+

थुक किन आउँछ ?

२०८१ असार  १९ गते १९:१९ २०८१ असार १९ गते १९:१९
थुक किन आउँछ ?

नेपाली समाजमा थुकलाई नराम्रो विम्बको रुपमा प्रस्तुत गरेको पाइन्छ । कसैले कुनै काम गर्न सकेन वा असफल भयो भने ‘यति पनि गर्न सकेन थुक्क’ भनेर थुक्ने प्रवृत्ति छ । कोही कसैको अन्धभक्त भएर समर्थन गर्छ भने ‘थुकेको थुक पनि चाट्ने’ भनेको सुनिन्छ ।

के साँच्चै ‘थुक’ घिनलाग्दो वा फोहोर कुरा हो ?

थुक मुख रसाएर आउने एक खालको तरल पदार्थ अर्थात् मुखको रस हो । यसले मुखलाई रसिलो बनाएर सुक्खा हुनबाट जोगाउँछ । यो मुख चलाएर स्वत: उत्पादन हुन्छ ।

कहाँबाट निस्कन्छ थुक ?

मुखभित्र दुई प्रकारका ग्रन्थी हुन्छन्, भित्री र बाहिरी ग्रन्थी । बाहिरी ग्रन्थीलाई एक्जोक्राइन भनिन्छ जसभित्र र्‍याल ग्रन्थी हुन्छ । यसले थुक निकाल्ने काम गर्छ । थुक कानको तल गालामा प्यारोटिड ग्रन्थी, चिउँडोको तल सबम्याडिबुलर ग्रन्थी र जिब्रोमुनि सबलिग्वलमा दुई-दुईवटा हुन्छन् । यी प्रमुख तीन जोर ग्रन्थीबाट थुक निस्कन्छ । यसबाहेक मुखभित्र स-सानो स्यालभरी अर्थात् र्‍याल ग्रन्थी हुन्छन् । यसले थुक निकाल्ने काम गर्छ ।

यसले के काम गर्छ ?

प्यारोटिड ग्रन्थीले पानी जस्तो थुक पठाउँछ, जसले खानालाई चपाउँदा चिसो बनाउन सहयोग गर्छ । थुकले हामीले खाने खानेकुरालाई सहज रुपमा पेटसम्म पुर्‍याउने काम गर्छ, जसलाई लुब्रिकेसन भनिन्छ । मुखमा थुक नभए हामीलाई खान निल्न गाह्रो हुन्छ ।

थुकमा एन्टिबायोटिक अर्थात् नराम्रो ब्याक्टेरियालाई नष्ट गर्ने र रोगबाट बचाउने शक्ति हुन्छ । त्यस्तै लाइसोसोम क्रियाकलाप हुन्छ जसमा थुकले मुखभित्रको नराम्रो ब्याक्टेरियालाई मार्ने काम गर्छ । साथै राम्रो ब्याक्टेरियालाई संरक्षण गर्ने काम गर्छ । जुन जिब्रोमुनिबाट निस्किने चिप्लो थुक हुन्छ । मुखको भित्री भागलाई सुरक्षित राख्न सहयोग गर्छ ।

त्यस्तै थुकमा पाचन इन्जाइम हुन्छ जसले पेटभित्रको खानेकुरालाई पचाउन मद्दत गर्छ । यति मात्र नभई थुकले दाँत बिग्रिनबाट बचाउनुका साथै सफा राख्न मद्दत गर्छ । थुकमा प्रतिरोधी क्षमता हुन्छ र निरन्तर थुक आउँदा दाँत, गिजामा उत्पन्न गर्ने नराम्रो ब्याक्टेरिया पखालेर फालिदिने वा मार्ने काम गर्छ । साथै थुकमा क्याल्सियम भएकाले दाँतलाई बलियो बनाउँछ ।

कति आउँछ ?

मानिसको उमेर अनुसार र आवश्यकता फरक-फरक हुन्छ । तर औसतमा एक स्वस्थ मानिसमा प्रतिमिनेट ०.३ देखि ०.५ मिलिमिटर उत्पादन हुन्छ । औसत दैनिक आधा लिटरदेखि डेढ लिटर थुक उत्पादन गर्छ ।

थुक धेरै आउनु राम्रो हो ?

कुनै पनि चीज आवश्यकता भन्दा धेरै आउनु पक्कै पनि राम्रो होइन । कतिपय अवस्थामा कुनै रोगको कारणले थुक ग्रन्थी बढी सक्रिय भएर थुकको मात्रा बढी आउन सक्छ । तर सामान्यतया थुकको मात्रा बढी आउनुलाई राम्रो मानिन्छ । कुनै शारीरिक समस्या छैन तथा ग्रन्थीलाई कुनै नकारात्मक असर गरेको छैन भने थुक बढी आउँदा कुनै समस्या हुँदैन । तर अन्य कारणले भएको छ भने त्यसको उपचार गर्नुपर्छ ।

सुत्नेबेला थुक आउनु समस्या हो ?

निद्रामा मुख चलाएर सुत्ने र मुख खुला गरेर सुत्ने मानिसमा थुक बढी आउँछ । किनभने जति मुख चलायो उत्ति नै थुक ग्रन्थी सक्रिय हुन्छ र थुक निस्किन्छ । तर कहिलेकाहीं कुनै शारीरिक तथा मानसिक समस्या छ वा भएमा पनि निस्कन सक्छ ।

तर रातभरि मुखमा जम्मा भएको थुक हानिकारक हुन्छ । त्यसैले बिहान उठ्दा मुखमा भएको थुक कुल्ला गरेर फाल्नुपर्छ । किनभने यसमा ब्याक्टेरिया संक्रमण भएको हुनसक्छ । जुन पेटभित्र गएको खण्डमा ग्यास्ट्रिक हुनसक्छ ।

थुक नआएमा के हुन्छ ?

थुक नहुनु भनेको स्वास्थ समस्या हो । मुखमा थुक भएन भने मुखमा घाउ तथा खटिरा आउने, चिलाउने, दुख्ने, मुखको संक्रमण तथा अल्सर हुने खतरा हुन्छ । त्यस्तै मुखमा थुक आएन भने स्वस्थ्यमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । यसले मुखलाई मात्र नभई पाचन प्रणालीमा गडबडी गराउँछ ।

किन खाना देख्दा बढी थुक आउँछ ?

खाना वा यसको बास्ना आउँदा थुक ग्रन्थीहरु सक्रिय हुन्छन् । त्यसैले हामीले जुनसुकै बेला खाना देख्दा अझ बढी थुक उत्पादन हुने गर्छ । खानेकुरा देखेपछि स्वतः दिमागले बढी थुक निकाल्न थुक ग्रन्थीलाई संकेत दिन्छ ।

डा. सुवास घिमिरे थुक स्वास्थ्य
डा. सुवास घिमिरे
लेखक
डा. सुवास घिमिरे
ओरल म्याक्जिलोफेसियल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२२८ बीडीएस, एमडीएस ओम समाज डेन्टल अस्पतालका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?