
१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन लगायत विषयमा एसियाली विकास बैंक (एडीबी) सँग छलफल गरेको छ ।
बुधबार महानगरकी उपप्रमुख सुनिता डंगोलले यस विषयमा एडीबीका प्रतिनिधिसँग छलफल गरेको महानगरले जनाएको छ ।
दक्षिण एसियाली महाशाखा पोर्टफोलियो म्यानेजमेन्ट प्रमुख नेतृत्वको प्रतिनिधि मण्डलसँग भेट गर्दै उनले सहरी सुरक्षा, हरियाली प्रवर्द्धन लगायत विषयमा कुराकानी गरेकी हुन् ।
महानगरका अनुसार भेटका क्रममा इकोलोजिकल सहरी नवीकरण परियोजना तयारी अध्ययन, सहरमा हरियाली (ग्रिन स्पेस) र जल सम्पदासँग सम्बन्धित क्षेत्र (ब्लु स्पेस) को संरक्षण र सम्बर्धनका लागि बृहत र एकीकृत पारिस्थितिकीय रूपान्तरण रणनीतिका विषयमा कुराकानी भएको छ ।
भेटमा उपप्रमुख डंगोलले काठमाडौंको भौगोलिक, सांस्कृतिक, सामाजिक तथा पर्यावरणीय अवस्थितिका बारेमा जानकारी गराउँदै मौलिक जीवनपद्धतिभित्रको वैज्ञानिक पक्ष, काठमाडौँ महानगरको विशेषता रहेको उल्लेख गरेकी थिइन् ।
छलफलमा एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट प्रमुख हिकारु सोजीले ‘पानी व्यवस्थापन प्रणाली, प्रदूषण न्यूनीकरण, सार्वजनिक स्थान र सम्पदा संरक्षण लगायत कामबाट सहरलाई पर्यावरणमैत्री बनाउन सकिने सुझाव दिएका थिए ।
सहरभित्रका नदी किनारा र कोरिडोर, फोहरमैला व्यवस्थापन, सार्वजनिक यातायात प्रणाली, हिँड्ने तथा साइकल चलाउने संस्कार विकास, जग्गा विकास कार्यक्रमलगायत विषयमा एडीबीले चासो राखेको महानगरले जनाएको छ ।
प्रतिक्रिया 4