+

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

२०८१ असार  २० गते ७:०० २०८१ असार २० गते ७:००
एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

‘डा. साप, के उनको उपचार सम्भव छ ?’ सुनसरी चतराकी विमला काश्यपले मलाई सोधिन् । उनले फेसबुक म्यासेन्जरमा एक यस्तो भिडियो पठाएकी थिइन्, जो गर्भावस्थाको ठूलो जोखिममा छिन् । जटिल समस्याबाट गुज्रिरहेकी ती गर्भवतीको भिडियो देख्नासाथ मैले भनें, ‘उपचार सम्भव छ ।’

नैतिक र व्यावसायिक दुवै हिसाबले यस्तो जवाफ दिनुपरेको थियो मैले । किनभने म एक त प्रसूतिरोग विशेषज्ञ । मेरो काम नै सुरक्षित प्रसूतिका लागि सहयोग गर्नु हो । अर्को कुरा, म मान्छे हुँ । एउटा जटिल बिरामी, जो विपन्न छन् । उनको ज्यान बचाउनका लागि मलाई आफ्नो मानवीय भावनाले बढी झक्झक्याउँछ ।

विमलाले भनेकी थिइन्, ‘उनलाई उपचार त चाहिएको छ, तर उनीसँग केही छैन ।’

‘केही छैन’ को अर्थ उपचारका लागि पैसा छैन । मैले जवाफमा भनें, ‘म आफ्नो तर्फबाट गर्ने काम निःशुल्क गरिदिन्छु । अस्पतालसँग पनि सहयोगका लागि आग्रह गर्नेछु ।’

बिहान सात बजेको हुँदो हो । हामीबीच यति नै संवाद भयो । जेठ महिनाको अन्तिम साता ।

रातको करिब साढे ९ बजेको हुँदो हो । म कार्यरत अस्पतालमा ती गर्भवतीलाई ल्याइयो । उनको अवस्था नाजुक थियो । राम्रोसँग बोल्न नसक्ने । हातखुट्टा, अनुहार सुन्निएको । रक्तचाप ह्वात्तै बढेको रहेछ । सामान्य परीक्षणबाट थाहा भयो, उनमा रक्तअल्पता छ ।

६ वर्ष अगाडिकाे घाउ निकाे भइसकेकाे थियाे । समग्रमा उनको स्थिति त्यति सन्तोषजनक थिएन । कतिपय अवस्थामा संवेदनशील बिरामीलाई भर्ना गर्न र उपचार गर्न चिकित्सकहरु हच्किने गर्छन् । किनभने उपचारमा चिकित्सकले शतप्रतिशत प्रयास गरे पनि नतिजा सधैं सकारात्मक आउँछ भन्ने हुँदैन । यदि बिरामीको उपचार गरिरहँदा केही तलमाथि भयो भने त्यसको सम्पूर्ण दोष चिकित्सकलाई दिइन्छ । यसको प्रतिक्रिया के हुन्छ ? त्यो त तपाईं-हामीले देखे–भोगेका छौं । चिकित्सकमाथि हातपात गर्ने, अस्पताल तोडफोड गर्ने र क्षतिपूर्ति तिराउने प्रवृत्ति व्यापक छ ।

ती गर्भवतीले थुप्रै अस्पतालको चक्कर लगाउनु परेछ । सुरुमा भोजपुरको जिल्ला अस्पताल पुगिन्, त्यहाँबाट नभएपछि धरानको बीपी प्रतिष्ठान पुगिन् । त्यहाँबाट पनि नभएपछि उनी कोशी अस्पताल पुगिन् । यसरी अस्पतालको फन्को लगाइरहँदा उनीसँग भएभरको पैसा सकियो । पैसा सकियो त, ठीकै छ । उपचार पनि भएन । पैसा रित्याएर, पीडा ज्यूँका त्यूँ बोकेर उनी आजित भई घर फर्किइन् ।

