+
+
विचार :

प्रचण्ड पतनको पराकाष्ठा

युद्धकालदेखि नै उपयोगको राजनीतिमा माहिर मानिएका प्रधानमन्त्री प्रचण्ड स्वयंको उपादेयता अब कति ?

डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई
२०८१ असार १९ गते १८:४८

संसदका प्रमुख दुई दलहरू मिलेर बनेको नयाँ सत्ता समीकरण बारे अनेकौं प्रतिक्रियाहरू आइरहेका छन् । हाम्रो जस्तो देशमा भूराजनीति गम्भीर भए पनि आन्तरिक पक्ष नै प्रधान हुन्छ । पछिल्लो चुनावी परिणाम आएको डेढ वर्षभित्र चारपटक सरकार परिवर्तन हुने र कुनै पनि सरकारले उल्लेखनीय रूपमा राष्ट्रिय समस्याहरूको समाधानको उन्मुखता नदेखाउने, संकट झन् झन् गहिरिंदै जाने अवस्था देखियो । सरकार परिवर्तनको मुख्य कारण यही संकट हो ।

यस्तो अवस्थामा अरु तेस्रो पक्षले खेल्न सक्छन्, त्यो अलग कुरा हो । त्यसको अर्थ अरु सबै चोखा छन् भन्ने होइन ।

यहाँनेर ध्यान दिनुपर्ने कुरा, नेपाली कांग्रेस र नेकपा एमाले उल्लेखित संकटको समाधान होइनन् । उनीहरू २०४६ सालको संविधानलाई नै विश्वको सर्वश्रेष्ठ संविधान मान्ने शक्ति हुन् र त्योभन्दा अगाडिका उपलब्धिहरूप्रति प्रतिबद्ध शक्तिहरू होइनन् । माओवादी जनयुद्ध र त्यसका पूरक आन्दोलनहरूबाट बाध्यतावश तानिएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म उनीहरू पुगेका हुन् । उनीहरूलाई तान्ने मुख्य इन्जिन त माओवादी जनयुद्ध थियो । जब इन्जिन नै बिग्रियो, थोत्रियो र भ्रष्टीकृत भयो, स्वतः यो गाडी (कांग्रेस-एमाले त्यसैको अंग न हुन्) लाई तान्न सक्ने कुरा भएन ।

प्रचण्ड सत्तालिप्सा

गत निर्वाचनपछि चारवटा सरकार परिवर्तन भए र ती प्रत्येक सरकारमा प्रचण्ड केन्द्रमा रहे । त्यसमा कुनै सिद्धान्त, आदर्श, मूल्य-मान्यता देखिएन । केवल उनको सत्ता स्वार्थ र त्योसँग जोडिएका अन्य स्वार्थहरू मात्रै देखिए ।

पटकपटक सरकार बदलिए पनि देशका मूलभूत समस्याहरू उस्तै रहे । भूराजनीतिक जटिलताले राष्ट्रिय स्वाधीनता र अर्थतन्त्रमा परेको असर समाधान गर्ने अग्रसरता देखिएन । ईपीजी लगायतका मुद्दाहरूलाई सम्बोधन गर्ने विषय कुनै सुरुवात भएन । आन्तरिक रूपमा लोकतन्त्रलाई थप उन्नत बनाउनको निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानका कतिपय अपूर्णता र त्रुटिहरूलाई सच्याउन संविधान संशोधन लगायत कानुन निर्माण लगायतका पहलहरूको सन्दर्भमा पनि केही पनि प्रगति भएन ।

यो पृष्ठभूमिमा हाम्रो निष्कर्ष छ- बारम्बार सरकार परिवर्तन र अस्थिरता हुनुको पछाडि निर्वाचन प्रणालीमै कमजोरी छ । कांग्रेस-एमालेले नमाने पनि माओवादी आन्दोलनको नेतृत्वको नाताले प्रचण्डले यसमा पहल गर्न सक्थे । प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक, प्रत्यक्ष निर्वाचित व्यवस्था र प्रदेशसभा भनेका थियौं, त्यसबारे उनले कतै पनि कुरा उठाएनन् ।

