+
+

निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धनका कलेजलाई विद्यार्थी भर्ना नगर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १८:१२

१९ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ विपरीत सञ्चालनमा रहेका शिक्षण संस्थाहरूलाई विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ ।

निर्देशिकाले टाइम्स हायर एजुकेसन र सांघाई र्‍याङ्किङको उत्कृष्ट १ हजारभित्र हुनुपर्ने व्यवस्था गरेको छ । यो सर्त पूरा नगरेको भन्दै मन्त्रालयले त्यस्ता शिक्षण संस्थाहरूलाई विद्यार्थी भर्ना नगराउन निर्देशन दिंदै सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ ‘विगतमा गरिएको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिकाअनुसार न्यूनतम सर्त पूरा नगरेका, टाइम्स हायर एजुकेसन र सांघाई र्‍याङ्किङको १ हजारभित्र नपर्नेको हकमा हाललाई विद्यार्थी भर्ना नगर्न/नगराउन हुन सम्पूर्ण विद्यार्थी, अभिभावक एवं सर्वसाधारणको जानकारीका लागि बेवसाईटमार्फत सूचित गर्ने मन्त्रीस्तरीय निर्णय भएको हो ।’

मन्त्रालयले सूचनामार्फत निर्देशिकामा भएका प्रावधानको पालना सुनिश्चितता गर्न अनुरोध गरेको छ । साथै विद्यार्थी एवम् अभिभावकहरूलाई निर्देशिका अनुसार भए, नभएको यकिन गरेर मात्र शैक्षिक संस्थाको छनोट गर्नसमेत अनुरोध गरेको छ ।

मन्त्रालयले गत वैशाखमा विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनका लागि पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले निर्देशिका विपरीत शिक्षण संस्थाहरू सञ्चालनमा रहेको, सिफारिस समितिको अध्यक्ष मन्त्री रहने व्यवस्था हटाउनुपर्ने, टाइम्स हायर एजुकेसन र सांघाई र्‍याङ्किङको उत्कृष्ट ५ सयभित्र भएका विश्वविद्यालयको मात्रै सम्बन्धनमा कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने लगायतको सुझाव दिएको छ ।

मन्त्रालयले समितिको सुझाव अनुसार निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ । त्यसका लागि उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलको म्याद थप गरी १५ दिनभित्र मस्यौदा तयार गरी पेस गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

शिक्षण संस्थाहरूको विवरण अद्यावधिक राख्ने तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण र छनोट विधि शैक्षिक सत्र सुरु भएको ३ महिनाभित्र मन्त्रालयमा पेस गरी सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रालयले यसअघि वितरण भएका छात्रवृत्तिको विवरण पनि मन्त्रालयमा पेस गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?