+
+

टीआरसीसम्बन्धी तीन दलीय संयन्त्रले सुरु गर्‍यो काम

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १४:४२

१९ असार, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलले गठन गरेको संयन्त्रले काम सुरु गरेको छ ।

असार १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन पार्टीका नेताहरूसँग छलफल गरेका थिए । सोही दिन तीन सदस्यीय संयन्त्र गठन भएको थियो ।

तीन दलीय संयन्त्रमा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका छन् । यो संयन्त्रको पहिलो बैठक बुधबार बसेको छ ।

एमालेका प्रमुख सचेतक बर्तौलाका अनुसार संयन्त्रले थप केही बैठक बसेर संघीय संसदको चालु अधिवेशनमै यो विधेयक पास गर्ने तयारीका साथ काम सुरु गरेको छ ।

‘सहमति हुन बाँकी चार वटा विषयमा छलफल भएको छ । थप दुई/तीन वटा बैठक बसेर चालु अधिवेशनमै यो विधेयक पारित गर्ने गरी अगाडि बढाउने तयारी छ,’ बर्तौलाले भने ।

संयन्त्रका सदस्यहरूका अनुसार सहमति हुन बाँकी चार वटा विषयमा विकल्पसहित छलफल भएको छ ।

गम्भीर मानव अधिकार उल्लघंनको परिभाषामा दलहरू बीचमा कुरा मिलेको छ । यसको परिभाषामा मनसायपूर्वक वा स्वइच्छापूर्वक गरिएको हत्या भनेर लेख्ने विषयमा संयन्त्रमा करिब सहमति जुटेको छ ।

द्वन्द्वकालीन मुद्दामा दोषी ठहर भएकालाई कम सजाय मागदाबी लिएर जाने विषयमा दलहरू बीचमा कुरा मिलेको छैन । संयन्त्रको आजको बैठकमा घटी सजायको प्रतिशत तोक्ने विषयमा सहमति नजिक पुगेको संयन्त्र सदस्य बर्तौलाले बताए ।

आरोपीलाई छुट दिने विषयमा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषयमा पनि दलहरू छलफलमा छन् । स्वतन्त्र सहमति नभए अदालत जान पाउने वा संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा गुनासो सुन्ने भन्ने विकल्पमा दलहरू छलफलमा छन् ।

अयोग्य लडाकु र पीडित सुरक्षाकर्मीको मागका सम्बन्धमा कसरी जाने भन्ने विषयमा पनि दलहरूबीच सहमति जुटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?