प्रचण्डमा वैचारिक, राजनीतिक र नैतिक हिसाबले एकप्रकारले स्खलित हुँदै गएकै थियो । उनको यस्तो स्खलन हामीले जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै पछिल्लो चरणसम्म देखेकै थियौं ।

सुशासन पनि अत्यधिक कमजोर रह्यो । पटकपटक सरकार परिवर्तन हुने, मन्त्री र सचिव फेर्ने मात्रै भयो । सुशासन कायम गर्ने विषय पनि सार्थक ढंगले अगाडि बढेन । आफ्नो विपक्षीहरूलाई अलिकति तर्साउन यी मुद्दाहरू उठाए जस्तो मात्रै गर्ने र लुकाउने मात्रै काम भयो । भ्रष्टाचार रोक्नको निम्ति हामीले लोकपाल लगायतका संस्थाहरूको निर्माण र संस्थागत ढंगले सम्बोधन गर्न माग गरेका थियौं, त्यतातिर कुनै ध्यान दिएनन् । कुनै कुनै विषय विपक्षी र आफ्नै पार्टीभित्रका प्रतिपक्षलाई तर्साउन कुरा उठाउने र गुपचुप पार्नुबाहेक सुशासनको क्षेत्रमा प्रचण्डले केही पनि काम गर्न सकेनन् ।

देशमा आर्थिक दूरावस्था छ । व्यापक बेरोजगारी र पचासौं लाख युवाहरू विदेश पलायन हुने अवस्था छ । देशको उद्योगधन्दा पहिले नै चौपट भइसकेकै थियो । कृषि, वित्तिय लगायतका क्षेत्रहरूमा पनि सुधार गर्नुको साटो झन झन संकट थपिएकोले जनतामा चरम निराशा भाव थियो । यसैको वस्तुगत परिणाम नै प्रचण्डप्रति जनताको आक्रोश बढेको थियो । यसैको अभिव्यक्ति अहिले सरकार परिवर्तन हो । अहिले पुराना दलहरू कांग्रेस र एमाले मिलेर प्रचण्डलाई विस्थापन गरेका न हुन् ।

तर यो समाधान होइन । कांग्रेस एमालेभित्रका पनि झण्डै तीन दशकदेखि करिब करिब सत्ताकै वरिपरि बसिराखेको मूल नेतृत्वले पनि यी मुद्दाहरूमा सार्थक ढंगले समाधान दिने पहल गरेका छैनन् । यसैको वरिपरि विमर्श गरेर समाधान खोज्नुपर्छ ।

उपयोगको राजनीति र प्रचण्डको उपादेयता

प्रचण्डमा वैचारिक, राजनीतिक र नैतिक हिसाबले एकप्रकारले स्खलित हुँदै गएकै थियो । उनको यस्तो स्खलन हामीले जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै पछिल्लो चरणसम्म देखेकै थियौं । त्यसैले माओवादी पार्टी र आन्दोलन उनको नेतृत्वमा सच्चिंदैन भन्ने निष्कर्षसहित नै ०७२ सालमा हामीले माओवादी पार्टी परित्याग गरि नयाँ शक्ति अभियान सुरुवात गरेका थियौं । त्यो कुनै लहडमा गरिएको थिएन ।

तर त्यसदेखि यताको झण्डै एक दशक प्रचण्ड र उनको पार्टी निरन्तर सत्तामा छ । यो अवधिमा सुधार गर्नेतर्फ केही पनि भएन । बरु प्रचण्ड विभिन्न प्रकारका भ्रष्टाचारका प्रकरणमा मुछिए । उनका आसेपासेहरू पोसिए । आफ्नै आफन्तहरूको विषयमा पनि प्रश्न उठे । यो सबै उनको नैतिक र वैचारिक स्खलन र विचलनको कुरा भयो ।

