+
+

प्रस्तावित निर्वाचन आयुक्त विरुद्ध यौन दुर्व्यवहारको उजुरी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ असार १९ गते १०:२९

१९ असार, काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ ।

२ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र पाएपछि संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

मंगलबार सुनुवाइ समितिले प्राप्त उजुरीहरु समितिका सदस्यहरुलाई वितरण गरेको छ । सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रस्तावित आयुक्त प्रधान विरुद्ध प्राप्त उजुरीहरुमाथि बिहीबार समितिमा छलफल हुनेछ ।

स्रोतका अनुसार संसदीय सुनुवाइ समितिमा प्रधान विरुद्ध पाँच वटा उजुरी परेका छन् । पाँचवटै उजुरी यौन दुर्व्यवहारसँग सम्बन्धित रहेको छ ।

प्रधान यसअघि नेपाल कानुन आयोगको कार्यकारी निर्देशक थिए । त्यहीं हुँदा आफूलाई कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी छन् ।

अरु चार आरोप पनि यही आरोपसँग सम्बन्धित छ । ‘काम लगाइदिने बहानामा प्रधानले बन्धक जस्तै बनाएर यौन सम्पर्क गर्ने गरेको’ अर्को उजुरीमा उल्लेख छ ।

कार्यालयमा जागिर खोज्दै आएकी एक महिलालाई इच्छा विपरीत यौन सम्पर्क गरेको र घटना मिलाउन एक करोड रुपैयाँ दिएको पनि उजुरीमा उल्लेख छ ।

उजुरीकर्ताले कुन मितिमा कुन बैंकमा कुन खाता नम्बरबाट कति पैसा जम्मा भएको हो भन्ने विवरण नै समितिलाई उपलब्ध गराएका छन् । ५० लाख र २५ लाख रुपैयाँको चेकका साथमा नगद बैंक खातामा बचत गरेको प्रमाण पनि उजुरीसँगै समावेश गरिएको छ ।

सुनुवाइ समितिमा पुगेको उजुरीमा यो विषय अदालतमा पुगेर मिलापत्र भएको पनि उल्लेख छ । उजुरीमा उल्लेख भए अनुसार २४ भदौ २०८० मा पीडित महिलाले काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् ।

२९ भदौ २०८० मा उजुरीकर्ता र प्रधानले मिलापत्रका लागि संयुक्त निवेदन दिएका थिए । सोही दिन अदालतमा दुवै पक्षबीच मिलापत्र भएको उजुरीकर्ताले उल्लेख गरेका छन् ।

प्रधानको दबाब र प्रभावमा मुद्दा मिलापत्रमा टुंग्याएको भन्दै पीडित महिलाले उनलाई निर्वाचन आयुक्त बनाउनु उपयुक्त नहुने भन्दै सुनुवाइ समितिमा निवेदन दिएकी छन् ।

संविधानको धारा २४५ को उपधारा ६ मा आयुक्त हुने व्यक्ति ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने भनिएको छ ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ५ मा पनि यही व्यवस्था छ । जहाँ संवैधानिक परिषद्ले नियुक्तिको सिफारिस गर्दा नै सम्बन्धित व्यक्तिको चरित्र ख्याल गर्नुपर्ने भनिएको छ ।

‘कुनै व्यक्तिलाई नियुक्तिको लागि सिफारिस गर्दा निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई विचार गर्नु पर्नेछ’, ऐनको दफा ५ (२) मा उल्लेख छ ।

सुनुवाइ समितिकी सदस्य नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने उजुरीकर्ताको कुरा सुनेर मात्रै निर्णय लिइने बताउँछिन् ।

‘उजुरी संवेदनशील विषयमा आएको छ । उजुरीकर्ताको कुरा नसुनी धेरै बोल्न सक्ने अवस्था छैन । उजुरीकर्ताको कुरा सुनेर मात्रै थप बोल्न सकिन्छ’, न्यौपानेले अनलाइनखबरसँग भनिन् ।

नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल गर्ने बताए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?