+
+

८ लाख सुपारी दिएर काका हत्याको आरोपमा भतिज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १९:०३

१९ असार, काठमाडौं । पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वाका ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार, भिष्वाकै ३३ वर्षीय लक्ष्मणकुमार पण्डित प्रजापति र पर्साको जगरनाथपुर गाउँपालिका–५ का धर्मपुरका ४५ वर्षीय महादेव महतो छन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी पर्सा प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

२९ जेठमा पर्साको जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारको नेपाल भारत सीमा दशगजाभन्दा ८० मिटर नेपालतर्फ दुई वटा शव भेटिएका थिए ।

शवको अफिसर, फरेन्सिक डाक्टर, तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थलमै गएर अनुसन्धान सुरु गरिएको थियो । शव उत्खनन् गरेर निकाल्दा कालो झोला फेला परेको थियो । झोलाभित्र झाँक्रीले पूजा गर्ने सामाग्रीहरु समेत फेला परेका थिए । पूजा सामाग्रीलाई महत्वपूर्ण क्लू मानेर अनुसन्धान अघि बढाएको प्रहरीले शवको पहिचान गर्न सफल भएको थियो ।

मृत फेला परेकाहरू बाराको कलैया उपमहानगरपालिका–५ का ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र उनकै साथी आदर्शकोतवाल गाउँपालिका घर भइ कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर भएको खुलेको थियो ।

मृतकको सनाखत भएपछि थप अनुसन्धान अघि बढाउने क्रममा पारिवारिक रिसइबीका कारण हत्या भएको खुलेको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

आठ लाख सुपारी

मृतक रामएकवाल र उनका दाजुबीच अंशसम्बन्धी विवाद चलेको थियो । सोही क्रममा करिब १० महिनाअघि मात्रै रामएकवालका दाजु तथा लक्ष्मणका बाबुको मृत्यु भयो । त्यसको केही समयपछि लक्ष्मणकी साढे २ वर्षकी बहिनीको पनि मृत्यु भयो । घरमा गाईभैंसी समेत मरे ।

अंश विवाद भइरहेको र सोही समयमा बाबु, बहिनी र गाईभैंसीसमेत मरेपछि लक्ष्मणले काकालाई दोष दिएका थिए । लक्ष्मणका काका रामएकवाल मेडिकल सञ्चालन गर्दै आएका थिए । उनीसँग निकट रहेका सुरेश भने झारफुकको काम गर्थे । कसैले बोलाएमा उनीहरू दुवैजना भएर झारफुकदेखि मेडिकल औषधिसमेत दिने गर्थे ।

आफ्नो घरमा भएको क्षतिको दोष काका रामएकवाल र झाँक्री भनिने सुरेशलाई लक्ष्मणले लगाउने गरेका थिए । यही विषयमा विवाद भएपछि काका र झाँक्री दुवैको हत्या गर्ने योजना बनाएर भतिज लक्ष्मणले ८ लाख सुपारी दिएको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।

त्यसका लागि चार महिनाअघि मात्रै लक्ष्मणले आफ्ना भिनाजु सन्तोष पण्डितलाई ८ लाख रुपैयाँ दिएका थिए । ८ लाख लिएपछि सन्तोषले नै मान्छे खोजेर रामएकवाल र सुरेशको हत्या गरेको खुलेको पाइएको छ ।

झारफुक गर्न बोलाएर हत्या

हत्याको योजना बनाइसकेपछि २५ जेठमा दुवै जनालाई झारफुक गर्न भन्दै बाराबाट पर्सा बोलाइएको थियो । कलैयाको भरतचोकस्थित सीसीटीभी फुटेजमा उनीहरू साँझ ६ बजे दुई जना बस चढेर वीरगञ्जतर्फ गएको देखिएको थियो ।

गाडीबाट झरेपछि उनीहरूलाई एक जना मानिसले मोटरसाइकलमा चढाएर बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुर्‍याएका थिए । त्यहाँबाट नरहको बाटो हुँदै जगरनाथपुर गाउँपालिकाको बिसुनपुर्वा ओरिया खोला किनारमा पुर्‍याएर हत्या गरको खुलेको एसपी ढुंगेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?