बहुदलीय लोकतन्त्रको सामान्य राजनीति मूल्य मान्यता अनुसार कुनै पनि दलको बहुमत नआइसकेपछि अरुसँग मिलेर गठबन्धन गर्नुपर्ने हुन्छ । त्यसको निम्ति सहमति समझदारी गर्नुपर्ने बाध्यता हुन्छ, त्यसलाई पनि उनले पालना गरेको देखिएन । सुरुमा चुनाव नेपाली कांग्रेस, नेपाल समाजवादी पार्टी लगायतसँग मिलेर लडे तर निर्वाचन लगत्तै एमालेसँग सरकार बनाउने काम गरे । पुनः एमाले छाडेर कांग्रेसतिर गए । फेरि एमालेतिर गए । यी गतिविधिमा पनि उनको अरुलाई उपयोग गर्ने र धोका दिने चरित्र मात्रै देखियो । यसरी हेर्दा प्रचण्डको यो स्खलन सबै विचलन र पतनको पराकाष्टा हो ।

प्रचण्ड स्खलनको शृङ्खला

प्रचण्ड सामान्य न्यून मध्यम वर्गबाट आएका मान्छे हुन् । वर्गीय हिसाबले न्यून पूँजीवादी अथवा न्यून मध्यम वर्गीय परिवारको अस्थिर चरित्र हुन्छ, अवस्था हेरेर तलमाथि र दायाँबायाँ गरिरहन्छ । त्यसको अभिव्यक्ति हिजो पनि देखिन्थ्यो । तैपनि एउटा चरणसम्म त उनले एउटा भूमिका निर्वाह गरे, केही पनि गरेनन् भन्न मिल्दैन ।

तर उनको वैचारिक राजनीतिक गहिराई र प्रतिबद्धता भन्दा पनि बढी हाटहुट गर्ने र आफू नै सत्ताको केन्द्रमा रहने प्रवृत्ति सुरुदेखि नै देखिन्थ्यो । तत्कालीन मशालको नेतृत्वमा रहँदा २०४३ सालमा मोहन वैद्य किरणको नेतृत्वमा सेक्टर काण्ड घट्यो । त्यो गलत त थियो तर त्यसको बहाना पारेर प्रचण्डभन्दा सिनियर सबै नेताहरूलाई बाइपास गरेर उनी आफैं एकैचोटि ३५ वर्षको उमेरमा नेतृत्वमा आए ।

त्यतिबेला पनि प्रचण्डमा चरम महत्वाकांक्षी छन् भन्ने देखिन्थ्यो । त्यसपछि एकता केन्द्र हुँदै माओवादीसम्म आउँदा पनि दोहोरो भूमिका निर्वाह गर्ने चरित्र उनको देखिन्थ्यो । अगाडि मुखले ठिक्क पार्ने, तर दोहोरो भूमिका खेल्ने, आफू निकटका मानिसलाई उचालेर अर्कै काम गराउने गर्दथे ।

त्यहीक्रममा हो, माओवादी आन्दोलनमा आलोक प्रवृत्ति देखिएको । सुरुमा आलोकलाई प्रचण्डले नै प्रयोग गरे । पछि आलोक बदनाम भइसकेपछि उनैलाई बली चढाएर आफू चोखिन खोज्ने कोसिस गरे । त्यतिबेला पनि मानिसहरूले सानो स्वरमा भन्थे- वास्तवमा आलोक प्रवृत्ति भनेकै प्रचण्ड प्रवृत्ति हो । आलोकले त केवल प्रचण्डको देखासिकी मात्रै गरेका हुन् ।

यसरी उनको विस्तारै वर्ग उत्थान भयो । उनको आत्मकेन्द्रित र फट्याइँगिरी गर्ने प्रवृत्ति हुर्कंदै थियो । पछि जनयुद्ध सँगसँगै साधनस्रोत र शक्ति केन्द्रित हुँदै गयो । सत्ताको केन्द्रीकरण भन्ने विषयले पनि उनलाई झन् विकृतिको केन्द्रतिर लाँदै थियो । त्यतिबेलै (२०५५/५६ साल) देखि नै यसरी बढी सत्ता र शक्तिको केन्द्रीकरणले बिगार्छ, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखिएको स्टालीन प्रवृत्ति दोहोर्‍याउनु हुँदैन भनेर म लगायतका साथीहरूले बहस चलायौं ।

