रो शरीरलाई चाहिने क्याल्सियम पाउन प्रशस्त मात्रामा हरियो सागपात, फलफूल, गेडागुडी खान सकिन्छ । क्याल्सियमको प्राकृतिक स्रोतको बिहान केही समय घाम ताप्नुपर्छ । साथै दैनिक व्यायाम, योग, ध्यान गर्न सक्नुहुन्छ, यसले क्याल्सियमको कमीलाई हटाउन सकिन्छ ।

आयुष अधिकारी
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय