+
+

इच्छाराज तामाङ विरुद्ध सहकारी ठगीमा पूरक अभियोगपत्र दायर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १८:१८

१९ असार, काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीमा इच्छाराज तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठ विरद्ध पूरक अभियोगपत्र दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान भएर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो ।

१८ असार २०८१ मा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र  दायर गरेको हो ।

सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरोले २०७८ सालमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेको केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी सहित सीआईबीले प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनको आधारमा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौांले उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो ।

उक्त ठगी मुद्दा पूर्वपक्षका लागि थुनामा रहेका तामाङ र केशवलाल श्रेष्ठ विरुद्ध ७ करोड ८८ लाख ४५ हजार बिगो भराउनु पर्ने माग गर्दै पूरक अभियो दर्ता भएको हो ।

इच्छाराज तामाङ सहित उनको समूहले बचतकर्तालाई १७ प्रतिशतसम्म ब्याज दिने र सुनको सिक्का उपहार दिने लोभ देखाइ बचत संकलन गर्ने गरेका थिए । यसरी सर्वसाधारणबाट संकलन भएको बचत आफ्नो निजी व्यवसायमा लगानी गर्ने गरेका थिए ।

सहकारी ऐनको व्यवस्था विपरीत सिभिल सहकारीले काठमाडौंका सिभिल मलमा ५० प्रतिशत सेयर लगानी गरेका प्रतिवादीहरू इच्छाराज तामाङ र केशवलाल श्रेष्ठको बयानले नै खुल्छ ।

सिभिल मल सञ्चालक लाजकाजी गुरुङले सञ्चालन गरी भाडा व्यक्तिगत रूपमा अपचलन गरिरहेका इच्छाराज तामाङले आफ्नो बयानमा बताएका छन् ।

उक्त मलबाट मासिक रूपमा नै ६ करोड भाडा उठाउने र त्यसको ५० प्रतिशत सिभिल सहकारीको हक भएपनि गुरुङले नै एकलौटी प्रयोग गरेको इच्छाराज तामाङको बयान देखिन्छ ।

इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना, मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको दोषी ठहर भएका छन् ।

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणका आरोपमा मुद्दा दायर गरेको थियो । उनीहरूमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन् ।

इच्छाराज विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा चलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान अघि बढायो । त्यसक्रममा उनले ३ अर्ब ३१ करोड रुपैयाँको स्रोत नखुलेको फेला परेको विभागले दाबी गरेको थियो ।

विभागले दायर गरेको अभियोगपत्रको आधारमा उनीहरू विशेष अदालतबाट दोषी ठहर भएका हुन्  ।

विशेष अदालतले इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ ।

विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ । सम्पत्ति शुद्धीकरण अभियोगमा इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ ।

इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।

इच्छाराजका छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरू, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।

उनले ६९ वटा कम्पनीहरूमा सेयर लगानी गरेको फेला परेको छ । ८० करोड रुपैयाँभन्दा बढी रकम उनले सेयर र कम्पनीहरूमा लगानी गरेका थिए । विभागले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार, उनले सहकारीको रकम सिभिल होम्समा लगानी गर्थे, सिभिल होम्सको आम्दानी सिभिल समूहकै अरू कम्पनीमा लगानी गर्थे ।

सिभिल होम्सले पछिल्ला वर्षहरूमा सहकारीको ब्याज समेत बुझाउन सकेको थिएन । कर्जा असुली नभएको अवस्थामा लिलामी प्रक्रिया थाल्नु पर्नेमा इच्छाराजकै कम्पनी भएका कारण सिभिल होम्सको ऋणमाथि आँखा चिम्लियो । यता सहकारी भने बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुग्यो ।

कोरोना महामारी सुरु हुनुअघि सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उसले सिभिल समूहका तीनवटा कम्पनीलाई मात्रै ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ प्रवाह गरेको भेटिएको थियो ।

सिभिल सहकारीबाट सिभिल होम्सले ७ अर्ब १ करोड ३७ लाख, सिभिल अपार्टमेन्टले ३४ करोड ६७ लाख र सिभिल स्टेटले ६ करोड ६८ लाख रुपैयाँ कर्जा लिएका थिए । सुन्धाराको ६ रोपनी जग्गा धितो राखी तीन कम्पनीले सिभिल होम्स, सिभिल अपार्टमेन्ट, सिभिल इस्टेट्सले फरक फरक ऋण लिएका थिए ।

सहकारीकै रकम दुरुपयोग गर्दै उनले २०७४ सालमा परिवारका नाममा कीर्तिपुरमा करिब १५ रोपनी जग्गा किनेका थिए । उनले आफैं सञ्चालक भएको सिभिल बैंकबाट पनि रकम निकालेको फेला परेको थियो ।

सांसद भएकै बेलामा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पनि अनुसन्धान अघि बढाएको थियो ।

तर राजनीतिक प्रभावका कारण अनुसन्धान टुंगोमा पुग्न सकेन र अख्तियारले फाइल तामेलीमा पठाएको थियो ।

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?