तर उनले त्यसलाई विषयान्तर गरे र पार्टीभित्र अस्वस्थ अन्तरसंघर्ष गराए । यो सबै अभ्यास हेर्दा शान्ति प्रक्रियामा आएपछि जब उनी सत्ताको पनि नजिक भए, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बन्न थाल्यो, साधन र स्रोत उनीमा केन्द्रित भइसकेपछि त्यो भ्रष्टीकरण बढ्दै गयो र अहिलेको विन्दुमा पुग्यो ।

प्रचण्ड सामान्य न्यून मध्यम वर्गबाट आएका मान्छे हुन् । वर्गीय हिसाबले न्यून पूँजीवादी अथवा न्यून मध्यम वर्गीय परिवारको अस्थिर चरित्र हुन्छ, अवस्था हेरेर तलमाथि र दायाँबायाँ गरिरहन्छ ।

व्यक्ति कमजोर हुनु धेरै चिन्ताको कुरा होइन तर, सिंगो माओवादी आन्दोलन कमजोर बनाउनु बिडम्बनापूर्ण कुरा हो । यो अवस्थामा अब कांग्रेस र एमालेको पनि पुरानो नेतृत्व अगाडि आए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र उनीहरूका मुद्दा होइनन् । बाध्यतावश उनीहरूले अंगालेका थिए । माओवादी आन्दोलनको प्रमुख र औपचारिक हिसालबे नै नेतृत्व सम्हालेका अब अहिले प्रचण्डमै स्खलन र पतन भइसकेपछि यस्तो हुनु अस्वाभाविक पनि भएन ।

भलै प्रचण्ड नै माओवादी आन्दोलन होइनन्, हामी सबैको विद्रोहको बलमा उठेको आन्दोलन हो । तैपनि एउटा बिम्ब त प्रचण्ड भनेर उनीमै केन्द्रित भयो । त्यसैले माओवादी आन्दोलन र त्यसले उठाएका मुद्दा र त्यससँग जोडिएका मधेसी, जनजाति आन्दोलनले उठाएका मुद्दा अलपत्र र टुहरोजस्तो बनेको छ ।

फेरि यसैको बलमा कांग्रेस एमाले भित्रका पनि अलि प्रतिगामी सोच राख्ने शक्तिहरूले यो परिवर्तनलाई उल्ट्याउने दिशातिर लग्नेगरी संविधान संशोधनको कुरा उठाइरहेका छन् । नेपाल जस्तो वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय विविधता र असमानता विद्यमान समाजमा समावेशिता भनेको लोकतन्त्रलाई समावेशी लोकतन्त्रमा स्तरोन्नति गर्ने सर्वोत्तम विधि हो । यसो नगरी समस्याको समाधान हुँदैन । संविधान संशोधनको नाममा सकारात्मक कुराहरूलाई थप उन्नत बनाउनुपर्ने आवश्यकताको सट्टा पछाडि फर्काउनु भनेको २०५२ साल पछिका आन्दोलनकारी शक्तिहरूले स्थापित गरेका मुद्दालाई प्रतिशोधपूर्ण ढंगले क्रमशः भत्काउनु हो जुन सर्वथा गलत हुन्छ ।

पछाडि फर्कनु समाधान होइन । प्रचण्डले जुन बेइमानी र बदमासी र गलत हर्कत गरे त्यसको बहानामा देशमा प्राप्त उपलब्धिलाई उल्ट्याउने गरी कोही पनि जानु हुँदैन । समाधान त अग्रगामी ढंगले गएर मात्र हुन्छ ।

नयाँ र वैकल्पिक शक्तिले परिवर्तनका उपलब्धिमा अडिएर यसका अपूर्णतालाई पूर्णता दिंदै उन्नत दिशातिर जानुपर्छ । हामी यही प्रयत्न गरिरहेका छौं । यो एजेन्डाको महत्व आगामी दिनमा थप बढेर जानेछ ।

