+
+

कांग्रेस–एमालेले ४७ सालको संविधान फर्काउन खोजेका छन् : देव गुरुङ

‘झा र प्रतीक पक्राउ मुख्य कारण’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १५:४४

१९ असार, काठमाडौँ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् । बुधबार काठमाडौंको एक कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए ।

गुरुङले भने, ‘संविधानको जग वृहत शान्ति सम्झौता हो, वृहत शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो । मध्यरातमा षड्यन्त्रमूलक ढंगबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’

उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा संविधानले दिएका सुविधा अनुसार संसदमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने बताए । उनले भने, ‘अहिलेसम्म सरकारमा सहभागी कुनैपनि दलले समर्थन फिर्ता लिएको जानकारी औपचारिक रुपमा आएको छैन, कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा हुँदैन । पार्टीले संविधानले दिएको सुविधाअनुसार संसदमा विश्वासको मत माग्ने निर्णय गरेको छ ।’

उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे । गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्यख्या यहाँ मेल नखाने समेत दाबी गरे ।

‘कोशीमा ३० दिनसम्म विश्वासको मत नलिएपछि सोही धाराअनुसार सरकार गठन भएको हो, मुख्यमन्त्रीले विश्वासको मत लिएको भए अर्को धाराअनुसार सरकार गठन हुने थियो’ उनले बताए ।

महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए । उनले आन्तरिक रुपमा झिनामसिना कुरा भए पनि कांग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए ।

‘एमालेले वामपन्थी गठबन्धन छोडेर कांग्रेससँग घाटी जोड्न जानुपर्ने अवस्था हामीले देखेका छैनौं । केही झिनामसिना कुराबाहेक गठबन्धनमा कुनै खटपट थिएन तर पनि एमाले कांग्रेसको कित्तामा जान पुग्यो । यदि ओलीजीलाई प्रधानमन्त्री बन्ने रहरै पलाएकै भए यही गठबन्धनबाट झन् सजिलो थियो’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र एमाले नेता रामबहादुर थापाका छोरा प्रतिक पक्राउ परेपछि कांग्रेसर एमाले एक ठाउँमा आएको गुरुङले दाबी गरे ।

उनले भने, ‘यो बीचमा भएको दुईवटा घटना हुन्, पहिलो टीआरसी र अर्को नक्कली भुटानी प्रकरणमा मुछिएर फरार रहेका झा र थापा पक्राउ । यदि झा र थापा पक्राउसँगै लहरो तान्दा पहरो आउने डरले एमाले र कांग्रेसएकठाउँमा आएका हुन सक्छन् नत्र त टीआरसी टुंग्याउनेमा तीनै दलको फरक मत छैन’

कांग्रेसर एमालेको कदमले नेपाल फेरि द्वन्द्वमा फस्न सक्ने बताउँदै दोस्रो युक्रेन बन्ने खतरा बढेको गुरुङले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?