+
+
असई थमन विक हत्या प्रकरण :

पूर्वप्रदेश सांसद कौशल यादवलाई थुनामा पठाउने आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १७:३८

१९ असार, जनकपुरधाम । जिल्ला अदालत महोत्तरीले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको श्रेस्तेदार नुतन झाले जानकारी दिइन् । उनका अनुसार आगजनी मुद्दामा पाँच हजार धरौटीको आदेश दिइएको छ ।

लामो समयदेखि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरी आइतबार अदालतमा पेस गरिएको थियो । असई विकको हत्या आरोपमा पूर्वसांसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएको थियो ।

सोमबारदेखि उनको पक्षविपक्षमा थुनछेक बहस भएको थियो । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

एमाले प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए । यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?