दक्षिणपन्थी वैश्विक हावा र शून्यता

केही समययता विश्वव्यापी रूपमै पपुलिज्म हाबी हुँदै गएको छ । अग्रगामी चेत भुत्ते भएर विभिन्न बहानामा लोकतान्त्रिक देशहरूमा पनि प्रतिगमनकारी र दक्षिणपन्थी पपुलिस्ट शक्तिहरू हाबी हुँदै गएका छन् । उनीहरूले विचार, सिद्धान्त, मूल्यमान्यता र आदर्शलाई कम आँक्ने प्रवृत्ति चिन्ताजनक छ ।

पछिल्लो चरणमा सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रयोगले मानिसहरूले गलत सूचना पाइरहेका छन् र यसैमा मानिस आत्ममुग्ध भइरहेका छन् । गम्भीर संरचनात्मक विषयहरूमा ध्यान नदिंदा विचार र राजनीतिको पक्ष विश्वव्यापी रूपमै कम भएको छ ।

हाम्रो जस्तो भर्खरै लोकतान्त्रीकरण र आधुनिक शिक्षा ज्ञान प्रणालीमा दीक्षित हुन लागेको समाजमा चेतनाको स्तर पनि कम छ । त्यसैले समग्रमा वैचारिक राजनीतिक स्तर कम भएकै हो ।

यस्तो अवस्थामा राजनीतिक नेतृत्वले नै दिशाबोध गर्नुपर्ने ठाउँमा हिजोको मूल राजनीतिक नेतृत्व कांग्रेस, एमाले पछि आएको माओवादी र त्यो आन्दोलनसँग जोडिएका नेताहरू नै सत्तामा गएर भ्रष्टीकरण भइसकेपछि एकप्रकारको शुन्यता देखिएकै हो जुन गम्भीर विषय छ ।

यसको दीर्घकालीन समाधान भनेको सही ढंगको नीति र कार्यक्रम नै हो । त्यसैले हामीले वैकल्पिक शक्तिका रूपमा पाँच ‘स’ र समुन्नत समाजवाद अथवा लोकतन्त्रमा आधारित समाजवादको विकल्प दिनुपर्छ भनेर बहस उठान गर्न खोजेका हौं ।

प्रचण्डसँग सहकार्य 

प्रचण्डको सबैलाई निजी र सत्ता स्वार्थको निम्ति प्रयोग गर्ने, ठग्ने प्रवृत्ति धेरै उदाङ्गो भइसक्यो । अब त्यही हतियार फेरि प्रयोग गर्न उनले पनि लाज मान्नुपर्ने हो । त्यसबारे म टिप्पणी गर्न चाहन्न ।

नेपालको ठूलो विद्रोहपछि राजनीतिक रुपान्तरण सहितको शान्ति सम्झौता हामीले गर्‍यौं । त्यसका मुख्य तीन आयाम मध्ये संविधान निर्माण र सेना समायोजनको काम हामीले सम्पन्न गर्‍यौं । तर सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगका कामहरू अहिले पनि बाँकी छन् । यी तीनवटा अन्तरसम्बन्धित विषय थिए । त्यसैले यसलाई पूरा गर्नको निम्ति प्रचण्ड लगायतका कांग्रेस एमालेका शक्तिहरूसँग पनि मिलेर काम गर्नुपर्छ भनेर मैले त्यसमा हात बढाएकै हो ।

अहिले पनि मैले कांग्रेस र एमालेका नेताहरूसँग त्यही कुरा भनिरहेको छु । हामी सबै मिलेर यो कुरा पूरा गरौं । भलै १० वर्षदेखि सत्तामा रहँदा पनि प्रचण्डले न यी मुद्दालाई उठाए न त एक कदम मात्रै भए पनि अगाडि बढाए ।  त्यसैले अब फेरि उनले आएर गोहीको आँसु झार्दैमा हामी भ्रमित हुनु हाम्रै मुर्खता हुन्छ । त्यस्तो गर्नुहुँदैन ।

लेखकको बारेमा
डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका लेखक नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?