+
+

मुकुलले मुखमा टेप टाँसेकोबारे रास्वपाले पदाधिकारी बैठकमा छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १४:४८

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ ।

रास्वपा नेताहरुका अनुसार ढकालले केन्द्रीय समिति बैठकमा आफूले समीक्षा प्रतिवेदन पेश गर्दा प्रत्यक्ष प्रशारण गर्नुपर्ने बताएका थिए । तर, बैठकका अधिकांश नेताहरुले प्रत्यक्ष प्रशारणप्रति असहमति जनाएपछि उनले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै मुखमा टेप टाँसेर बसेका छन् ।

त्यसपछि उनले तयार गरेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेश गरेका थिए । पार्टीका एक पदाधिकारीका अनुसार ढकालले बुधबारको बैठकमा देखाएको व्यवहार अस्वभाविक थियो ।

‘उहाँको व्यवहारले पार्टीलाई बल पुर्‍याएको छैन । केन्द्रीय समितिको बैठकपछि उहाँको व्यवहारका बारेमा छलफल हुन्छ’, रास्वपाका एक पदाधिकारी भन्छन्, ‘अनपेक्षित व्यवहारहरुलाई कसरी लिने पदाधिकारी बैठकमा छलफल गरेर निर्णय लिन्छौं ।’

ढकालले समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा सूचना दिएको भन्दै रास्वपाको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । तर, उनले अनुशासन आयोग महामन्त्री मातहतकै निकाय भएकाले स्पष्टीकरण सोध्न नसक्ने दाबी गर्दै आएका छन् ।

ढकालले एक महिना यात्रा गरेर समीक्षा प्रतिवेदन तयार गरेका छन् । उनले रास्वपा यही गतिमा जाने हो भने ०८४ मा राष्ट्रिय पार्टी पनि बन्न नसक्ने निश्कर्षसहितको प्रतिवेदन पेश गरेका थिए । बुधबार बोलाइएको केन्द्रीय समिति बैठक ढकालको प्रतिवेदनलाई छलफलको एजेण्डा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?