+
+

बैंकहरूको २ खर्ब २० अर्ब अधिक तरलता राष्ट्र बैंकमा, ५० अर्ब खिच्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १३:५४

१९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष अन्तिममा सरकारी खर्च बढ्दै जाँदा अधिक तरलता चाप बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको १८ असारसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको २ खर्ब १९ अर्ब ७० करोड तरलता केन्द्रीय बैंकले  खिचेको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत थप ५० अर्ब तरलता खिच्न लागेको  हो ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनका लागि चालु आव फागुनबाट स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको  थियो । उक्त औजार प्रयोगमा ल्याउँदा पनि केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिचिरहेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेको छ । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको तरलता खिच्ने बताएको छ । यस्तै  निक्षेप संकलन दरमा नै स्थायी निक्षेप सुविधाको पनि व्यवस्था गरेको छ ।

१८ असारमा  निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब २९ अर्ब ७० करोड तरलता खिचेको छ ।

१८ असारको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब पुग्दा कर्जा लगानी ५१ खर्ब ५१ अर्ब पुगेको छ । औसत कर्जा निक्षेप अनुपात करिब ७९ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?