+
+

कांग्रेसबाट नेतृत्व गरेर सरकारमा को जाला ?

अब बन्ने भनिएको ओली सरकारमा कांग्रेसले गृह लिने भएसँगै त्यहाँ को जाने, अनि पार्टीबाट मन्त्रिपरिषद्मा कसले नेतृत्व गर्ने चर्चा सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १९:१५

१९ असार, काठमाडौं । नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउने सहमति गरेसँगै नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गरेर जाने पात्रका बारेमा चर्चा सुरु भएको छ ।

कांग्रेसबाट सरकारमा नेतृत्व गरेर जाने व्यक्तिहरुमा सर्वाधिक चर्चामा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाको नाम आएको छ । सिटौलासँगै पार्टीबाट नेतृत्व गरेर जानसक्ने सम्भावित नेताहरुमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालगायतको नाम आएको छ ।

नेकपा एमालेसँग भएको सहमति अनुसार कांग्रेसको भागमा गृहसहित १० मन्त्रालय पर्नेछन् । दुई दलबीच अन्य मन्त्रालयको भागवण्डा भने भइसकेको छैन । गृह कांग्रेस र अर्थ एमालेले लिने सहमति बनेको छ । कांग्रेसले गृह लिने भएसँगै उक्त मन्त्रालयको जिम्मेवारी कसले प्राप्त गर्ने र सरकारमा पार्टीबाट नेतृत्व कसले गर्ने बारे कांग्रेसमा चर्चा सुरु भएको छ ।

पार्टीबाट नेतृत्व गरेर कसलाई पठाउने विषयमा औपचारिक छलफल गर्ने समय नआइसकेको सहमहामन्त्री भीष्म आङ्देम्बेले बताए । उनले भने, ‘यो सरकार कुन मितिमा जाने भन्ने निश्चित भएको छैन । यो सरकार हटेपछि कसलाई पठाउने बल्ल छलफल सुरु हुन्छ ।’

कांग्रेस नेताहरुका अनुुसार चर्चामा रहेका नामहरु मध्ये नेता सिटौलाको नाम सर्वाधिक अघि छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट उनीसँग ट्याकल गर्नसक्ने व्यक्ति सिटौला हुनसक्ने एक पदाधिकारीले बताए । ओलीसँग सरकारमा सहकार्य सहज नहुने संशय कांग्रेसमा उत्पन्न भइसकेको छ ।

‘क्याबिनेटमा चेक एण्ड व्यालेन्स गर्न नसक्ने व्यक्ति नपठाए ओली एक्लै हाबी हुन सक्छन्, यस्तोमा सबै हिसाबले ओलीलाई ट्याकल गर्नसक्ने सिटौला हुनसक्ने देउवालाई लाग्नसक्छ’, कांग्रेसका एक पदाधिकारी भन्छन् । देउवा पक्षीय एक नेताका अनुसार कसले नेतृत्व गरेर जाने ‘सिन क्लियर’ भएको छैन ।

‘आकांक्षा राख्ने धेरै देखिएका छन् । भोलि सभापति हुन खोज्ने सबैले कांग्रेसबाट नेतृत्व गरेर जान खोजेको देखिन्छ’, देउवा निकट नेता भन्छन्, ‘सभापतिले कसैलाई केही संकेत गर्नुभएको छैन । उहाँको मुड बुझिएको छैन ।’

सिटौला निकटका नेताहरुका अनुुसार उनी मन्त्री हुन मरिहत्ते गर्ने पक्षमा छैनन् । मंगलबार सिटौलालाई भेटेका उनी निकट एक नेताले भने, ‘उहाँले खासै जाँगर देखाए जस्तो लागेन । मरिहत्ते गरेर मलाई मन्त्री बनाउ भनेर देउवाकहाँ नजाने उहाँको कुरा थियो ।’ सिटौला निकटका नेताहरुले भने अवसर आए जिम्मेवारी लिनुपर्ने राय दिएका छन् ।

सभापति देउवा प्रधानमन्त्री हुने वातावरण बनाउनका लागि पनि सिटौला आवश्यक हुने उनी पक्षीय नेताहरुको दाबी छ । डेढ वर्ष पछि प्रधानमन्त्री देउवा हुने गरी दुई दलको सहमति बनेको छ । सहमति अनुसार त्यतिबेला ओलीले देउवालाई सहजै सत्ता हस्तान्तरण नगर्ने आशंका कांग्रेसमा पलाइसकेको छ ।

‘देउवा प्रधानमन्त्री बन्ने वातावरण बनाइराख्ने र प्रधानमन्त्रीलाई आफूखुुसी निर्णय गराउन नदिन अन्य भन्दा उहाँमा क्षमता छ,’ सिटौला निकट नेता भन्छन् ।

झापामा देखिएको दुई दलको तिक्तताले एउटै मन्त्रिपरिषदमा ओली–सिटौला सहजै रहन नसक्ने विश्लेषण समेत कांग्रेसमा गरिएको छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनले सिटौला झापामा पराजित हुँदै आएका छन् । ‘केपी ओलीको मातहत रहेर कृष्ण दाइ सरकारमा जानेमा शंका चाहिं छ है,’ शीर्ष तहका नेताले भने, ‘ओलीसँग उहाँको कुरा मिल्छ जस्तो मलाई लाग्दैन ।’

कदाचित् सिटौलाले कांग्रेसको नेतृत्व गरेर जाँदा गृह मन्त्रालय नै सम्हाल्न पाउने/नपाउने दुई थरी विचार आएका छन् । गृह मन्त्रालय सिटौलाले लिएर उनैले पार्टीबाट नेतृत्व गर्ने केही नेता विश्लेषण गर्छन् ।

केही नेताहरु भने नयाँ गठबन्धन बनाउन सर्वाधिक सक्रिय रमेश लेखकलाई गृहमन्त्री बनाएर सिटौलाले उपप्रधान सहित अन्य कुनै मन्त्रालय सम्हाल्ने सम्भावना रहेको तर्क गर्छन् । संस्थापन पक्षका एक नेताले सुनाए, ‘यो गठबन्धन बनाउन देउवाले सबैभन्दा विश्वास गरेर खटाएका रमेश लेखक हुन् । देउवाले गृहमन्त्री उनैलाई बनाउन सक्छन् ।’

उपसभापति पूर्णबहादुर खड्का यसअघि मन्त्री बनिसकेकाले उनी पुनः सरकारको नेतृत्व गरेर जाने सम्भावना न्यून छ । अर्कोतर्फ, पछिल्लो समय देउवाले खड्कालाई निर्णय प्रक्रियाबाट अलग राख्न थालेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकट नेताहरुका अनुसार ओली नेतृत्वको सरकारमा जाने मनस्थितिमा उनीहरु दुबै जना छैनन् ।

नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह पार्टीबाट नेतृत्व गरेर सरकारमा जाने आकांक्षी भएपनि उनीलाई पठाउन देउवा तयार नभएको संस्थापन पक्षका नेताहरु दाबी गर्छन् ।

संस्थापनइतरका नेता डा.शेखर कोइराला सरकारमा जाने पक्षमा छैनन् । कोइरालाको प्राथमिकता सरकारमा जाने नभएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराए ।

‘सरकारमा जाने, मन्त्री बन्ने उहाँको प्राथमिकता होइन । संगठन उहाँको प्राथमिकता हो’, थपलियाले भने,‘कांग्रेसबाट नेतृत्व गरेर उहाँ सरकारमा जाने कुनै सम्भावना छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?