त्यही अवस्थामा स्थानीय एक युट्युब च्यानलले उनको  पीडा देखाइदिएपछि मान्छेहरुमा उनीप्रति चासो बढ्यो । उनको यो दुःख देखेर धेरैले सरकारलाई गाली गरे, जसले निमुखालाई सहज उपचार दिंदैन । कतिले उनका श्रीमानलाई गाली गरे, जसले आफ्नी श्रीमतीको उपचार गर्ने दायित्वबोध गरेकै छैनन् । जबकि श्रीमान सुस्त र बोल्न नसक्ने अवस्थाका रहेछन् ।

एकातिर भावना, अर्कोतिर चिकित्सा

कोशी हेल्थ कलेजका नर्सिङ प्रथम वर्षका विद्यार्थीहरु आधारभूत नर्सिङ केयर सिक्न अस्पताल आएका थिए । उनीहरुले नै ती गर्भवतीलाई नुहाइधुवाई गरिदिए । उनको दाँत माझ्ने, नङ काट्ने, लुगा फेर्ने सबै गरिदिए । यतिबेलासम्म उनको सम्पूर्ण परीक्षणको रिपोर्ट आयो ।

अब पहिलो काम उनको रक्तचाप नियन्त्रण गर्नु थियो । रक्तचाप नियन्त्रणका लागि औषधि सुरु गरियो । गर्भ रहेको मात्र ३२ हप्ता भएको थियो । यस्तो अवस्थामा बच्चाको शारीरिक विकास राम्ररी भइनसकेको हुनसक्छ । त्यसैले बच्चाको विकास र श्वासप्रश्वास प्रणाली सहज बनाउन औषधि प्रयोग गरियो । गर्भको अवधि केही लम्बाउन सकिन्छ कि भनेर तुरुन्तै शल्यक्रिया गरिएन ।

गर्भको अवधिमा हुने उच्च रक्तचाप र प्रोटिन युरिया (पिसाबबाट प्रोटिन खेर गएको अवस्था) ले उनको अवस्था जटिल भएको थियो । चिकित्सकीय भाषामा यसलाई ‘प्रि-इक्लेम्पसिया’ भनिन्छ । करिब ६ प्रतिशत गर्भवतीहरुमा यस किसिमको जटिलता आउने गरेको अध्ययनले देखाएको छ । यही कारण हरेक वर्ष करिब ५ लाख शिशु र ७० हजार भन्दा बढी गर्भवतीहरुको मृत्यु हुने गरेको विभिन्न प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा २०७८ सालमा गरिएको मातृमृत्यु अध्ययन प्रतिवेदनले कुल मातृमृत्युको ११ प्रतिशत मृत्युको कारण यही ‘प्रि–ईक्लेम्पसिया’ रहेको देखाएको छ । यो तथ्यांकले नै उनको उपचार किन भोजपुरमा सम्भव भएन ? स्पष्ट छ । यस अवस्थामा आमा र बच्चा दुवैलाई खतरा हुन्छ ।

आमालाई आईसीयू र बच्चालाई एनआईसीयूमा राखेर उपचार गर्दागर्दै पनि बचाउन नसकिने अवस्था आउन सक्ने हुन्छ । औषधि, अक्सिजन र सघन कक्षको शुल्क बढी अर्थात् धेरै खर्च गरेर पनि ‘हात लाग्यो शून्य’ हुनसक्छ । यस्तो बिरामीलाई छुने भन्दा पनि रिफर गरिदिन नै ठीक ठान्छन् कतिपय चिकित्सक । तर मलाई त्यस्तो छुट थिएन । उनको उपचारसँग धेरैको भावना जोडिएको थियो । सामाजिक सञ्जालमा उनको अवस्था सार्वजनिक भएदेखि उनको बारेमा सरोकार राख्नेहरु थुप्रै थिए । यद्यपि यो भावनाभन्दा बढी प्राविधिक विषय थियो । ती गर्भवतीको रक्तचाप नियन्त्रण गर्ने मेरो योजना सफल भएन ।

अनि शल्यक्रिया सुरु भयो

कम अवधि (३२ हप्ता मात्र पुगेको) बच्चालाई जोगाउन गाह्रो हुने भएकाले अलिक दिन लम्बाउन सके आमा भन्दा पनि बच्चाको लागि राम्रो हुने थियो, तर सम्भव भएन । उच्च रक्तचापले मिर्गौला, कलेजोमा असर बढ्दै गयो । त्यसैले २५ गते शल्यक्रिया (सिजरियन) गर्नैपर्ने भयो ।

