+

पुतलीको कीर्तिमानी उडान, युरोपबाट उडेर दक्षिण अमेरिका

२०८१ असार  २० गते ६:३१ २०८१ असार २० गते ६:३१
पुतलीको कीर्तिमानी उडान, युरोपबाट उडेर दक्षिण अमेरिका

रंगीचंगी पुतलीहरू उडेको देखेर जोकोहीको मन उमंगले भरिन्छ । तर, तिनै पुतलीहरू  सानदार प्रवासीहरू हुन् र हजारौं किलोमिटर टाढासम्मको यात्रा गर्दछन् भन्ने सायद तपाईंलाई थाहा नहुन सक्दछ।

वैज्ञानिकहरूले हालै यसको पुष्टि गरेका छन् । जसअनुसार पुतलीहरूको एक समूहले नरोकिइकन आन्ध्र महासागरमा ४२ सय किलोमिटरभन्दा लामो उडान भरेका छन्।

यो खोजसँगै एक दशकभन्दा लामो समयदेखि चलिआएको रहस्यको पर्दा उघ्रिएको छ ।

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अध्ययनमा शोधकर्ताहरुले पेन्टेड लेडी प्रजातिको पुतलीको उक्त लामो यात्राका बारेमा जानकारी गराएका छन्।

किटविज्ञ तथा शोधका प्रमुख लेखक डाक्टर जेरार्ड टेलेवेराले दक्षिण अमेरिकाको फ्रेन्च गुयनास्थित एक समुद्री तटमा करिब १० वटा उक्त प्रजातिका पुतली देखेका थिए ।

सामान्यतया दक्षिण अमेरिकामा नपाइने उक्त प्रजातिका पुतलीहरू त्यहाँ देखेपछि टेलेवेरा अचम्मित भए ।

बार्सिलोनास्थित बोटानिकल इन्स्टिच्यूटको स्पेनिस नेसनल रिसर्च काउन्सिलका वरिष्ठ शोधकर्ता टेलवेरा भन्छन् – पुतलीहरूलाई देख्दा यस्तो लागिरहेको थियो कि उनीहरू थकित छन् । ती पुतलीहरू उड्न पनि सकिरहेका थिएनन् । उनीहरू उड्नुको साटो उफ्रिन्थे । त्यो देख्दा मलाई लाग्यो कि ती लामो दूरीका प्रवासी हुन् । तर, पुतलीहरूले एउटा पूरै महासागर एकैपटकमा पार गरेको विषयमा कहिल्यै पनि सुनिएको थिएन।

त्यसपछि टेलेवेरा र उनका सहयोगीहरूले ती पुतलीहरूको अध्ययन गरे र त्यसबाट ती पुतलीहरूले हालसम्म असम्भव मानिएको काम फत्ते गरेको प्रमाणित भयो ।

पुतलीले कसरी उडान भर्छन् ?

सन् २०१६ मा टेलवेरालगायतले गरेको अध्ययनमा पेन्टेड लेडिज पुतलीहरू युरोपबाट उडेर करिब चार हजार किलोमिटर दूरी पार गर्दै सब सहारा अफ्रिकामा गएर बस्ने गरेको पाइएको थियो । त्यसक्रममा ती पुतलीहरूले भूमध्यसागर र सहारा मरुभूमि पनि पार गर्नु पर्दछ । तर, त्यो लामो उडानका क्रममा ती पुतलीहरू बीच बाटोमा प्रायः जमिनमा बसिरहेका हुन्छन् । त्यहाँ उनीहरू खासगरी खाना र आरामका लागि रोकिन्छन् ।

नयाँ अध्ययनले भने यो पुतलीले ५ देखि ८ दिनसम्म लगातार उडेर आन्ध्र महासागर पार गरेको देखाएको छ । अर्थात् उनीहरूले नरोकिइकन अधिकतम ७८० किलोमिटरभन्दा धेरै उडान भर्न सक्दछन् । तर, अनुकूल हावाको स्थितिमा त्योभन्दा धेरै लामो यात्रा पूरा गर्न सम्भव भयो ।

शेधकर्ताहरुका अनुसार पुतलीहरूले सम्भवतः भूमध्यरेखाको नजिक पूर्वबाट पश्चिमतर्फ बहने हावाको सहारा लिएर उड्छन् र त्यसरी उनीहरु दक्षिण अमेरिकाको जमिनमा पुग्दछन् ।

पुतलीहरूले साँच्चीकै उडेर समुद्र पार गरे नगरेको विषय यकिन गर्नका लागि शोधकर्ताहरुले ती पुतलीहरूको डिएनए विश्लेषण गरे । त्यसक्रममा ती पुतलीका डिएनएहरू युरोपेली अफ्रिकी पुतलीका डिएनएसँग मेल खाए ।

साथै शोधकर्ताहरुले आइसोटोप ट्रेसिङ नामक प्रविधिको प्रयोग गरे । त्यसक्रममा पुतलीहरूको प्वाँखको संरचनाको अध्ययनबाट उनीहरूले कस्तो खालका वनस्पतीका पातहरु खाएका हुन् भन्ने पत्ता लाग्यो । त्यसबाट ती पुलतीहरुको जन्मस्थान पश्चिमी युरोप, उत्तरी अमेरिका वा पश्चिमी अफ्रिकामध्ये कुनै एक ठाउँमा रहेको निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् ।

पुतली विश्वकिर्तिमान
लेखक
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय