+
+

कांग्रेस एमालेको झगडाले इटहरीमा बस्न सकेन नगर कार्यपालिका बैठक

हरि अधिकारी हरि अधिकारी
२०८१ असार १९ गते १८:५१

१९ असार, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिबीचको विवादका कारण उपभोक्ता समिति र ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएको छ । नगर कार्यपालिका र नगरसभा बैठक पनि अन्योलमा परेको छ ।

इटहरीमा मेयर हेमकर्ण पौडेल कांग्रेसबाट निर्वाचित भएका हुन् भने जनप्रतिनिधिहरुमा एमालेको बाहुल्य छ । मेयर पौडेलले पेलेको भन्दै एमाले जनप्रतिनिधि रुष्ट छन् ।

असन्तुष्टिका कारण १० असारको नगरसभामा एमाले सहभागी भएन, मध्यरातमा कांग्रेसका जनप्रतिनिधिको मात्र उपस्थितिमा मेयर पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गरे । तर एमालेको साथबिना नगरसभाबाट पास हुने सम्भावना छैन ।

सोमबार मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक बोलाएका थिए । तर एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएपछि कोरम पुगेन । पौडेलले उपमहानगरले ठेक्का लगाएका योजनामा भुक्तानीका लागि निर्णय गर्न भन्दै कार्यपालिकाको बैठक बोलाएका थिए ।

बैठक बस्न नसकेपछि मेयर पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिका कारण उपभोक्ता समितिले गरेको कामबापत दिनुपर्ने करोडौं भुक्तानी हुन नसकेको आरोप लगाए । एमाले जनप्रतिनिधिले काम गर्नका लागि असहयोग गरिरहेको उनको भनाइ छ ।

उपमहानगरपालिका स्रोतका अनुसार बजेट किताबमा उल्लेख भएका बाहेक ८ करोड भन्दा बढीका योजना मेयर हेकमर्ण पौडेलले ठेक्का लगाएका छन् । स्रोत सुनिश्चित नभएका ती योजनाको भुक्तानीका लागि कार्यपालिका बैठकबाट स्रोतान्तर गर्नुपर्नेछ । मेयर पौडेलले स्रोतान्तर गर्नुपर्ने बजेट र योजना लुकाएका कारण नेकपा एमाले कार्यपालिका बैठकमा नगएको कार्यपालिका सदस्य तथा वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीले बताए ।

इटहरीका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कार्यपालिकाले स्रोतान्तर नगरे ठेकेदार र उपभोक्ता समितिले गरिसकेको कामको भुक्तानी गर्न नसकिने बताए । उनले स्रोतान्तर गर्नुपर्ने रकम भने खुलाएनन् । ‘कार्यपालिकाले गर्ने निर्णयको विषयमा मैले बाहिर बोल्न मिलेन’, उनले भने, ‘उपमहानगरपालिकाले गरेका कामको भुक्तानीका लागि स्रोतान्तर गर्नुपर्छ ।’

३ का अध्यक्ष सुवेदी मेयर हेमकर्ण पौडेलको कार्यशैलीका कारण कार्यपालिका बैठकमा नगएको बताउँछन् । ‘उपप्रमुखको परिवारमा शोक परेका बेला बैठक बोलाइयो, हामीले दुई दिन सार्न भन्दा सारेनन्’, उनले भने, ‘त्यसपछि हामी गएनौं ।’

उपप्रमुख संगीताकुमारी चौधरीको आफन्तको मृत्यु भएकाले उनको परिवार शोकमा रहेको सुवेदीले बताए ।

कार्यपालिकामा छलफल नै नगरी एकलौटी रुपमा अघि बढाएका योजनाको भुक्तानीका लागि मेयर पौडेलले जोडबल गरिरहेको उनको भनाइ छ । ‘कार्यपालिकाले निर्णय गरेका कामको भुक्तानीमा समस्या छैन, मेयरले एकलौटी रुपमा गरेका कामका लागि स्रोतान्तर गर्नुपर्ने बाध्यता छ’, सुवेदीले भने, ‘स्रोतान्तरको रकम उहाँले नखुलाइ ल्याउन खोज्नुभएको छ, त्यहाँ षड्यन्त्र छ भन्ने हाम्रो बुझाइ हो ।’

पालिकाले बजेटमाथिको छलफलका लागि शुक्रबारका लागि नगरसभा बोलाएको छ । तर त्यो छलफलमा पनि नजाने एमालेको तयारी छ । वडा अध्यक्ष सुवेदीले नगरसभामा सहभागिताको विषयमा मेयर पौडेलले आफूहरुसँग छलफल नगरेको बताए ।

केन्द्रमा एमाले र कांग्रेस मिलेपनि इटहरीमा मेयर पौडेलको कार्यशैलीका कारण सम्भव नभएको उनले बताए ।

‘इटहरीमा माथिको प्रभाव पर्ने सम्भावना छैन, अब (मेयर) एक्लै हिड्न खोजेपछि हामीले कसरी बुझ्ने ?’, उनले भने, ‘नगरको विषयवस्तु हो, केन्द्रको दबाबले के हुन्छ र ?’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?