शल्यक्रियाका लागि हामी तयार भयौं । प्रसूतिका लागि अरु किसिमको जटिलता त हामीले झेलेकै थियौं । कति असहज वा असम्भव जस्तो लाग्ने शल्यक्रिया पनि गरिएकै थियो । तर यसपालिको काम फरक थियो ।

शल्यक्रियाका लागि जब हामीले पेट खोल्यौं, त्यहाँ करिब दुई लिटर पानी (असाईटिक फ्लुड) थियो । यस्ता अवस्थामा केही पानी (असाईटिस्) हुनु स्वभाविक थियो तर दुई लिटर ! यो चाहिं पहिलो अनुभव भयो । पहिले पनि अप्रेसन भएको र त्यस अवस्थामा घाउ पनि पाकेकाले बच्चा निकाल्न गाह्रो भयो ।

तर बच्चा सकुशल निकाल्न सम्भव भयो । छोरीको रुँदै जन्म भयो । उनको रुवाई शल्यकक्षमा गुन्जियो, त्यो तनावमा पनि शल्यकक्षमा केही खुसी छल्कियो । शल्यक्रिया सफल भयो । उनको रक्तअल्पताका लागि तीन पिन्ट रगत दिइयो । रक्तचाप पनि सामान्यतर्फ फर्किंदै गयो ।

जटिल अवस्थामा शल्यक्रिया र मात्र १.६ किलोग्रामकी छोरी भएकाले अस्पतालको बसाइ अलि लम्बियो । नौ दिनसम्म उनलाई अस्पताल राखियो । सामाजिक सञ्जालदेखि समाचारहरुमा समेत उनको चर्चा र उपचार गर्ने चिकित्सक समूहप्रति कृतज्ञता प्राप्त भइरह्यो ।

सहयोगी मन र भावना भएकाहरुले आर्थिक सहयोग गरे । यसबाट के भइदियो भने अत्यन्तै विपन्न परिवारका सुत्केरीलाई पुग्दो खाना र पोषणको बन्दोबस्ती भयो । सुत्केरी कुरुवामा रहेका राम्रोसँग बोल्न नसक्ने उनका श्रीमान र जेठाजुलाई भनेको जस्तो खान समस्या भएन । भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रतिनिधि, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष, प्रदेश राज्यमन्त्री समेतले उनीहरुलाई भेटेर आर्थिक सहयोग गरे । उनको समस्या समाधान भयो ।

तर कथा सकिएको छैन

यो कथा सरसर्ती सुखान्त मोडमा सकिएको जस्तो लाग्छ । तर यो कथाको ‘ह्याप्पी इन्डिङ’ भएको छैन । के अब फेरि ती महिलालाई जस्तो समस्या अरुलाई पर्दैन ? दक्षता र क्षमता अभिवृद्धिका लागि स्वास्थ्यकर्मी चिकित्सक वा नर्सहरुलाई तालिमको व्यवस्था छ । तर यो सुविधा सरकारी सेवामा भएकाहरुका लागि मात्र प्राथमिकतामा राख्ने हुन्छ । निजी अस्पताललाई आर्थिक मुनाफाका लागि मात्र स्थापना भएको मानिन्छ ।

निजी अस्पतालमा कार्यरत वा सेवा दिने डाक्टर लगायतका सेवाकर्मीहरुलाई नेपालका नागरिक हुन् र यसै देशका नागरिकलाई सेवा दिन्छन् भन्ने सोच न राज्यले देखाउँछ, न त समाजले । बरु यिनीहरु लुट्न बसेका हुन् समेत भन्न पछि पर्दैनन् । तर जब जटिल अवस्थामा बिरामी पुग्छन्, तब खोजी यिनै निजी अस्पतालहरुको हुन्छ ।

डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग शल्यक्रिया
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

थुक किन आउँछ ?

थुक किन आउँछ ?

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

कर्कलोको तरकारी गुणकारी

कर्कलोको तरकारी गुणकारी

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